१२ जेष्ठ २०८०, शुक्रबार

दुर्गमको दुःख : सुत्केरी बोक्ने स्ट्रेचर भाँचियो, बर्थिङ सेन्टरमा उपकरण नै छैन




४ साउन, अछाम । शुक्रबार दिउँसो ३ बजे सुत्केरी व्यथाले च्यापेपछि अछामको मेल्लेख गाँउपालिका–३ ठाँटी दर्बाकी सविता बुढा (२४) लाई रनाहा छुटिरहेको थियो। नजिकै स्वास्थ्य संस्था छैन । सडक पुगे पनि वर्षामा गाडी गुड्दैन। बोकेरै दर्बास्थित बर्थिङ सेन्टर पु¥याउन आफन्तले स्टेचर खोजे । त्यो पनि उपलब्ध भएन ।
सविता दोश्रो सन्तान जन्माउने तयारीमा थिइन् । आफन्तले उनलाई कपडाको झोलुङ्गोमा राखेर बर्थिङ सेन्टर पु¥याए । सुत्केरी व्यथा लागेको बेला झोलुङ्गोमा हाल्दा असहज र जोखिम दुवै हुन्छ । आफन्तसँग अन्य उपाय पनि थिएन ।
तर, बर्थिङ सेन्टरमा समेत उनले सेवा पाइनन् । दर्बामा पाँच महिनाअघि मात्र बर्थिङ सेन्टरको सेवा सुरु भएको हो । गाँउपालिकाले अनमी, अहेब र सहयोगी गरेर तीन जना कर्मचारी भर्ना गरेको छ । तर, उनहरुले सुत्केरी गराउन नसकिने भन्दै सवितालाई बगुडा स्वास्थ्य चौकी लैजान सुझाए ।
बगुडा स्वास्थ्य चौकी अरु एक घन्टा टाढा पर्छ । आफन्तले सवितालाई फेरि झोलुङ्गोमा राखेर स्वास्थ्य चौकी पु¥याए । सविताका ससुरा पर्ने कुशल बुढा भन्छन्, ‘एम्बुलेन्स र गाडी त छैन नै, सुत्केरी बोक्न स्टेचर पनि पाइएन। गाउँमै बर्थिङ सेन्टर खुलेपछि खुसी भएका थियौं। त्यसले पनि सेवा दिन सकेन ।’
बर्थिङ सेन्टरमा आवश्यक पर्ने सबै स्वास्थ्य सामग्री, उपकरण र कर्मचारी राखेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहरा बताउँछन् । तर, आफूहरुसँग उपकरण नभएका कारण सुत्केरी गराउन नसक्ने जवाफ बर्थिङ सेन्टरका कर्मचारीले दिएको कुशल बताउँछन ्।
अध्यक्ष बोहोराका अनुसार गाउँपालिकाले यसअघि व्यवस्था गरेको स्ट्रेचर भाँचिएको छ । ‘केही दिनअघि स्ट्रेचर भाँचिएकाले खबर पाएपछि पालिकाले नयाँ किनेर पठाइसकेको छ,’ उनले भन े।
अछामका दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री र उपकरणको अभाव छ । अधिकांशमा दक्ष कामदार पनि छैनन् । जिल्लाका सबै पालिका सडक सञ्जालसँग जोडिएका छन्। प्रायः सबै पालिकामा एम्बुलेन्स छन् । तर, भनेको बेला जनताले सेवा पाउन नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले स्वास्थ्य संस्थाको जिम्मेवारी सम्बन्धित पालिकाको नै भएको बताए । ‘स्वास्थ्य कार्यालयले आवश्यकता अनुसार समन्वय गर्ने र भइरहेका कामको अनुगमन गरी सुझाव मात्र दिने हो । स्वास्थ्य सेवाको आवश्यक व्यवस्था गर्ने जिम्मेवारी पालिकाकै हो,’ ढुंगाना भन्छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको