देउवा प्रधानमन्त्री भएकै भोलिपल्ट आलमको गाउँमा ‘आतंक’
३१ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्ट बुधबार नै रौतहटका निलम्बित सांसद अफ्ताब आलमका समर्थकले गाउँमा आतंकै मच्चाएका छन् ।
आलमका समर्थकले देउवा प्रधानमन्त्री भएपछि आफ्ना नेता छुट्नै भन्दै पटका र बन्दुक पड्काएर खुशियाली मनाएका छन् । आलम मुक्त हुने भन्दै पीडितहरुलाई फेरि धम्की दिन थालेका छन् ।
गत फागुनमा रौतहट पुगेका देउवाले जेलमा रहेका आलमलाई छुटाउने आश्वासन दिएका थिए । उनले भनेका थिए, ‘मोहम्मद अफ्ताब अहिले जेलमा हुनुहुन्छ । उहाँलाई फसाइएको हो, झुटो मुद्दा लगाइएको हो । उहाँलाई छुटाएर न्याय दिलाउन म आफ्नोतर्फबाट पूरै लागिरहेको छु । अहिले उहाँको मुद्दा अदालती प्रक्रियामा छ । त्यो प्रक्रिया पूरा गरेरै उहाँलाई कैदमुक्त गराउन मैले पहल गर्छु ।’
आलमका समर्थकले सोमबारदेखि नै बन्दुक र पटाका पड्काएर खुशियाली मनाउँदै आएका थिए । त्यसपछि मंगलबार स्थानीय बासिन्दाले बिरोध गरेका थिए । विरोधमा उत्रिएका पीडित पक्षलाई आलमका समर्थकले कुटपिट गरेका थिए ।
कुटपिटबाट रियाज आलम र मोहम्मद अक्सर घाइते छन् । अक्सर गौर अस्पतालमा उपचारपछि घर फर्किएका छन् भने रियाजलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको स्थानीय एमाले नेता किरण साहले जानकारी दिए । (नागरिक खबरबाट)