मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक अनन्तराज घिमिरेले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति खाएको खुलासा
५ साउन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक अनन्तराज घिमिरेले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति खाएको खुलासा भएको छ । इन्जिनियरिङ संकायका डीन रहेका घिमिरेले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएका हुन् ।
डीन घिमिरेले अध्ययन बिदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) पदमा राजनीतिक नियुक्ति लिएका हुन् । सो कम्पनीको अध्यक्ष ऊर्जा मन्त्रालयको सचिव हुने व्यवस्था छ ।
सहप्राध्यापक घिमिरेले एकवर्षे अध्ययन बिदा लिएर चारवर्षे अवधि रहने (प्रवन्ध निर्देशक) पदमा नियुक्ति लिएका हुन् । ई. घिमिरे तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीको पालामा नियुक्त भएका हुन् । घिमिरे स्वयंले अध्ययन बिदा स्वीकृत गराएर राजनीतिक नियुक्ति लिएको स्वीकार गरेका छन् ।
घिमिरेले दोहोरो सुविधा उपभोग गरेको देखिएको भन्दै विश्वविद्यालयले ऊर्जा सचिवलाई पत्र लेखेर नियुक्ति सम्बन्धमा आधिकारिक जानकारी गराइदिन भनेको छ ।
कार्यकारी परिषदको २०७७ फागुन २३ गते बसेको बैठकले ऊर्जा मन्त्रालयसँग घिमिरेको नियुक्तिबारे स्पष्ट जानकारी माग्ने निर्णय गरेको थियो । सो निर्णयपछि गत वैशाख १९ गतेको मितिमा विश्वविद्यालयले ऊर्जा मन्त्रालयलाई पत्र लेखेर जानकारी मागेको हो ।