२० जेष्ठ २०८०, शनिबार

सपनाहरूको मलामी



जब भोकहरू भक्कानिँदै
भाग दौडमा भौँतारिदै थिए,
भोकहरूको भेला गरेर
हो, हामीले नै हो !
भोकाहरूलाई मुक्तिको मुट्ठी कस्न लगाएको।
भोकको भिख माग्न होइन
भोकाहरूको भरमा भकारी भरेका
भतुवाहरूको भवनमा धावा बोल्न
भरौटेहरूको भ्रमको सत्ता भत्काउन
भ्रष्टहरूको सञ्जाल सिध्याउन
हो हामीले नै हो !
भाला र भरुवा बन्दुक बोकाएको ।
भोकाहरूको भोटको भर्याङ उक्लिदै
भोकाहरूको भिड बनाउने
भिरु भोकनीति विरुद्ध
हो हामीले नै हो !
बिद्रोहको मसाल सल्काएको ।
भोकाहरूको भिमकाय भेलामा
भाषण भट्याउदै
हो हामीले नै भनेका हौं !
भोकाहरू हो !
भोकलाई भग्नावषेशमा बदल्न
भिम भएर भन !
भिष्मपितामह भएर भन !
भोकहरू सिर्जना गरिराख्ने
सत्ताका सकुनीहरूलाई सुनाएर भन
भोकहरु भष्म गर्ने भिष्मप्रतिज्ञा गर्छु ।

।।१।।

भोकले भित्र्याएको रोग
रोगले रन्थनिएको रोममा मस्त
बासुरी बजाइरहेका निरोहरूसँग
जीवनजल र सिटामोलको प्रतीक्षारत
यमलोकका यात्रीहरू याचना गरिरहेछन्
सन्जिवनी नचिन्ने निरोका हनुमानहरूसँग ।
देखेर दर्दनाक दृश्य सामुन्नेमा
दिव्य दृष्टिको दरिलो दबाबमा
हो हामी नै गर्जिएका थियौं १
भोक र रोगको शोकमा शोकाकुलजनहरू हो !
उठ ! जाग ! !
लम्क ! चम्क ! !
फुक सङ्गठित संघर्षको शङ्ख !
भोक र रोगको रजाइँको
रमितामा रमाइरहेका राजाहरूको राज
गर्ल्यामगुर्लुम्म ढाल्नुछ !
ल्याउनुछ भोका नाङ्गाहरूको सत्ता ।
भताभुङ्ग भत्काउनुछ !
छोइछिटो र छुवाछूतका छाउगोठहरू
ठिङ्ग ठ्याउनुछ मानवताका महलहरू ।
बली चढाउनुछ बलत्कारीहरूलाई !
नङ्ग्याउनुछ नग्न न्यायका न्यायमुर्तीहरूलाई
च्यात्नुछ जालसाजीपुर्ण तमसुकहरू
उभ्याउनुछ निष्पक्ष न्यायका न्यायलयहरू ।
खोस्नुछ भाग्य लेख्ने भावीका कलमहरू
कोर्नुछ निधारमा भाग्यरेखाहरू !
साक्षी राखेर किताबी वादशाहहरुलाई
अरबको यात्रामा लामबद्ध युवाहरूलाई
अक्षरका दासताबाट उन्मुक्ति पाउन
बदल्नुछ शिक्षाका संरचना र सिस्टमहरू !
सिकाउनुछ सिप, श्रम र सकारात्मक सोच
साकार पार्नुछ विकास र समृद्धिका सपनाहरू ।
कुर्सीका कृषि क्रान्तिकारीहरूलाई
भोगाउनुछ भोकमारीको भय
जोत्नुछ बाझा जमिनहरू !
खन्नुछ खोरियाहरू !
रोप्नुछ खुसिका फुलहरू
फुलाउनुछ सुनका सुनाखरीहरू
फलाउनुछ सुखका फलहरू
भित्र्याउनुछ समृद्धिका बिउहरू
भर्नुछ भोकका भकारीहरू ।
खोल्नुछ उद्ध्योग धन्दाहरू
जुट्नुछ उत्पादन र उद्यममा
बजार्नुछ पाखुरीहरू
पोख्नुछ पसिनाहरू
जोख्नुछ पसिनाको मूल्य ।
यस्तै यस्तै सपनाका शिसमहलहरू
हो हामिले नै ठड्याएका थियौ
आम मानसपटलहरूमा ।

।।२।।

सुन्दर सपनाहरू सिरानी हालेर
मुक्ति या मृत्युको कसम खाँदै
कसिलो कस्सिएका मुठ्ठीहरू फुकाएर
चोर औंला ठड्याइरहेछन्
सिंहदरबारका सिंहहरूतर्फ ।
वर्गिय मुक्तिको पाठ घोकाउँदै
वर्ग संघर्षको समुन्द्रमा होम्ने
तिनै सत्ताका मुक्ति कमान्डरहरूतर्फ ।
चिहाइरहेछन झुपडीका झ्यालहरूबाट
तिम्रा तिनी राजर्षी रवाफ र ढोङ्गहरू ।
गिज्याइरहेछन विदुर नितिहरूलाई
द्रौपतीहरूको बस्त्रहरणमा रमाउने
सत्ताका धृतराष्ट्रहरूलाई ।
निरीह युधिष्ठिरहरूलाई।
धिक्कारिरहेछन् सहिदका रगत र पसिनाले
शान्ति र समृद्धिका सपनाहरू
लिलाम गर्दै
समाजवाद उन्मुख संविधानका धाराहरूबाट
थोपा थोपा चुहिने सत्ताका जल पिएर
सुख र समृद्धिको प्यासमा आकुलव्याकुल
मुक्ति योद्धाहरू
आफ्नै सपनाको अन्तिम सस्कारका
मलामी बनिरहेछन ।
मुक्ति युद्धका सिपाहीहरू
बुट बजार्दै सलामी अर्पण गर्दै
तछाड्मछाड गरिरहेछन दागबत्ती दिन ।
सल्काइरहेछन सत्ताका सलाईहरू
जलाइरहेछन जिउने जिजिविषाहरू
घोचिरहेछन घाइतेका घाउहरू
बगाइरहेछन खुनका खरानीहरू !
भक्कानिरहेछन मलामीहरू
आफ्नै आँखा अगाडि
खाग बनेका सपनाहरूको
चिता देखेर फर्किरहेछन
ओकल्दै आक्रोशका आगोहरू !
बिस्फोट गर्दै विद्रोहका वमहरू !

खड्का मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायका सहायक डिन हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको