५ कार्तिक २०७८, शुक्रबार

ईदको शुभकामना दिँदै प्रचण्डले भनेः ‘जनताको तागतका अगाडि प्रतिगामीहरू परास्त भए’



६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको तागतका अगाडि प्रतिगामी तत्वहरू परास्त भएको बताएका छन् ।

मुस्लिम धर्मावलम्बीको चाड बकर इदको शुभकामना दिँदै प्रचण्डले समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीबाट हमला गर्ने काम भएको बताएका हुन् । उनले भनेका छन्, ‘समुदायले हासिल गरेका हक अधिकारहरूको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए ।’

उनले आजको दिन अर्थात् बकर इदलाई समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गरेका छन् । उनले जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरूप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आव्हान समेत गरेका छन् ।

जनताको एकताको बलमा राजनीतिक र सामाजिक परिवर्तनहरू भएको स्मरण गर्दै प्रचण्डले भनेका छन्, ‘वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हो । नेपालीहरुको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको हो । नेपाली समाजको यही विशेषता र एकताको बलमा नेपालमा ठूलाठूला राजनैतिक र सामाजिक परिवर्तनहरु भए ।’

बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेकाहरूमा शुभकामना व्यक्त गर्दै प्रचण्डले भनेका छन्, ‘यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएको छु ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको