२१ जेष्ठ २०८०, आईतवार

कर्णाली करिडोरको १२२ किलोमिटर सडक निर्माण



१ साउन, सुर्खेत । कर्णालीको ‘ग्रोथ एक्सिस’का रुपमा रहेको कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला सलिसल्लासम्मका १ सय २२ किमि सडक निर्माणको काम सम्पन्न भएको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको ७ वर्षमा निर्माण कार्य सम्पन्न गरेको हो ।

कालिकोटको खुलालुदेखि हिल्सासम्म कुल २ सय ८१ किलोमिटर लम्बाइ रहेको कर्णाली करिडोरको १ सय २२ किलोमिटर नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएको थियो । त्यसमध्ये बाँकी रहेको सलिसल्लादेखि हिल्सासम्मको १ सय ५९ किलोमिटर सडक निर्माणको जिम्मा हिल्सा सिमकोट सडक आयोजनाले लिएको छ ।

यो राष्ट्रिय गौरवको आयोजना निर्माणमा १ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ । यो सडकले कालिकोट जिल्लाको खुलालुदेखि बाजुरा, हुम्ला हुँदै चीनको सीमाना हिल्सा सम्म जोड्छ । करिडोरको निर्माण कार्य सम्पन्न गरी असार ३१ गते ९बिहीबार० नेपाली सेनाले सडक विभाग अन्तर्गतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको हो ।

११ वर्षदेखि सडक विभागले निर्माण कार्य सुरु गरेको आयोजनामा करोडौँ बजेट खर्चिए पनि अपेक्षित काम हुन नसकेपछि नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको थियो । ५ चैत २०७१ मा मन्त्रीस्तरीय निर्णय गरी नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको थियो । चैत ९ बाट सेनाले निर्माण कार्य सुरु गरेको थियो ।

नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले कर्णाली करिडोर हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको जानकारी दिए । ‘पाँच वर्षमा नै सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएकोमा सात वर्षमा निर्माणको काम सम्पन्न भएको छ,’ उनले भने, ‘कोरोनाका कारण निर्धारित समयमा काम सक्न केही ढिलाई भएको हो ।’

कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सलीसल्ला खण्डको सडक नेपाली सेनाले निर्माण कार्य सकेर सडक विभागलाई हस्तान्तरण गरेको हिल्सा सिमकोट आयोजनाका प्रमुख बिसुनदास लामाले बताए । ‘नेपाली सेनाले आफ्नो जिम्माको काम सकेर हस्ताक्षर गरेको छ,’ उनले भने, ‘अब हाम्रो जिम्माको काम बाँकी छ ।’

कर्णाली करिडोर अन्तर्गत कालिकोटमा ४० किलोमिटर, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्लामा १ सय १३ किलो मिटर रहेको छ ।

वि.सं. २०५७ मा तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले शिलान्याश गरेको कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको १९२ किलोमिटर सडक निर्माण कार्यले १५ वर्षसम्म पनि गति लिन नसेकेपछि नेपाली सेनालाई जिम्मा दिइएको थियो ।

चीन र भारत जोड्ने सडक

कर्णाली करिडोर निर्माण पूरा भएपछि चिनसँगको सीमा जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सिमा जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दुरीको सिडक बन्नेछ । यसको कुल लम्बाई ५ सय ३० किलोमिटर छ ।

सडक निर्माण भएपछि भारतबाट मानसरोवर आउने पर्यटकका लागि छोटो दुरीको मार्ग हुनेछ । सडक निर्माणपछि पर्यटन र व्यापारका दृष्टिले तीन देशको ट्रान्जिट बन्ने कालिकोटको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताए ।

‘कर्णाली करिडोर निर्माण भए कर्णाली तीन देशको व्यापारिक मूलधार बन्न सक्छ,’ उनले भने, ‘पर्यटन र व्यापारको दृष्टिले यसको विशेष महत्व छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको