६ आश्विन २०७८, बुधबार

एक प्रहरी घुस खाएको रकमबाट घरमा सुनको शौचालय बनाए




एजेन्सी । रुसमा भ्रष्टाचार गरेको आरोपमा प्रहरीहरूको एउटा समूहलाई अनुसन्धानकर्ताहरूले पक्राउ गरेका छन् । त्यसका लागि उनीहरूले धेरै ठाउँमा छापा मारेका थिए । तीमध्ये एउटा भव्य महलमा सुनको जलप लगाइएको शौचालय तथा अन्य विलासी सामग्रीहरू फेला परेका थिए ।

जाँच समिति एसकेको वेबसाइटमा राखिएको भिडिओमा उक्त भवनभित्र अत्यधिक खर्च गरेर सजावट गरेको देखिन्छ ।

पक्राउ पर्नेमा स्ट्राभ्रोपल क्षेत्रका ट्राफिक प्रहरी प्रमुख आलेक्सी साफोनोभ र अन्य छ जना छन् । व्यापार–व्यवसाय गर्ने नक्कली अनुमतिपत्र जारी गरेर ती ट्राफिक प्रहरीले घुस लिएको आरोप लागेको थियो ।

त्यस्तो अनुमतिपत्र प्रयोग गरेका चालकले अनधिकृत रूपमा अन्न र निर्माण सामग्री बोकेका सवारीसाधन बिनाजाँच प्रहरी जाँचचौकीहरू वारपार गर्न पाएको बताइएको छ । आरोपितहरूले कुनै प्रतिक्रिया दिएका छैनन् ।

रुसको उत्तर ककससका प्रहरी भ्रष्टाचारविरुद्धको उक्त अभियानमा संलग्न भएका थिए । एसकेले आफूले ८० वटा स्थानमा खानतलासी गरेको बताएको छ । तिनमा ट्राफिक प्रहरीका कार्यालयहरू पनि थिए ।

खानतलासीको क्रममा ठूलो मात्रामा नगद र विलासिताका महँगा सामग्री बरामद भएको बताइएको छ । एसके रुसको अमेरिकाको एफबीआईजस्तै सरकारी निकाय हो ।

उसले स्ट्राभ्रोपलमा सक्रिय उक्त समूहले वर्षौँदेखि घुस लिँदै आएको र त्यो रकम एक करोड ९० लाख बढी रुबल अर्थात् दुई लाख ५५ हजार डलरभन्दा बढी भएको बताएको छ ।

दोषी पाइएमा साफोनोभले १५ वर्षको जेल सजाय पाउन सक्नेछन् । पक्राउ पर्नेमा उनका एक पूर्ववर्ती प्रहरी अधिकृत पनि छन् । क्रेम्लिनसमर्थक यूनाइटेड रसिया पार्टीका एक सांसद आलेक्जान्डर खिन्श्तेनले उक्त क्षेत्रबाट ३५ जनाभन्दा बढी प्रहरी अधिकृतहरू पक्राउ परेको बताएका छन् । उनले प्रहरीहरूको समूहलाई माफिया गिरोहसँग तुलना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको