राखेपका पूर्व उपाध्यक्ष टेण्डी शर्पाको अस्पतालको शैंयामै मनाइयो जन्मदिन
४ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका पूर्व महासचिव टेण्डी शेर्पाको जन्मदिन अस्पतालको बेडमै मनाइएको छ । विगत करिव ३ वर्षदेखि नशासम्बन्धी असाध्यै गम्भिर रोगबाट पिडित शेर्पाको जन्मदिन परिवार, आफन्त, अस्पतालका डाक्टर, नर्सहरूका बीचमा मनाइएको हो ।
रोग लाग्नुभन्दा पहिले एकदमै हिस्टपुष्ट शरीर भएका शेर्पा अहिले निकै गलेको र अक्सिजनको सहारा लिइरहेको देखिएता पनि जन्मदिनमा उनको अनुहारमा निकैं चमक देखिन्छ । उनी समसामयिक राजनीतिका विषयमा बेला बेलामा सामाजिक सञ्जालमार्फत् चोटिलो प्रहार गरिरहेका हुन्छन् ।

टेण्डीले सामाजिक सञ्जाल फेसबुकमार्फत् जन्मदिनमा शुभकामना दिने हजारौं शुभचिन्तकहरूप्रति आभार तथा उपचारमा रातदिन खटिने सबै जनाप्रति धन्यवाद व्यक्त गरेका छन् ।
नशासम्बन्धी गम्भिर रोग लाग्नुअघि शेर्पा नेपाली खेलकुद रा राजनीतिमा एकदमै क्रियाशील व्यक्ति हुन् । उनी तत्कालिन एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको संस्थापक महासचिव र टेण्डी नेपाल बास्केटबल संघको अध्यक्ष पनि हुन् । टेण्डी दुई पटक अनेरास्ववियूबाट अमृत साइन्स क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भएका थिए ।
भारत, चीन, थाइल्यान्ड हुँदै अमेरिका पुगेर पनि उपचार सम्भव नभएपछि परिवारको चाहना विपरित उनले आफुलाई स्वदेश पुर्याइदिन आग्रह गरी नेपालमै उपचार गराइरहेका छन् ।