कर्णाली प्रदेशमा अध्यादेशमार्फत बजेट ल्याइयो
१ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएको हो ।
एमालेको निरन्तर अवरोधको कारणले प्रदेशसभाबाट बजेट ल्याउन अवस्था नरहेको भन्दै बुधबार चालु प्रदेशसभाको अधिवेशन कर्णाली प्रदेश सरकारले अन्त्य गरेको थियो ।
बुधबार अधिवेशन अन्त्य गरेर बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले ‘कर्णाली प्रदेश विनियोजन विद्ययेक २०७८’ र ‘कर्णाली सरकारको आर्थिक अध्यादेश २०७८’ अध्यादेश जारी गर्न प्रदेश प्रमुख गोविन्दप्रसाद कौलोनी समक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुख कौलोनीले बिहिबार राती नै अध्यादेश जारी गरेका हुन् ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ लागि ३६ अर्ब ५४ करोड ६६ लाख २६ हजारको बजेट असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशसभामा पेश गरेका थिए ।
प्रदेशसभामा पेश भएको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोधका कारणले छलफल नै भएको थिएन् ।
एमाले कानुनी प्रक्रियामा जाने
प्रदेशसभा पास हुनु पर्ने बजेट अध्यादेशमार्फत ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले कानुनी प्रक्रियामा जाने बताएको छ । वतर्मान सरकार संबैधानिक रुपमा गठन नभएको यसले अध्यादेशमार्फत बजेट ल्याउन कुनै संबैधानिक अधिकार नभएकाले कानुनी प्रक्रियामा जाने बताएको हो ।
संसद हुँदाहुँदै अध्यादेशमार्फत बजेट ल्याएकाले कानुनी प्रक्रियामा जाने एमाले कर्णाली प्रदेशसभाका सचेतक गुलावजंग शाहले बताए । ‘वर्तमान सरकारको बजेट ल्याउने कुनै हैसियत छैन् ।’ उनले भने,‘गलत प्रत्रियाबाट बजेट आएकाले कानुनी प्रक्रियामा जान्छौं ।’