२९ आश्विन २०७८, शुक्रबार

सरकार ! रोगबाट मात्र होइन भोकबाट बच्ने प्याकेज पनि ल्याउनु पर्यो : गायक स्वरूपराज



१८ भाद्र, काठमाडौं । महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरस नेपालमा फैलिएसँगै काठमाडौं उपत्यका देशको केन्द्र मात्र होइन भाइरस सङ्क्रमणको केन्द्र बन्ने लगभग पक्कापक्की भएको छ ।

बिहिबार मुलुकभर १२ सय २८ जनामा कोरोना पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्रै ४ सय ४५ जना सङ्क्रमित थपिएका छन् । गत भाद्र ४ गतेदेखि १ साताका लागि जारी गरिएको निषेधाज्ञा तेस्रो पटक थप गरिएको छ ।

करिब ४ महिना लकडाउनले घरमै बन्दक बनेका जनता सामान्य जनजीवनमा फर्किन नपाउदै फेरी निषेधाज्ञाको पालना गरिरहेकै छन् । बैंक खातामा या घरमा अलिअलि पैसा हुनेहरू त ५–७ महिनै निषेधाज्ञा भएपनि जसातसो बिहान बेलुकीको छाक टारी हाल्छन् । तर मजदुरी गरेर, दिनभरी चुहाएको पसिनाको मूल्यले बिहान बेलुकी हातमुख जोर्ने जुन वर्ग छ, उनिहरूको चुलो त त्यतिखेरै निभेको हो जब चैत ११ गते देखि देशमा लकडाउन भयो । भनेपछि त्यो हुँदा खाने वर्ग ले अहिले नहुँदा के खाइरहेको छ ? भन्नेबारे सरकार अझै बेखबर छ ।

यसै सन्दर्भमा चर्चित गायक तथा संगीतकार स्वरूपराज आचार्यले सामाजिक सञ्जाल फेसेबुकमा मनछुने स्टाटस लेखेका छन् । गृह मन्त्रालय र उपत्यकाका तिनवटै जिल्लाका सिडियोलाई इङ्गित गरेर उनले भनेका छन्, ‘बन्द कोठामा बसेर, भर्चुअल मिटिङ गरेर लकडाउन, सटडाउन वा निषेधाज्ञा जे भनौं हाम्रै सुरक्षाको लागि होला । रोगबाट बचाउने उपाय होला यो । तर हुँदा खानेहरू वा अधिकांश नेपालीहरू रोगबाट भन्दा नि भोकबाट मर्लान् भन्ने पो भो त ।’ रोगबाट बचाउने भनेर काम गरी खाने वर्गलाई बन्धक बनाउने मात्रै होइन उनीहरुको पेट भोको नहुने अवस्थाको सिर्जना गर्न स्वरूपराजले सरकारलाई अनुरोध गरेका छन् ।

पश्चिमा विकसीत देशहरू त विगतदेखि नै नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्ने सन्दर्भमा हदैसम्म जिम्मेवार छन् । तर छिमेकी राष्ट्रले पनि लकडाउनका बेला जनतालाई घर–घरमा दुइ छाक खानाको व्यवस्था गरेको उल्लेख गर्दै स्वरूपराजले जनताबाट उठाएको कर जनतालाई पिर पर्दा ढिलो नगरी सदूपयोग गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

सम्पूर्ण नेपालीहरूको प्रतिनीधिमूलक आवाज सरकार समक्ष नपुगेको हो कि पुगेर पनि सरकारले बेवास्ता गरेको हो भन्दै उनले प्रश्न समेत गरेका छन् । समग्रतामा स्वरूपराजको स्टाटसको भाव यो बुझिन्छ कि सरकारका नेतृत्वकर्ताहरू जनताका समस्याप्रति जिम्मेवार भएनन् । जनताले तिरेको करको सहि सदुपयोग हुनुपर्छ, राज्य जनताप्रति जिम्मेवार हुनुपर्छ ।

फेसबुक स्टाटस :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको