३१ आश्विन २०७८, आईतवार

सेनाका हुद्दाको हत्या आरोपमा उनकै गणका सिपाही पक्राउ



९ साउन, चितवन । नेपाली सेनाको आफ्नै गणका हुद्दा भरत गुरुङलाई गोली हानेर हत्या आरोपमा ‘दि फेमस महिन्द्र दल गण’का सिपाही गंगाधर ढकाललाई चितवन प्रहरीले पक्राउ गरेको छ । यो गण हाल शिवपुरी राष्ट्रिय निकुञ्जमा तैनाथ छ ।

चितवन प्रहरीले आरोपित गंगाधर ढकालबाट एसएमजी हतियारसहित मोटरसाइकल बरामद गरेको छ ।

बिहीबार बिहान भरतपुर महानगरपालिका–१७ सिमलडाँडामा खेत नजिक धादिङ निलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय भरतको शव फेला परेको थियो ।

टाउकोमा गोली लागेको जस्तो घाउ देखिन्थ्यो । आडैमा एउटा खोका पनि थियो । ‘त्यसैले हामीले हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढायौं । त्यसमा संलग्न भएको देखिने एकजना व्यक्ति गंगाधर ढकाललाई बिहीबार नै हामीले समायौं,’ घटनाका बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए । प्रहरीले एसएमजी हतियारसमेत बरामद गरेको छ ।

ढकालको घर भरतपुर महानगरपालिका–२१ मा छ । प्रहरीले उनलाई भरतपुर–२० चनौलीबाट पक्रेको हो । ढकाल पक्राउ परेपछि उनको बयानको आधारमा भरतपुर–८ बिसहजारी ताल जाने गेट आडको जंगलको झाडीबाट एसएमजी हतियार बरामद भएको थियो । ढकालले बैंकबाट गुरुङको नौ लाख रुपैयाँ झिकेर श्रीमती र बुबालाई बुझाएको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी अधिकारीले बताए ।

गुरुङको चेकमा आफैले सही दस्तखत गरेर ढकालले बैंकबाट पैसा निकाल्ने गरेको एसपी अधिकारीले जानकारी गराए । गुरुङको बैंकको खाली चेक बोकेर ढकाल साउन २ गते नै चितवन आएका थिए । भोलिपल्ट चेकमा भरत गुरुङको सही आफैले गरेर ढकालले बैंकबाट नौ लाख रुपैयाँ निकालेको खुलेको छ । त्योमध्ये एक लाख रुपैयाँ आफैले राखेको, आठ लाख रुपैयाँ परिवारलाई दिएको एसपी अधिकारीले बताए ।

साउन ५ गते गुरुङले ढकाललाई फोन गरेर आफू जग्गा पास गर्न चितवन आउन लागेको जानकारी गराएका थिए । त्यसपछि गुरुङलाई लिन ढकाल नै मोटरसाइकल लिएर काठमाडौं गए । ५ गते नै उनीहरु चितवन आएर होटलमा बसेको एसपी अधिकारीले जानकारी दिए । भरत गुरुङ भोलिपल्ट मात्रै भरतपुर–१९ शारदानगर टाउनमा रहेको आफन्तको घर गए । ढकालले आफन्तको घरबाट ६ गते साँझ गुरुङलाई खाजा खान भनेर बोलाए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको