१६ श्रावण २०७८, शनिबार

वैज्ञानिक शिक्षा भनेको के हो ?


मोदनाथ प्रश्रित
५ श्रावण २०७८, मंगलवार

वैज्ञानिक शिक्षा भन्नाले सूत्रबद्ध रूपमा निम्न लिखित कुराहरु बुझ्नु पर्छ–

विज्ञानका विभिन्न शाखाहरूको सैद्धान्तिक रूपमा अध्ययन गराउने, अध्ययन गरिएका विषयलाई देश, काल र परिस्थितिको आवश्यकता अनुसार व्यवहारमा लागू गर्न सिकाउने, आफू बसेको देशका प्राकृतिक स्रोत साधनहरू के कस्ता छन् र कुन रूपमा रहेका छन्, तिनलाई मानव जीवन उपयोगी र व्यवसायी दृष्टिले कसरी विकास गर्न सकिन्छ भनी व्यावहारिक रूपमा खोज्ने, चिनाउने र प्रयोगमा उतार्न सिकाउने, मानिसको चेतना, व्यवहार र समग्र जीवन पद्धतिलाई हरेक दृष्टिले विज्ञान सम्मत बनाउन सघाउने शिक्षा वैज्ञानिक शिक्षा हो ।

१. विज्ञानका विभिन्न शाखाहरूको सैद्धान्तिक रूपमा अध्ययन गराउने शिक्षा ।
२. अध्ययन गरिएका विषयलाई देश, काल र परिस्थितिको आवश्यकता अनुसार व्यवहारमा लागू गर्न सिकाउने शिक्षा ।
३. आफू बसेको देशका प्राकृतिक स्रोत साधनहरू के कस्ता छन् र कुन रूपमा रहेका छन्, तिनलाई मानव जीवन उपयोगी र व्यवसायी दृष्टिले कसरी विकास गर्न सकिन्छ भनी व्यावहारिक रूपमा खोज्ने, चिनाउने र प्रयोगमा उतार्न सिकाउने शिक्षा ।
४. मानिसको चेतना, व्यवहार र समग्र जीवन पद्धतिलाई हरेक दृष्टिले विज्ञान सम्मत बनाउन सघाउने शिक्षा ।
५. मानव जीवनको महत्व र यसको असिम क्षमता र सम्भावनाको गहन ज्ञान प्रदान गराई आ–आफ्नो ज्ञान र रूचिका क्षेत्रमा पूर्ण तत्परता साथ क्रियाशील बनाउन प्रेरित गर्ने शिक्षा ।
६. आफ्नो देश र अरु देशको, अविकसित र विकसित देशहरुको फरक–फरक संस्कृति, परम्परा, चिन्तन र व्यवहारको अन्तर बुझ्न तदनुरूप व्यवहार गर्न समर्थ बनाउने शिक्षा ।
७. आफ्नो देशका जनताको शिक्षा र चेतनाको स्तर कस्तो छ ? निरक्षरता, साक्षरता, सामान्य शिक्षा र उच्च शिक्षाको अवस्था कस्तो छ ? जनताले हासिल गरेको शिक्षा जीवन र समाजका लागि कत्तिको उपयोगी छ भन्ने कुराको विवेचना गरी त्यसमा आवश्यक सुधार र विकास गर्न सघाउने शिक्षा ।
८. आफ्नो देश, छिमेकी देश र विश्वका अरु देशले पर्याप्त अध्ययन, प्रयोग र विकास गरिसकेका क्षेत्र कुन–कुन हुन् ? र बाँकी क्षेत्र कुन–कुन हुन् भनेर छुट्याई बाँकी क्षेत्रको विकासमा सहयोग पुर्याउने शिक्षा ।

लिच्छवी कालदेखि राजधानीको मध्य कालसम्मको इतिहास हेर्दा र त्यस बेलाका शिलालेख, अभिलेख र विभिन्न विषयका ग्रन्थहरुको अध्ययन गर्दा योग र आयुर्वेद, बस्तुकला, नाट्यशास्त्र, राजनीतिशास्त्र आदिको अध्ययन अध्यापन प्रणाली सीमित क्षेत्रमै भए पनि राम्रै स्थितिमा रहेको देखिन्छ, तर बारम्बारका राजनीतिक या युद्ध सम्बन्धी उथलपुथलले मध्ययुगभन्दा यता बाइसे चौबिसे आदि राज्य रजौटा बनेको स्थितिमा शिक्षा क्षेत्रमा ह्रास आएको देखिन्छ ।

उपयुक्त सूत्रहरूका आधारमा वर्तमान नेपालको वस्तुगत अवस्था र शिक्षा क्षेत्रको अहिलेसम्मको अवस्थामाथि ध्यान दिँदा हामीले वैज्ञानिक शिक्षालाई कुन रूपमा कसरी अगि बढाउनु आवश्यक हुन्छ ? नेपालको प्राचीन र मध्यकालीन इतिहासमा कुनै विश्वविद्यालय या महाविद्यालय सञ्चालन भएको पाइँदैन । नेपालको इतिहास राजनीतिक रूपमा लिच्छवी कालभन्दा उता त्यति स्पष्ट छैन । तर साँस्कृतिक रूपमा वुद्ध, कवीर, वाल्मीकि, याज्ञवक्ल्य, गार्गी, गौतम, जनक आदिका विशेषताहरू बारे पढ्दा उनीहरुको ज्ञान, चेतना र ख्यातिलाई ध्यानमा राख्दा प्राचीन कालमा शिक्षाको स्थिति कमजोर भए जस्तो देखिदैन । लिच्छवी कालदेखि राजधानीको मध्य कालसम्मको इतिहास हेर्दा र त्यस बेलाका शिलालेख, अभिलेख र विभिन्न विषयका ग्रन्थहरुको अध्ययन गर्दा योग र आयुर्वेद, बस्तुकला, नाट्यशास्त्र, राजनीतिशास्त्र आदिको अध्ययन अध्यापन प्रणाली सीमित क्षेत्रमै भए पनि राम्रै स्थितिमा रहेको देखिन्छ, तर बारम्बारका राजनीतिक या युद्ध सम्बन्धी उथलपुथलले मध्ययुगभन्दा यता बाइसे चौबिसे आदि राज्य रजौटा बनेको स्थितिमा शिक्षा क्षेत्रमा ह्रास आएको देखिन्छ ।

वि.सं. १९३२ देखि संस्थागत रूपमा संस्कृत शिक्षा र वि.सं. १९७३ मा त्रि–चन्द्र कलेजको स्थापनादेखि आधुनिक शिक्षामा प्रवेश गरेको देखिन्छ । वि.सं. २०१८ देखि बल्ल नेपालमा आधुनिक विश्वविद्यालय देखा प¥यो । त्यसले विज्ञानको कितावी अध्ययनको प्रणाली चलाए पनि प्रयोगको प्रणालीमा उल्लेख्य प्रगति गर्न सकेको छ्रैन । अहिले विज्ञानका विविध विधा पढाउने विद्यालय क्याम्पसहरू धमाधम खुल्दैछन् । तिनीहरुको पाठ्य विषयका रूपमा विज्ञानका विविध विषयको पढाइ चलाए पनि व्यावहारिक रूपमा नेपाली जनताले नेपालमै विज्ञान र प्रविधिका विविध क्षेत्रमा ब्यापक रूपले अध्ययन र प्रयोग गरी नेपालको सर्वतोमुखी विकास गर्न सक्ने वातावरण बन्न सकेको छैन् ।

स्वास्थ्य क्षेत्रमा उच्च स्तरको पढाइका निम्ति धेरै कलेजहरू खुलेका छन्, तर शिक्षा ज्यादै महँगो भएकाले त्यहाँबाट उत्पादित जनशक्ति जिल्ला–जिल्लामा जानुको साटो सहर केन्द्रित हुने या विदेश पलायन हुने स्थिति देखिएको छ । प्राविधिक शिक्षामा शिक्षित जनशक्तिको विकास क्रमशः देखिदैछ, तर देशका सम्पूर्ण प्राकृतिक स्रोत साधन प्रयोग गरी राष्ट्रको विकास प्रकृया तीव्र गतिमा अगि बढाउने वातावरण बनेको छैन ।

यस्तो स्थितिमा नेपाललाई आधुनिक विश्वको गतिलाई भेट्ने गरी अगि बढाउन वैज्ञानिक शिक्षा निम्न लिखित रूपले आवश्यक छ ।

नेपालमा शैक्षिक विकासको इतिहास छोटो रहेको छ र राजनीतिक नेतृत्वमा विज्ञान, प्रविधि, योजना, अर्थशास्त्र र व्यवस्थापकीय आदि योग्यताको कमी या न्यूनता रहँदै आउनु पनि देश पछाडि पर्नुको प्रमुख कारण हो । नेपालमा अहिलेसम्म पनि मन्त्रालयहरुले आ–आफ्नो कार्यक्षेत्रमा दक्षता भएका मन्त्री र सचिवहरु प्रायः पाउन सकेका छैनन् । राजनीतिक दलहरुले आ–आफ्नो नेतृत्वमा यस्ता विशेषज्ञहरु समावेश गर्ने या स्वयम् नेता कार्यकर्ताहरुलाई उक्त विषयमा प्रशिक्षित, दक्ष बनाएर पठाउने कुनै योजना बनाएकै छैनन् ।

१. सिङ्गो दक्षिण एशियासहित हाम्रो नेपालमा मानव जातिलाई जीवनका पेशा र व्यवसायको आधारमा जातपात छुवाछूतको अत्यन्त विभेदकारी, अत्याचारपूर्ण व्यवस्थामा बाँधिएर जीवन चलाउनु पर्ने वाध्यकारी समाज व्यवस्था छ । लोकतान्त्रिक जागरणको कारणले कानुनी रूपमा त्यसलाई समाप्त गर्ने घोषणा पनि गरिएको छ, तर व्यवहारमा त्यो पुरानो संस्कार र परम्परा अहिले पनि बलियो रूपमा जीवित छ । यो स्थिति सामन्ती शासक वर्गको चरम अवैधानिक र स्वार्थी उद्देश्यबाट प्रचलित भएकाले यसको पूर्ण समाप्तिको संस्कार फैलाउने सशक्त शिक्षा र त्यसको प्रभावको अनुगमन गर्ने दरिलो व्यवस्था गर्नु आवश्यक छ ।
२. दास प्रथा र सामन्ती व्यवस्थाले महिलालाई अशिक्षित र सम्पत्तिमा अधिकार विहीन पारी दासी सरह कज्याउने, मनपरी सौता हाल्ने, मानवीय अधिकारको माग गर्दा कुटपिट गर्ने अनेक लाञ्छना लगाई घरबाट लखेट्ने आदि जस्ता जघन्य अपराध हुँदै आएका छन् । महिलालाई पुरूषले जसरी पनि दबाएर तह लगाउनु पर्छ भन्ने आम धारणा र संस्कार रहँदै आएको छ । लोकतान्त्रिक जाागरण, माक्र्सवादी चेतना, महिला आन्दोलन र कानुनी सुधारका कारणले शिक्षित समुदायमा महिलाको स्थितिमा केही सुधार आएको छ, तर सिङ्गो देशका अशिक्षित जनता र धनाढ्य परिवारहरूमा महिलाहरू दोस्रो दर्जाका नागरिक सरह अनेक अन्याय, अत्याचार र भेदभावको स्थितिमै रहेका छन् । सम्पत्तिमा समानता र नारी मर्यादाको शिक्षा र चेतना विकास र विस्तार अभियानका साथै जीवनका हरेक क्षेत्रमा नारी र पुरुषको पूर्ण समानताको संस्कार विकसित गर्नु आवश्यक छ ।
३. तान्त्रिक टुनामुना गर्ने पुरुष, धामी, झाँक्री उपचारको रूपमा सम्मानित र लाभान्वित हुने, तर त्यस्तै टुनामुना गर्ने भनिएका महिलाहरु बोक्सी, डाइनी आदि रूपमा अत्यन्तै अपमानित, दण्डित र हत्यासम्म हुने जघन्य कुसंस्कारको अन्त्यका निम्ति सबै खाले अन्धविश्वासको पूर्ण उन्मूलन गर्ने शिक्षाद्वारा साँस्कृतिक चेतना विकास अभियान चलाउनु पर्छ । यस अभियानलाई लामै समयसम्म शिक्षाको अभिन्न अङ्गका रूपमा सञ्चालित गरिनु पर्छ ।
४. नेपाल हिन्दू वर्ण व्यवस्था अन्तर्गत उपयुक्त जातपात र छुवाछूतको संक्रमक रोगद्वारा हजारौं वर्षदेखि भयङ्कर रूपले पीडित हुँदै आएको छ । अर्कोतिर अनेक मूलका जाति जनजाति र तिनका शाखा प्रशाखाहरु र वर्ण व्यवस्थाका समर्थकहरुबीच मानवीय मर्यादामा असमानता र साँस्कृतिक भेदभावको स्थिति रहँदै आएको छ । आफ्नै परम्परागत साँस्कृतिक कारण र वर्णवादी उपेक्षाको कारणले जनजातीय समाज पनि शिक्षाको क्षेत्रमा पर्याप्त रूपमा अगि बढ्न सकेको छैन् । शिक्षा क्षेत्रले यो समस्या समाधान हुने गरी सबै नेपालीलाई विज्ञानमुखी शिक्षाको दिशामा अगि बढाउने ब्यापक अभियान चलाउनु पर्छ ।
५. नेपाल परम्परादेखि अहिलेसम्म सहर र गाउँ, सुगम र दुर्गम जस्ता प्रश्नमा ठूलो पक्षपातको सिकार हुँदै आएको छ । सहरमा सबै खाले सुविधा र अवसर थुप्रिनै, सुगम गाउँ–जिल्लाहरुमा आंशिक सुविधा र अवसर पुग्ने तर दुर्गम जिल्ला र ठाउँहरु धेरै कुराबाट बञ्चित रहने स्थिति अहिले पनि यथावत छ । राजधानीका सडकमा गाडी धेरै भएर सडक जाम हुने दुर्गम जिल्ला र गाउँहरूले मोटर बाटो र गाडीको मुखै नदेख्ने, अन्न, नुन र औषधी किनेर खान पनि नपाउने आदि जस्तो बताइ नसक्नु असमानता छ । सहरमा मेडिकल कलेज र अस्पताल खोल्ने तीव्र होड छ, तर दुर्गम ठाउँका जनता सिटामोल पनि पाउँदैनन्, र त्यहाँ गएर चिकित्सकहरु बस्न पनि रुचाउँदैनन् । यस्तो भद्रगोल भएको देशमा विज्ञानका विविध विषय पढेका विद्वानहरु गाउँतिर जान र टिक्न नचाहनुको कारण हो । तिनीहरुमा वास्तविक देशप्रेम र मानवीय भावनाको अभावले ती दुर्गम ठाउँहरूलाई सबै कुरामा सुगम तुल्याउने राष्ट्रिय चेतना र मानवीय संस्कारको विकास नै नेपालको समग्र विकासको पूर्वाधार हो ।
६. नेपाल हिमाल, पहाड र तराइसहितको भूमि भएको र कर्कटरेखा निकट समशीतोष्ण प्रदेशमा रहेको, जलस्रोत पर्याप्त भएकोले जैविक र पर्यावरणीय विविधतामा विश्वकै सर्वश्रेष्ठ भूमि रहेको छ । यहाँ नभएका धेरै थरी वनस्पति र प्राणी पनि यहाँ ल्याइएमा मौलाउन सक्छन् । यस्तो समृद्ध भूमि एक्काइसौं शताब्दीमा पनि यसरी पछाडि पर्नु नेतृत्वमा वैज्ञानिक शिक्षाको कमी, अदूरदर्शिता, जनताप्रति समान दायित्व भावनाको अभाव र विकासको सही योजना निर्माण र लागू नहुनु आदि प्रमुख कारण हुन् ।
७. नेपालमा शैक्षिक विकासको इतिहास छोटो रहेको छ र राजनीतिक नेतृत्वमा विज्ञान, प्रविधि, योजना, अर्थशास्त्र र व्यवस्थापकीय आदि योग्यताको कमी या न्यूनता रहँदै आउनु पनि देश पछाडि पर्नुको प्रमुख कारण हो । नेपालमा अहिलेसम्म पनि मन्त्रालयहरुले आ–आफ्नो कार्यक्षेत्रमा दक्षता भएका मन्त्री र सचिवहरु प्रायः पाउन सकेका छैनन् । राजनीतिक दलहरुले आ–आफ्नो नेतृत्वमा यस्ता विशेषज्ञहरु समावेश गर्ने या स्वयम् नेता कार्यकर्ताहरुलाई उक्त विषयमा प्रशिक्षित, दक्ष बनाएर पठाउने कुनै योजना बनाएकै छैनन् । सम्बन्धित विषयको योग्यता नभएका नेताहरु आफूले मन्त्रालय चुन्दा त्यहाँ
पुगेर मन्त्रालय अनुरूपको विकास बढाउने ध्येयले भन्दा आफूले बढी कमाउने दाउले तछाडमछाड गरेको देखिन्छ । यस्तै कारणले हाम्रो देशमा २००७ देखि अहिलेसम्म जे जस्ता सरकार बने पनि तिनले पुरानो सामन्ती नेतृत्व र त्यसले फैलाएको सामन्ती संस्कारलाई चिरेर नयाँ निर्माणको व्यापक अभियान चलाउन सकेका छैनन् ।
८. हाम्रो राजनीतिक नेतृत्व पंक्तिले समग्र रूपमा देशको इतिहास, यहाँको वर्णवादी जटिलताले निर्माण गरेको व्यापक अन्धविश्वास, देशमा रहेका विशाल प्राकृतिक स्रोत साधन, तिनको सही प्रयोगबाट देशलाई ज्यादै उन्नत स्तरमा लैजाने सम्भावना आदि कुरालाई गम्भिर रूपले चिन्ने प्रयत्न नै गरेको छ्रैन । जो–जो नेता केही शिक्षित र देशबारे जानकार
छन् तिनीहरु पनि सुदृढ रूपले योजना सहित अगि बढ्नुको सट्टा ‘यो सतिले सरापेको देश’ भन्ने जस्तो अन्धधारणामा मुछिएर या त स्वार्थको ढावमा डुब्छन् या निराश भएर फर्कन्छन् ।
९. यी सबै कुराको व्यापक समाधानका लागि नेपालले आफ्नो देशकाल परिस्थिति सुहाउँदो वैज्ञानिक शिक्षालाई व्यापक योजनासहित अगि बढाएर विकास निर्माणका सम्पूर्ण क्षेत्रहरुलाई पूर्ण वैज्ञानिक योजना सहित अगि बढाउनु आवश्यक छ । यही हो नेपालमा वैज्ञानिक शिक्षाको उद्देश्य र प्रयोजन ।

प्रश्रित पूर्व शिक्षा मन्त्री तथा पूर्विय दर्शनका विद्वान हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु