प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनु कर्तव्य होः रामकुमारी झाँक्री
३ साउन, काठमाडौं । नेकपा एमालेका युवा नेता रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु कर्तव्य भएको बताएकी छन् । सामाजिक संजाल फेसबुकमा झाँक्रीले एमाले संस्थागत निर्णय गरेर विश्वासको मत दिनुपर्ने नभएर देउवा प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २३ जनाले एमालेका सांसदले विश्वासको मत दिनुपर्ने बताएकी हुन् ।
‘हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ । १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ ।’ उनले भनेकी छन्, ‘अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो ।’
उनले एमाले संस्थागत निर्णय गरेर प्रधानमन्त्री देउवालाई मत दिनु पर्ने नभए निवेदनकर्ताले विश्वासको मत दिनुपर्ने धारणा राखेकी छन् । ‘सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौं ।’ उनले भनिन्, ‘त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं । यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं ।’
