विप्लवको दौडधुप तीव्रः नेपाल र प्रचण्डपछि बाबुरामसँग भेट
१ साउन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । उनले डा. भट्टराईको निवासमा पुगेर भेटघाट गरेका हुन् ।
भेटका क्रममा पछिल्लो राजनीतिक अवस्था, केपी ओली सरकारसँग भएको सहमति कार्यान्वयनलगायतका विषयमा छलफल भएको भट्टराई प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिए ।
विप्लवले बिहीबार मात्रै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि कोटेश्वरमा भेटवार्ता गरेका थिए । भेटवार्तामा विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि सहभागी थिए ।
एमाले अध्यक्ष ओलीको सत्ताबर्हिगमन भएपछि आफूसँग भएको सहमति कार्यान्वयन नहुने हो कि भन्ने चिन्तामा विप्लव रहेका छन् । तसर्थ उनले गठबन्धनमा रहेका नेतासँगको छलफललाई तीव्रता दिइरहेका छन् ।