निषेधाज्ञामा मच्छिन्द्रनाथको रथ तान्दा ढुंगा हानाहान, पुल्चोक क्षेत्र प्रहरीको नियन्त्रणमा
१८ भाद्र, काठमाडौं । कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा चलिरहकै बेला स्थानीय गुठियारहरूले रातो मच्छिन्द्रनाथको रथ तान्न थालेपछि ललितपुरको पुल्चोकमा झडप भएको छ । प्रशासनले मान्छेको हुल जम्मा गर्न नपाइने भनिरहेका बेला सैयौंको संख्यामा आएका गुठियारहरूले रथ तानेर सडकमा ल्याएपछि झडप भएको हो ।
आक्रोसित स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गर्दा केहि प्रहरी र स्थनीय घाइते भएका छन् । स्थिती नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा अश्रुग्यास हानेर सैयौंको भीडलाई तितरबितर पारेको छ ।
महानगरीय प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईले सुरूमा सम्झाएर तान्दै गरेको रथलाई रोक्न आग्रह गर्दा प्रहरी माथी नै ढुंगा प्रहार भएपछि आवश्यक बल प्रयोग गरिएको बताए । उनले भने, ‘अहिले पुल्चोक सडक प्रहरीको नियन्त्रणमा छ । मच्छिन्द्रनाथको रथलाई सशस्त्र र प्रहरीले घेरेर राखेका छन् । स्थिति नियन्त्रणमा छ । अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन’
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मी पुल्चोक क्षेत्रमा खटिएका छन् । सैयौंको संख्यामा रहेका स्थानीय गुठीयारहरू शहिद स्मारक स्कूल अगाडि नाराबाजी गरिरहेका छन् । उनीहरू रथनजिक आउन नसक्नेगरी सुरक्षाकर्मीहरू बाटोमा तैनाथ छन् ।
मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुगमति लिनुपर्ने प्रचलन छ । रथ निर्माण समुहका प्रमुख दिलकुमार बहारीका अनुसार लामो समयदेखि थाती रहँदै आएको मच्छिन्द्रथानको रथयात्राको लागि गुठी संस्थानले ब्यवस्था नमिलाइदिएकाले स्थानीय सडकमा आएर रथ तान्न थालेका थिए ।
भीडमा सहभागीहरू प्रहरी कारबाहीलाई स्थानीयको भावनासँग जोडिएका परम्परागत चाडपर्वमाथीको दमनका रूपमा लिएको बताउछन् । कतिपयले भने उपत्यका कोरोना जोखिमको केन्द्र बनीरहेका बेला यसरी ठुलो संख्यामा मान्छेको भीड जम्मा हुनु सान्दर्भिक नभएको बताएका छन् ।
रथ यात्रा रोकिएको सन्दर्भमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले यस्तो प्रतिकुल अवस्थामा ठूलो भीड जम्मा भएर रथ तान्दा कोरोना नियन्त्रणमा चुनौती थपिने बताएका छन् । उनले भने, ‘अहिले महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ कार्यलाई तिब्रता दिइरहेका बेला यसरी सैयौंको संख्यामा भीड जम्मा हुँदा थप समस्था उत्पन्न हुन्छ ।’
रथ तान्ने वा नतान्ने भन्ने निर्णय गर्ने अधिकार महानगरलाई नभएकाले यो निर्णय ज्यापु समाजले गर्ने मेयर महर्जनले बताए । उनल भने, ‘ज्यापु समाजको आकस्मिक बैठक बस्दैछ । समाजले गरेको यथोचित निर्णयलाई महानगरले समर्थत गर्छ ।’
पुल्चोक क्षेत्र आज बिहानैदेखी तनावग्रस्त छ । कतिपय स्थानीयहरू त मास्क समेत नलगाएर निरन्तर प्रहरी कारबाहीको विरोध गरिरहेका छन् । सदियौंदेखी चलिआएका यस्ता जात्रा पर्वहरू समाजको आस्थासँग जोडिएकाले बल प्रयोगले मात्रै समस्याको समाधान हुने देखिदैन । कोरोना जोखिम कम हुने र स्थानीयको आस्थामा पनि ठेस नपुग्ने गरी मध्यम मार्ग पहिल्याउनुको विकल्प छैन ।