१२ जेष्ठ २०८०, शुक्रबार

जुम्ली युवाहरूले गरे ‘दोस्रो कोरा साईक्लिङ्ग च्यालेन्ज’



२ साउन, जुम्ला। जुम्लाका युवाहरुले आज कोरा साईक्लिङ्ग सम्पन्न गरेका छन् । नेपालका सबै प्रमुख शहरहरु र विदेशमा केही स्थानमा समेत आज हजारौं राईडर्स सहभागी भएर कोरा साईक्लिङ्ग गरिएको छ । हरेक बर्ष जुलाई महिनाको तेस्रो शनिबार आयोजना हुने कोरा साईक्लिङ्ग नेपालमा साईकलिङ्गको सबैभन्दा ठूलो कार्यक्रम हो ।

कोराको अर्थ पवित्र स्थलको परिक्रमा गर्नु हो । काठमाण्डौ उपत्यकाका सबै तीर्थस्थललाई केन्द्रमा राखेर उपत्यका आसपासका बस्ती हुँदै साईकल यात्रा गर्ने गरी शुरु गरिएको कोरा च्यलेन्ज केही वर्षमै लोकप्रिय बनेर देशका विभिन्न शहरहरुमा समेत शुरु भयो । कोरोना भाइरस महामारीको कारण गत बर्षबाट स–सानो समूहमा आ–आफ्नै ठाउँमा कोरा च्यालेन्ज गर्न थालिएको हो । यसमार्फत मनोरन्जन गर्ने, सद्भाव बढाउने, सञ्जाल निर्माण गर्ने, पर्यटकीय सम्भावना पहिल्याउने गरिन्छ ।

हिमाली जिल्ला जुम्लामा साईकल र माउण्टेन बाईकको सम्भावनालाई उजागर गर्न गत वर्ष यहि दिनमा पहिलो कोरा साईक्लिङ्ग च्यालेन्ज गरिएको थियो । यसबर्ष पनि लाम्रा गाउँका युवाहरुले तिला उपत्यका आसपास दोस्रो कोरा साईक्लिङ्ग च्यालेन्ज सम्पन्न गरेका छन् । कपील चौलागाईको ६ जना सम्मिलित राईडर्स समूहले ऐरेनीबाट हाकुँसाघुँ, हाँकुँगाउँ, गाडापारी, खल्लासाँघु, तलिउम, श्रीनगर, लाम्रासम्म कोरा राईड गरेका थिए ।

यसैगरी डा. भूमेश काफ्लेको समूहले जुम्लाबजार, चन्दननाथ मन्दिर, तिलानदीको पुल, बोहरागाउँ, गैरागाउँ आसपासको साईकल राईड गरेर कोरा च्यालेन्जमा भाग लिएका थिए ।

जुम्लाको तिला उपत्यका र सिञ्जा उपत्यका आसपासका गाउँ बस्तीहरू साईकलका माध्यमले सहजै जोड्न सकिन्छ । जुम्ला हाईअल्टिच्युड साईक्लिङ्ग अभ्यासको निम्ति महत्वपूर्ण गन्तव्य हुनसक्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको