१४ जेष्ठ २०८०, आईतवार

प्रधानमन्त्री देउवाको पक्षमा १६५ जनाले दिए विश्वासको मत, विपक्षमा ८३ जना मात्रै



३ साउन, काठमाडौं। सर्वोच्च अदालतले परमादेश जारी गरी प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिन सफल भएका छन् । २५९ मत खसेकोमा देउवाको पक्षमा १६५ मत, विपक्षमा ८३ मत र १ जना तटस्थ रहेका छन् ।

आइतबार राति भएको मतदानमा देउवाले विश्वासको मत प्राप्त गरेका हुन् । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका छन्। प्रधानमन्त्री देउवाको पक्षमा नेपाली काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरे भने विपक्षमा एमालेका सांसदले मतदान गरेका छन्। एक सिट रहेको राप्रपा तटस्थ बसेको थियो भने एक सिट रहेको नेमकिपाले विपक्षमा मतदान गरेको थियो ।

नेकपा (एमाले)का माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित एमाले सांसदहरूले देउवालाई मत दिएका थिए । केपी ओली पक्षकै सांसदहरू ४ जना सांसदहरूले देउवाको पक्षमा मतदान गरेका थिए ।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएसँगै सरकारले १७ महिना सुनिश्चित भई काम गर्ने वातावरण बनेको छ ।
संसदमा प्रतिनिधि सभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले सबैसँग सहकार्य गरेर समस्याहरू समाधान गरिने र राष्ट्रिय एकता कायम गरिने बताएका छन् ।

आजको बैठकमा एमालेका प्रदीप ज्ञवाली, काँग्रेसका डा. मिनेन्द्र रिजाल, माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका महन्थ ठाकुर र बाबुराम भट्टराईका साथै राप्रपाका राजेन्द्र लिङदेन, जनमोर्चाकी दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले संसदमा सम्वोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको