१६ श्रावण २०७८, शनिबार

पुष्पलालको ४३औं स्मृति दिवस




७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस । नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उनको योगदानको चर्चा गर्दैछन् ।

दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो । २००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए ।

पूर्वी पहाडी रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मिएका पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो ।

उनको अस्तुलाई नेपाल ल्याएर विभिन्न स्थानमा सेलाइएको थियो । पुष्पलालले आफ्नो सम्पूर्ण जीवन अभाव, कठिनाइ र प्रवास बसाइका बीच पनि कम्युनिस्ट आन्दोलनको विकास, नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक विषयमा मिहिन ढङ्गले अध्ययन र विश्लेषणमा खर्चिएको इतिहास छ ।

वि.सं. २०१७ पुस १ गते राजा महेन्द्रद्वारा निरङ्कुश पञ्चायती व्यवस्था लादिएपछि गुमेको जनअधिकार प्राप्तिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नै निरङ्कुशतालाई परास्त गर्न सकिन्छ भन्ने संयुक्त जनआन्दोलनको अवधारणा अगाडि सार्ने दूरद्रष्टा नेता पनि हुन् पुष्पलाल । जसको मार्गदर्शनबाट नै मुलुकले ठूलाठूला राजनीतिक परिवर्तन हासिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु