दैलेखमा घरयासी विवादमा श्रीमतीले गरिन् श्रीमान्को हत्या
१ साउन, दैलेख । दैलेखमा घरयासी विवाद हुँदा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । नारायण नगरपालिका–११ टाटामाखुमा श्रीमतीले काठको मुंग्रो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्।
घरायसी विवाद हुँदा ३३ वर्षीया श्रीमती सुशीला मल्लले अन्दाजी ३५ वर्षीय श्रीमान् खगेन्द्र मल्ललाई बिहीबार राति करिब ९ः३० बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित सुनारले बताए ।
प्रहरीमा श्रीमानको हत्या गरेको भन्ने जाहेरी आएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ । श्रीमानको हत्या गर्ने सुशीलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
यस्तै, जिल्लाको भगवतीमाई गाउँपालिका–४ कि १७ वर्षीया किशोरी टीका बिसीको भीरबाट लडेर मृत्यु भएको छ । गोठालो गएका बेलामा बिहीबार साँझ भीरबाट लडेकी उनको उपचारका क्रममा जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा मृत्यु भएको हो ।
उनीसँगै गएकी १५ वर्षीय रोशनी थापाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । रोशनीको थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ ।
भीरबाट लडेर करिब २ सय मिटर तल खसेको अवस्थामा दुवै जनाको प्रहरी र स्थानीयले उद्धार गरेका थिए।