दैलेखी धमारीका धुकधुकी

ओम रिजाल
४ श्रावण २०७८, सोमबार
विषय प्रवेश
नेपाली शब्दसागरमा धमारी (धमार + ई, ना.) लाई उधुम मच्चाउने कामकाज, उत्पात, उपद्रव, नचाहिँदो चलाचल र खेलबाडले धुम मच्चाउने काम भनेर अथ्र्याइएको छ भने डोट्याली वृहत् शब्दकोशले धमारीलाई धुमारीको पर्यायवाची शब्दको रूपमा झुकेर दायाँ बायाँ हल्लिदै मिजुरा अर्थात् सानो झ्याली बजाउँदै पङ्तिवद्ध समूहमा अत्यन्तै आकर्षक ढङ्गले खेलिने वा नाचिने खेलको एक प्रकारको अर्थमा प्रष्ट्याएको छ । दैलेखमा प्रचलित धमारीले नेपाली शब्दसागरको अर्थ बोक्दैन तर डोट्याली वृहत् शब्दकोशको धुमारीको शाब्दिक अर्थसँग भने मेल खान्छ ।
दैलेख नेपाली लोकसाहित्य र संस्कृतिको उर्वर भूमी हो । दैलेखमा जन्मदेखि मृत्युसम्म हरेक संस्कारहरूमा लोक साहित्यका अनेकौं शब्दहरू दैलेखी नरनारीका कण्ठहरूमा वर्षौदेखि आजसम्म घन्किरहेका छन् । ती मध्ये धमारी एक उत्कृष्ट लोक साहित्यिक एवम् सांस्कृतिक सम्पदाको रूपमा रहेको पाइन्छ । नेपाली शब्दसागरमा धमारी (धमार + ई, ना.) लाई उधुम मच्चाउने कामकाज, उत्पात, उपद्रव, नचाहिँदो चलाचल र खेलबाडले धुम मच्चाउने काम भनेर अथ्र्याइएको छ भने डोट्याली वृहत् शब्दकोशले धमारीलाई धुमारीको पर्यायवाची शब्दको रूपमा झुकेर दायाँ बायाँ हल्लिदै मिजुरा अर्थात् सानो झ्याली बजाउँदै पङ्तिवद्ध समूहमा अत्यन्तै आकर्षक ढङ्गले खेलिने वा नाचिने खेलको एक प्रकारको अर्थमा प्रष्ट्याएको छ । दैलेखमा प्रचलित धमारीले नेपाली शब्दसागरको अर्थ बोक्दैन तर डोट्याली वृहत् शब्दकोशको धुमारीको शाब्दिक अर्थसँग भने मेल खान्छ ।
दैलेखी लोकसाहित्यमा उच्च स्थानमा रहेको धमारी करुण रसले भरिएको गीतिकाव्यको अंश हो । दैलेखी लोकसाहित्यमा करुण रसले भरिएका र भक्तिभाव बोकेका वर्षौं पुराना धमारीहरू रहेका छन् । दशैं तिहार जस्ता पर्वहरूमा गाइने भएकाले धमारीलाई कसैकसैले पर्व गीत भने पनि विशेष गरेर पौराणिक र ऐतिहासिक विषयवस्तुको प्रमुखता रहेका धमारीहरू जन्म संस्कारमा घन्कने भएकाले धमारीलाई संस्कार गीतको कित्तामा राखेर अध्ययन गरेको पाइन्छ । कसैकसैले धमारीलाई लोक गाथाको रूपमा पनि अध्ययन गरेका छन् । दमाहाको तालमा खुट्टाको चाल मिलाउदै मजुरा बजाएर दायाँ बायाँ हल्लिदै धमारी खेलिने भएकाले कतिपयले धमारीलाई लोक नाट्यको रूपमा समेत अध्ययन गरेका छन् । यसरी धमारीलाई लोक गीत, लोक गाथा र लोक नाट्यको रूपमा अध्ययन गर्नुभन्दा पनि धमारीलाई समग्र धमारीकै रूपमा अध्ययन गर्न सान्दर्भिक हुन्छ जस्तो लाग्दछ ।
दैलेखी समाजमा आजपर्यन्त जीवित रहेका धमारीहरूले शताब्दी पुराना आख्यानहरूलाई वर्तमानसम्म जीवन्त राखेका छन् । श्रुति परम्परामा जीवित रहेका दैलेखी धमारीहरू वर्तमानमा नयाँ पुस्तामा हस्तान्तरण हुन नसकि जानकारहरूको गलामा निल्नु न ओकल्नुको अवस्थामा रहेका छन् । कुनैबेला सयौँको सङ्ख्यामा पाइने धमारीहरू संरक्षणको अभावमा वर्तमानमा औंलामा गन्न सकिने अवस्थामा पुगेकाले नेपाली लोकसाहित्यको प्रमुख स्थान दैलेख लोकसाहित्यको सम्पन्नताबाट बिपन्नताको बाटोमा हिडिरहेको त छैन ? भन्ने प्रश्न धमारीका पारखीहरूको मनमा उठिरहेको छ ।
दैलेखी धमारीको प्रस्तुतीकरण
दैलेखी समाजमा छोरो जन्मेपछि धमारी खेल्नका लागि टोल टोलका खेल्लौणाहरूलाई निम्तो दिइन्छ । निम्तो पाएका खेल्लौणाहरू छोरो जन्मेको पहिलो दिनदेखि छैठीको दिनसम्म बेलुकीको खाना खाइसकेपछि बालक जन्मेको घरमा जम्मा भएर धमारी खेल्दछन् । धमारी खेल्दा पुरुषहरू गोलो घेरामा उभिन्छन् । घेराको बीचमा दायाँ बायाँ दमाहा राखेर दमाईले दमाहा बजाउन सुरु गरेपछि खेल्लौणाहरू दमाहाको तालमा खुट्टाको चाल मिलाउँदै दायाँ बाँया झुकेर मजुरा र झ्याली बजाउँदै देउडामा जस्तै घुमेर धमारी गाउँछन् । यो क्रम रातभरि चलिरहन्छ । रातभरि घन्किने धमारीका उचक र रिटक सूर्यका किरणहरू धरतीमा पोखिएपछि बन्द हुन्छन् ।
धमारी एक प्रकारको पुरुष प्रधान खेल हो । दैलेखी समाजमा छोरो जन्मेको दिनदेखि ६ दिनसम्म प्रत्येक रात धमारी खेल्ने चलन शताब्दियौंदेखि आजपर्यन्त जीवित छ । जन्म संस्कारको अलावा दशैं तिहार जस्ता पर्वहरू र विभिन्न धार्मिक अनुष्ठानहरूमा समेत धमारी खेलिने प्रचलन भए पनि जन्म संस्कारमा जस्तो भव्य रूपमा अन्य अवसरमा धमारी खेलेको पाइदैन । छोरी जन्मदा भने प्रायः छैठी कर्म नगरिने भएकोले धमारी खेल्ने प्रचलन समेत रहेको पाइदैन ।
धमारी खेल्ने व्यक्तिलाई खेल्लौणो भनिन्छ । दैलेखी समाजमा छोरो जन्मेपछि धमारी खेल्नका लागि टोल टोलका खेल्लौणाहरूलाई निम्तो दिइन्छ । निम्तो पाएका खेल्लौणाहरू छोरो जन्मेको पहिलो दिनदेखि छैठीको दिनसम्म बेलुकीको खाना खाइसकेपछि बालक जन्मेको घरमा जम्मा भएर धमारी खेल्दछन् । धमारी खेल्दा पुरुषहरू गोलो घेरामा उभिन्छन् । घेराको बीचमा दायाँ बायाँ दमाहा राखेर दमाईले दमाहा बजाउन सुरु गरेपछि खेल्लौणाहरू दमाहाको तालमा खुट्टाको चाल मिलाउँदै दायाँ बाँया झुकेर मजुरा र झ्याली बजाउँदै देउडामा जस्तै घुमेर धमारी गाउँछन् । यो क्रम रातभरि चलिरहन्छ । रातभरि घन्किने धमारीका उचक र रिटक सूर्यका किरणहरू धरतीमा पोखिएपछि बन्द हुन्छन् । त्यसपछि खेल्लौणाहरूको निधारमा रातो टीका लगाउने र माथमा सेतो पकडी (फेटा) बाँध्ने चलन रहेको छ । खेल्लौणाहरूलाई टीका र पकडी लगाइसके पछि प्रत्येक टोलका खेल्लौणाहरूलाई एक एक वटा खसी दिएर विदा गरिन्छ । जन्म संस्कार बाहेकका अन्य अवसरहरूमा खेलिने धमारीमा भने खसी दिएर बिधाइ गर्ने प्रचलन छैन ।
धमारीमा प्रयोग गरिने बाजा
धमारी खेल्दा दायाँ र बायाँ दमाहा बजाउने चलन छ । दायाँ र बायाँ गरी दुई दमाहाको प्रयोग गरिए पनि दमाहा भने एउटै व्यक्तिले बजाउछन् । दमाहाको तालसँगै धमारी खेल्दा खेल्लौणाहरूले मजुरा र सानो झ्याली बजाउने गर्दछन् ।
उचक र रिटक
धमारीको सुरुका दुई हरफलाई टेड भनिन्छ । टेडको पहिलो हरफलाई उचक र दोस्रो हरफलाई रिटक भनिन्छ । उचक र रिटक धमारीका आत्मा हुन् । उचक र रिटक विनाको धमारी धमारी नभएर कोरा गीत मात्र हुन्छ । दमाहाको तालमा घन्किने उचक र रिटकले सारा बस्तीलाई नै प्रफुलित पारेको पाइन्छ ।
दैलेखी धमारीको महत्व
वर्षौंसम्म बोलचाल बन्द भएकाहरू पनि धमारी खेल्दा एउटै घेरामा उभिएर आकर्षक ढङ्गले धमारी खेल्ने र बालकका बाउज्यु र जियालाई दुबारो (माथमा दुबो लगाउने कार्य) लगाएर आशिष दिने प्रचलनले सामाजिक वैरभावलाई कम गर्न सहयोग गरेको पाइन्छ । समाजमा दलित र गैरदलितबीच छोइछिटो गर्ने चलन भएपनि धमारी खेल्दा दलित र गैरदलितबीचको भेदभाव नदेखिनुले समेत धमारीले सामाजिक एकताको सन्देश प्रवाह गर्न मद्दत पुर्याएको पाइन्छ । केदारको धमारी, बद्रीनाथको धमारी, बैशानरको धमारी, रिषेश्वरको धमारी जस्ता धमारीहरूले हिन्दुहरूका पवित्र तिर्थस्थल केदार नाथ, बद्रीनाथ र दैलेखकै पवित्र तिर्थस्थल पञ्चकोशीको गुनगान गाएका छन् ।
दैलेखमा प्रचलित धमारीको महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
सामाजिक महत्व
दैलेखी समाजमा धमारी खेल्ने प्रचलनले सामाजिक एकतालाई मजबुत बनाउन मद्दत पुर्याएको छ । वर्षौंसम्म बोलचाल बन्द भएकाहरू पनि धमारी खेल्दा एउटै घेरामा उभिएर आकर्षक ढङ्गले धमारी खेल्ने र बालकका बाउज्यु र जियालाई दुबारो (माथमा दुबो लगाउने कार्य) लगाएर आशिष दिने प्रचलनले सामाजिक वैरभावलाई कम गर्न सहयोग गरेको पाइन्छ । समाजमा दलित र गैरदलितबीच छोइछिटो गर्ने चलन भएपनि धमारी खेल्दा दलित र गैरदलितबीचको भेदभाव नदेखिनुले समेत धमारीले सामाजिक एकताको सन्देश प्रवाह गर्न मद्दत पुर्याएको पाइन्छ ।
सांस्कृतिक महत्व
जन्म संस्कारमा घन्कने धमारीहरूले दैलेखी संस्कारलाई जीवन्त तुल्याएका छन् । सामाजिक वेदका रूपमा रहेका धमारीका टुम्काहरूले जन्म संस्कारलाई हर्षाेल्लासका साथ भव्य उत्सवको रूपमा मनाउन सघाएका छन् ।
ऐतिहासिक महत्व
पौराणिक र ऐतिहासिक विषयवस्तु बोकेका धमारीहरूले गीतका रूपमा पौराणिक गाथाहरूलाई जनमानसको गलामा शताब्दियौँदेखि बचाएर राखेका छन् । श्रुति परम्परामा जीवन्त भएका यी गाथाले पौराणिकता र ऐतिहासिकताको बोध गराउँछन् ।
धार्मिक महत्व
केदारको धमारी, बद्रीनाथको धमारी, बैशानरको धमारी, रिषेश्वरको धमारी जस्ता धमारीहरूले हिन्दुहरूका पवित्र तिर्थस्थल केदार नाथ, बद्रीनाथ र दैलेखकै पवित्र तिर्थस्थल पञ्चकोशीको गुनगान गाएका छन् । दैलेखी धमारीमा विद्यमान कृष्ण र रामका गाथाहरूले सिङ्गो हिन्दुत्वलाई उजागर गरेर दैलेखीलाई मात्र नभएर सारा नेपालीहरूलाई नै गर्विलो पारेका छन् ।
भाषिक महत्व
दैलेखी धमारीमा प्रयोग भएको भाषाको अध्ययन तथा विश्लेषण हुने हो भने यसले नेपाली शब्द भण्डारमा नयाँ शब्दहरू थपेर अझै धनी बनाउन मद्दत गर्नुको साथै नेपाली भाषालाई समृद्धिको उचाइमा पुर्याउन सहयोग पुग्ने प्रशस्त सम्भावना रहेको पाइन्छ ।
दैलेखमा प्रचलित धमारीहरू
नेपाली लोकसाहित्यको उर्वर भूमि दैलेख धमारीको पनि उर्वर भूमि हो । दैलेखमा कुनै समयमा ३६० वटा धमारी प्रचलनमा रहेकोमा हाल मुस्किलले २०/२५ वटा धमारी मात्र प्रचलनमा रहेका छन् (धर्म बहादुर थापा र रत्ने थापा, २०७०) । दैलेखमा प्रचलित धमारीहरूमा बालक जन्मदाको धमारी, छैठीको धमारी, कृष्णको धमारी, रामको धमारी, बद्रीनाथको धमारी, केदारको धमारी, बैशानरको धमारी, रिषिश्वरको धमारी, प्रितमको धमारी आदि प्रमुख रूपमा रहेका छन् । यी धमारीहरू मध्ये कतिपय धमारी लोकगाथाको रूपमा रहेका छन् भने कतिपय धमारीहरू लोक गीतको रूपमा रहेका छन् । दैलेख रावतकोट निवासी स्व. धर्म बहादुर थापा र रत्ने थापाबाट २०७० असोजमा संकलन गरिएका दैलेखमा प्रचलित केही धमारीहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।
कृष्ण जन्मको धमारी
जनमै लियो देवै वार
हंश रे भोर जनमै लियो देवै वार
भदौ वुधवार रोहणी कृतिका
अष्ठमी लीयो अवतार
हौ वसुदेव करी निकसे
खोली दियो ब्रज कवर
छानी गया जमुना तरी गया पार
जसुमतिका दरवार
हेर त जसुमति नेत्र उफारी
झलक हे मोतिउका हार
आजु महल घर दाउ दाउ बाजे
प्रकट भए सनिसार
(अष्ठमी तिथि रोहणी नक्षत्र र देवबारमा कृष्णको जन्म हुँदा वसुदेवको हत्कडी खुल्यो । जमुनालाई पार गरेर वसुदेव जसुमति (यशोदा)का दरवारमा पुगे । यशोदाले आँखा खोलेर हेर्दा सारा संसार झल्लाकार भइसकेको थियो ।)
रामको धमारी
धेको भाइ राम दलु आया
लङ्कापति धेको भाइ राम दलु आया
अठार चहना पैरी परमादलु आया
लुटत गडलैंका छिनी
धेको भाई ……….
एकावन ढुडी सकला वन ढुडी
सुतेहो सिंह ब्युँझाया
धेको भाई राम दलु…………..
पान चपाया मुख मुरली बजाया
जानीसुनी विषु खाया
धेको………………….
कुम्भकर्ण जसो जोधाहा हमारो
विभिषण जैसो भाइ
सात समुन्द्र जैसो घेरो हमारो
को सको गडलंैका हाइ
सात समुन्द्र बान्या
रामका लछुमन भाइ
कुभ्भकर्ण तेरो निद निदायो
विभिषण लियो मिलाई
छोडी देन गडलैका रावन
छोडी देन गडलैका
जैसे हनुमान अगौली जुजे
तैसे बरसला साउन
जैसे लछुमन धनु जुजे
तैसे बरसला साउन
जैसे रामज्यूले मथनी जो मथे
तैसे दुधका जावन
का हो तमरो जनम नगरी
का हो तमरो गाउँ
पूर्व हो हामरो जनम नगरी
रिगी बस्यौ सवै ठाउँ
कसुकी हौ तमी बालीअ कन्र्या
कसुकी हौ भुवारी
जनका रिषीकी हौ बाली कन्र्या
दशरथ कि हौ भुवारी
कैस्य वरणका देवस्या तमरा
कैसा वरणका स्वामी
सूर्य वरणका देवस्या हामरा
स्याम शरिल जैसा स्वामी
पाट पितम्बर पैरन बस्त्र
दुबै हात धनु तिर
करमकी वात सौन्यारी
प्रभुज्यू करमको वात सौन्यारी
कोइ र हँड्डा छन डाडिया डोला
कसुकँन पयदाकि भारी
कोइ र खाँदा छन् खाड सक्कर
कसुकँन मडुवाकि डारी
कोइ र पैरन्छन् तास कोईया
कसुकन भवैराकी डारी
(रामका सेना लङ्का प्रवेश गरे । हे लङ्कापति हेर । अठार हजार सेनाका साथ रामको दल लङ्का आएको छ । अब शक्तिशाली लङ्कामाथि विजय गर्छ । वनवन डुलेर सुतेको सिंहलाई ब्यूँझाउँदै दुःखलाई चपाउदै रामको दल लङ्का पसेको छ ।
कुम्भकर्ण जस्तो लडाकु छ मेरो विभिषण जस्तो भाइ छ । सात समुन्द्रको घेरो छ । कस्ले सक्ला र लङ्का जित्न ? सात समुन्द्र वानरले तर्छन । रामका लछुमन जस्ता भाइ छन् । तेरो कुम्भकर्ण निदाएको छ भने विभिषण रामसँग मिलिसकेको छ ।
हे रावन लङ्का छोड अब । जसरी हनुमानको अगुली र लछुमनको धनु बज्रदा साउन बर्सेजस्तै हुन्छ । त्यसरी नै रामज्युले दही मथेजस्तै तिम्रा छोरालाई मथनन् ।
तिम्रो जनम कहाँ हो ? कस्की छोरी र बुहारी हौ । पूर्व मेरो जन्म नगरी हो । सबै तिर घुमेर बस्छु । जनक ऋषीकी छोरी र दशरथकी बुहारी हुँ । तिम्रा देवर र स्वामीको रुप कस्तो छ ? मेरा देवर सूर्य वर्णका छन् । पति श्याम वर्णका छन् । पितबस्त्र पैरेका मेरा स्वामीको दुवै हातमा धनु छ ।
प्रभु यो कर्मैको खेल हो । कोही डोलामा बसेर सयर गर्छन् भने कोही खाली खुट्टा हिँड्छन् । कोही मीठामीठा सक्खर खान्छन् भने कोही गीठा नै पाउँदैनन् । कोही रुइका कपडा लगाउँछन् भने कोही भाग्रो पनि पाउँदैनन् । )
वैशानरको धमारी
बिनीको असनान सपना
मिलि पर सिलीे
वारीको दुल्लू पारीको दैलख
माज पड्यो पञ्चकोशी
तलको शिर मुथीको नाभी
माज पिपलको सान
भैरवको अगाडि पिपलको डाली
हैमुथी आईबस्यो काग
दुल्लूको बस्या दुल्लू दुलाल्या
गादीको बसन्या पिर
तलको शिरनाभी
कवल परविनी
पादुका परकट ज्योती
गंगाजमुना जैसो
सेरो बन्यो रे
तरवर पड्यो तिलुकानु
वारी तिलक शाही ऐसे कहतो हैँ
पञ्च वैशानर जाउँ
पारी मिहिन्दु शाही ऐसे कहतो हैँ
भूमी वैशानर जाउँ
सिंहको कुभ्भको वडीमैलो भैछ रे
हडहड वैशानर जाउँ
(बिहान स्नान गरेर ज्वालाक्षेत्र जाउँ । दुल्लू र दैलख राज्यको बिचमा पञ्चकोशी छ । तलको शिरिथान र माथीको नाभिथानको बीचमा पिपलको साँध छ । भैरवको अगाडि पिपलको रुखमा काग आएर बस्यो । दुल्लुमा दुलाल राजा बस्छन् । थानमा महन्त बस्छन् । शिरथान नाभिथान र पादुकामा ज्वाला प्रकट भएका छन् । गंगा र जमुनाजस्तो नदीको घेरो पारी तिलुखाना छ । वारी बस्ने तिलक शाही पञ्चकोशीका पाँच प्रमुख थान (शिरी, नाभि, पादुका, धुलेश्वर र तल्लो डुङ्गेश्वर) जाउँ भन्छ । पारी बस्ने मिहिन्दु शाही ज्वालाक्षेत्रका सबै ठाउँ जाउँ भन्छ । सिंह र कुम्भ राशीलाई अशुभ छ रे हिड ज्वालाक्षेत्र जाउँ । )
रिषीसरको धमारी
दरिशन पाउँ रिषिस्वर
दरिशन पाउँ
पहिली माहत्म डुग अस्नान
दोश्रो अस्नान रिषिस्वर
दरिशन पाउँ…………….
राजा चढाउनन् पान सुपारी
रानी चढाउनीन् भे रिषेस्वर
कोई र चढाउनन् पान सुपारी
कोई र चढाउनन् भे रिषेस्वर
मालिका चढायौं धुप दैचावल
कालिका रयाउन हेरी
कालिका चढायौ धुप दैचावल
कोटिला रयाउन हेरी
कोटिला चढायौ धुप दैचावल
शिरनाभी रयाउन हेरी
शिरनाभ चढायौ धुप दैचावल
धुलेश्वर रयाउन हेरी
धुलेश्वर चढायौं धुप दैचावल
पादुका रयाउन हेरी
पादुका चढायौ धुप दैचावल
भैरवी रयाउन हेरी
(ऋषिश्वरको दर्शन पाउँ । पहिला डुङ्गेश्वरमा स्नान गरेर दोश्रो स्नान ऋषिश्वरमा गरौंला । राजाले धन सम्पत्ति चढाउलान् । रानीले भेटी चढाउलिन् । कोही धन सम्पत्ति चढाउलान् । कोही भेटी चढाउलान् । मालिकामा धुप अछेता चढाउँदे कालिका जाउँ । कालिकामा धुप अछेता चढाउँदै कोटिला जाउँ । कोटिलामा धुप अछेता चढाउँदै शिरनाभी जाउँ । शिरनाभी धुप अछेता चढाउँदे धुलेश्वर जाउँ । धुलेश्वर धुप अछेता चढाउँदै पादुका जाउँ । पादुका धुप अछेता चढाउँदै भैरवी जाउँ ।
प्रितमको धमारी
बनीरहेइ स्वारस सिंगार
बनीरहेइ स्वारस सिंगार
सरक जो भिजे चन्द्रमा कपडा भीजे आङोन
लोन भीजे तेरा तिखतारीख
म्होन झलके तेरा दात
वरिउन झलके हौ बिजुलरी
पोरिउन झलके केश
लुगुडा धोइगोडि घर चलँे
प्रिय चल्यो परदेश
डोरिया हामरी उनकी रे
पैरत मकँन धुल
पिरिय हामरो ऐसे थियो
कैसे कमलको फूल
दिउँसको बासन्या रतन परेवो
रातीको बासन्या मोर
आँखी को धेके नैमिली सक
मिली जावै करमको हार
रातीको पैरन्या रतन पुवालो
दिउँसको पैरन्या हार
कुसुम चोली लाइ गोरी भाइर निकस
झुली गए सनसार
उचि र ढुङ्गी चौखुन्याली
है मति बिलमको रुख
दन्त हामरा हासन खेलना
हृदय भरि भरि दुःख
उची र ढुङगी चौखुन्याली
सावली कुटली धान
हातको मुसलु भइ गिरी खस्यो
मुरखले पायोन ज्ञान
उची र ढुङगी चौखुन्याली
है मुनी बिलमको पात
को नारी कैसी को नारी कैसी
को जानो चीडियाको बात
बालको लाई प्रिति दुध सौन्यारी
माछाको लाई प्रिति ताल
सरिजन लाई प्रिति सरिजन सौरे
मुरिखले पायन चाल
(सधै मेरो श्रृङ्गार रसिलो बनोस् भन्ने चाहेकी थिएँ । आकासमा जसरी चन्द्रमा भिजेको छ त्यसरी नै शरिरमा आँसुले कपडा भिजेको छ । आँखा बिगतको हासखेल सम्झेर रसाएका छन् । मनभरि प्रिय तिम्रो हाँसोले पिरोलेको छ । आकाशमा बिजुली चम्किरहेको थियो । तिम्रो टलक्क टल्किएको कपाल पारी बाटोमा देखेकी थिए । तिम्रा कपडा धोएर घर फर्किदा तिमी मुग्लान हिडिसकेका थियौं । आज मलाई तिम्रो सिन्दुर पैरन गाह्रो भएको छ । कमलको फूलजस्तो तिम्रो रूपको यादले सताएको छ ।
यो संसार सधै एकनासको कहाँ हुन्छ र ? दिउँसोमा परेवाले पीरती लाउँछ । रातीमा मयुरले पीरती लाउँछ । आँखाले देखे जति कहिल्यै पाइदैन । कर्ममा जति छ त्यति मात्र पाइन्छ । रातीमा पुवालो लगाउँदा सुहाउँछ । हार दिउँसो मात्र सुहाउँछ ।
यो संसार सधै एकनासको कहाँ हुन्छ र ? दिउँसोमा परेवाले पीरती लाउँछ । रातीमा मयुरले पीरती लाउँछ । आँखाले देखे जति कहिल्यै पाइदैन । कर्ममा जति छ त्यति मात्र पाइन्छ । रातीमा पुवालो लगाउँदा सुहाउछ । हार दिउँसो मात्र सुहाउँछ । मेरो प्यारा तिमीले दिएको गुन्युचोली लगाएर तिम्रै घरबाट आज म बाहिरिएकी छु जहाँ मलाई लिन परपुरुष बसेको छ । आजबाट ऊ नै मेरो हुनेछ । मेरो जवानीको स्वाद उसैले लिनेछ आजबाट । बाहिर उज्यालो हुनै लागेकोले म कसैले थाहा नपाउने गरी तिम्रो घरबाट निस्के ।
जसरी उचोस्थानमा रहेको रुख झट्ट हेर्दा जति खुसी देखिए पनि वास्तवमा त्यति खुसी हुँदैन । म पनि बाहिर हेर्दा हाँसेर बसेकी छु तर हृदयभरि दुःख बोकेर बाँचेकी छु । सावलमा धान कुट्दा मुसल भुइमा खसेको थाहा नपाउने मुर्खजस्तै मेरो प्रियले पनि मेरो प्रेम थाहा पाएन । जसरी चराहरूको कुराकानी कसैले बुझ्न सक्दैन त्यसरी नै सबै सबै पुरुषले नारीको मर्म बुझ्न सक्दा रहेनछन् । बालकलाई दुध र माछालाई तालको माया लागे जस्तै सच्चा प्रेमिकालाई सच्चा प्रेमीको माया हुन्छ । तिमी कति मुर्ख रहेछौ मेरो प्यारा मेरो सच्चा प्रेम नबुझेर मुग्लानमै रमायौ र मलाई पराईको आँगनमा रुँन वाध्य पार्यौ । )
बद्रीनाथको धमारी
जय बोल बदरीनाथको
तमु जय बोलु बदरीनाथको
तरवत कुण्डल म अस्नान करतु है
हरहर अज्योलाका तकी
भाइ जगनाथ बैनी सुप्रदा
सेवा फली राज पाचकी
हरिज्यूका द्वार भक्तै अतित है
कति सिद्ध कति साधु
हरिज्यूका सातया भक्त अतित है
दश सिद्ध बीस साधु
तिरिथ घुमीघुमी थकित भयौ रे
भोकु लागी परभात कि
(तिमी बद्रीनाथको जय बोल । तलको कुण्डका म स्नान गरेर आउँछु । भाइ जगनाथ र बहिनी सुभद्रा सबको सेवा गर । हरिको मन्दिरमा आएका दश सिद्ध र बीस साधु तिर्थ घुम्दाघुम्दै थाकेका छन् । तिर्थालुलाई भोक लागेको छ ।)
केदारको धमारी
पाँचै र भायलु हामरा बदरीकेदार चल्या
छैठौे बैनलु पछिलाई
जनी पछ्या जनी पछ्या बैनलु हामरी
शिरको शिरफूल दिउला तै
शिरको शिरफूल करिमैले पाउला
कहाँ पाउला एक आदा भाइ
पाँचै र भायलु हामरा बदरीकेदार चल्या
छैठौे बैनलु पछिलाई
जनी पछ्या जनी पछ्या बैनलु हामरी
कानको लोलना दिउँला तै
कानको लोलना करिमैले पाउँला
कहाँ पाउला एक आदा भाइ
………………………………..
……………………………………
पाँचै र भायलु हामरा बदरीकेदार चल्या
छैठौे बैनलु पछिलाई
जनी पछ्या जनी पछ्या बैनलु हामरी
हलको हलगोरु दिउँला तै
हलको हलगोरु करिमैले पाउँला
कहाँ पाउला एक आदा भाइ
(पाँच भाइ तिर्थ जान लागे । छैठौ बहिनीले पछ्याई । ए हाम्री बैनलु नपछ्याउन फर्केर आए पछि शिरको शिरफूल, गलाको हार, हातका बाला, खुट्टाका पायजु, गुन्यूचोलो, गोरुभैसी सबै दिउँला । मेरा दाजु शिरको शिरफूल, गलाको हार, हातका बाला, खुट्टाका पायजु, गुन्यूचोलो, गोरुभैसी सबै कर्मले पाउँली एकै कोखबाट जन्मेका भाइ कहाँ पाउँली ?)
निष्कर्ष
कुनै समयमा सयौँको संख्यामा रहेका दैलेखी धमारीहरू वर्तमानमा आयातित संस्कारले थिचिएर लोपको सँघारमा पुगेका छन् । जानकारहरूको गलामा निल्नु न ओकल्नुको अवस्थामा रहेका धमारीहरूको संरक्षण नहुने हो भने अबका केही वर्षमा नै दैलेखी धमारीको धुकधुकी समेत नरहने निश्चित छ ।
कुनै समयमा सयौँको संख्यामा रहेका दैलेखी धमारीहरू वर्तमानमा आयातित संस्कारले थिचिएर लोपको सँघारमा पुगेका छन् । जानकारहरूको गलामा निल्नु न ओकल्नुको अवस्थामा रहेका धमारीहरूको संरक्षण नहुने हो भने अबका केही वर्षमा नै दैलेखी धमारीको धुकधुकी समेत नरहने निश्चित छ । तसर्थ दैलेखी धमारीको संरक्षणका लागि धमारीका मर्मज्ञहरू एकजुट भएर लाग्नु पर्ने देखिन्छ । वर्तमानमा रहेको दैलेखी धमारीको धुकधुकीलाई नबचाएमा दैलेखी लोकसाहित्यमा मात्र होइन समग्र नेपाली लोकसाहित्यमा समेत अपुरणीय क्षति पुग्ने भएकाले दैलेखी धमारीको धुकधुकी बचाउन राष्ट्रिय, प्रादेशिक र स्थानीय सरकारका साथै सचेत नागरिक समेत लाग्न ढिलो भइसकेको छ ।
सन्दर्भ सामग्री:
डोट्याली वृहत् शब्दकोश, २०५८, बेली विश्व स्मृति प्रतिष्ठान, काठमाडौं
तिमिल्सेना, नारायणप्रसाद, २०६३, दैलेख जिल्लामा प्रचलित मागलगीतको सङ्कलन, वर्गीकरण र विश्लेषण, अ.प्र. स्नातकोत्तर तहको शोधपत्र त्रि.वि.वि., कीर्तिपुर ।
थापा, भक्तबहादुर, २०६१, दैलेख जिल्लाका लोकगीतका परम्परामा दशैं तिहारका गीत, अ.प्र. स्नातकोत्तर तहको शोधपत्र त्रि.वि.वि., कीर्तिपुर ।
नेपाल, पूर्णप्रकाश, २०४१, भेरी लोकसाहित्य, काठमाडौं, ने.प्र.प्र. ।
नेपाली शब्दसागर, २०६२,भाभा पुस्तक भण्डार, काठमाडौं
पोखरेल, टीकाप्रसाद, २०५५, बडलम्जी गा.वि.स. मा प्रचलित लोकगीतको अध्ययन, अ.प्र. स्नातकोत्तर तहको भिलेज प्रोफाइल, राष्ट्रिय विकास सेवा, त्रि.वि.वि., कीर्तिपुर ।
रिजाल, ओम ,२०७५, प्रितमको धमारी , नेपाली लोकवार्ता अङ्क पाँच, लोकवार्ता परिषद् नेपाल काठमाडौँ ।
रिजाल लोक साहित्य सर्जक तथा नेपाल सरकारको उप–सचिव हुन् ।