दुल्लु क्षेत्रका प्रचलित राइसुवा गीत

ओम रिजाल
३० असार २०७८, बुधबार
विषय प्रवेश
नेपालको कर्णाली प्रदेश नेपाली भाषा, लोकसाहित्य, संस्कृति र कलाका दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ । मानव सभ्यताको विकासका क्रममा आदि मानव मनुको जन्मथलो वर्तमानको कालीकोटको मान्म, दधिचि मुनिले तपस्या गरेको लेक दैलेख, लोकसाहित्य, संस्कृति र कलाका दृष्टिले दुर्लभ मानिएको वर्तमानको दैलेखको दुल्लु र नेपाली भाषाको उत्पत्ति थलो मानिएको वर्तमान जुम्लाको सिञ्जा क्षेत्र समग्र विश्व सभ्यताको नमुना क्षेत्रका रूपमा रहेको मानिन्छ । खस साम्राज्यको विस्तारका बेला राज्यको गढका रूपमा रहेको दैलेख जिल्लाको दुल्लु क्षेत्र नेपालको इतिहासमा राजनीतिक दृष्टिले मात्र होइन नेपाली भाषाको प्रसार, लोकसाहित्य, संस्कृति र कलाका प्राचीन नमुनाका दृष्टिले पनि महत्वपूर्ण स्थानका रूपमा रहेको छ । राजनीतिक सीमा भौगोलिक रूपमा सीमित भए पनि यस क्षेत्रकोे लाकेसाहित्य, संस्कृति र कलाको भने नेपालको समग्र भूभागमा मात्र सीमित नरहेर मुलुक बाहिरका कतिपय क्षेत्रमा आफ्नो पहिचान गराउँदै जिवन्त रहेको पाइन्छ । समग्र नेपाली लोकसाहित्यको सिङ्गो एक पाटो दुल्लु क्षेत्र हो भने अर्को पाटो नेपालको अन्य क्षेत्रको साहित्य र संस्कृतिको हो भन्न सकिन्छ ।
खस साम्राज्य विस्तारका समयमा दुल्लु राज्यले जुनजुन स्थानमा आफ्नो आभिपत्य कायम गर्दै गयो ती ती स्थानमा यस क्षेत्रको साहित्य र संस्कृतिको पनि छाप पर्दै जाने क्रममा पश्चिममा गढकुमाउ र पूर्वमा कोशीको भूभागसम्म यस क्षेत्रको सांस्कृतिक सम्पदाको प्रभाव पर्दै गएको पाइन्छ । वर्तमान समयमा नेपाली लोकसाहित्यका क्षेत्रमा जेजति सम्पदा रहेका छन् ती दुुल्लु क्षेत्रको देन हो भन्ने कुरामा सायद दुईमत नहोला ।
लोकसाहित्यको उर्वर भूमिका रूपमा रहेको दुल्लु क्षेत्रमा प्रचलित लोकगीत लोकजीवनका अभिन्न अङ्गका रूपमा रहेका छन् । यी लोकगीतहरूमा एकातिर जातीय पहिचान रहेको हुन्छ भने अर्कातिर जीवन भोगाइका समग्र पक्षको चित्रण भएको पाइन्छ । यहाँका लोकगीतमा माया पिरतीका सङ्ला भावनाहरू मात्र नभएर सामाजिक जीवन भोगाइका तीतामीठा अनुभवहरूका साथै परिस्थितिजन्य विद्रोहका स्वरहरू समेत लयात्मक रूपमा व्यक्त भएका हुन्छन् । यहाँका नरनारीका गलामा साउने मूलभैmँ फुट्ने लोकगीतका अजस्र धाराहरूले मनका विकारहरूको उत्सर्जन गरी मनलाई प्रफुल्ल पारेका हुन्छन् ।
जन्मदेखि मृत्यु संस्कारसम्म कर्मकाण्डीय पद्धतिमा आधारित संस्कार गीत, दशैं–तिहार जस्ता चाडपर्वहरूमा घन्कने पर्व गीत, काम गर्दादेखि बालक खेलाउँदासम्म गाइने झम्कलडी र राइझुमा जस्ता कर्म गीत र विरहमा गाउने न्याउल्या भाका, एकान्तपनको साथीका रूपमा रहेको ठाडी भाका वा दोहोरीका रूपमा सवालजवाफ गरेर गाइने नौलीहदेलीका प्रतियोगी स्वर आँसुकवित्व शैलीमा हरेक पारखीका गला गलाबाट दुल्लु क्षेत्रका थला–थलामा घन्कने गर्दछन् ।
दुल्लु क्षेत्रमा प्राचीन कालमा जेजति लोकसंस्कृति र साहित्यका सम्पदाहरू प्रचलनमा थिए त्यति वर्तमानमा हुबहु रहन सकेका त छैनन् तर जेजति छन् ती महत्वपूर्ण सम्पदाका नमुनाका रूपमा रहेका छन् । जन्मदेखि मृत्यु संस्कारसम्म कर्मकाण्डीय पद्धतिमा आधारित संस्कार गीत, दशैं–तिहार जस्ता चाडपर्वहरूमा घन्कने पर्व गीत, काम गर्दादेखि बालक खेलाउँदासम्म गाइने झम्कलडी र राइझुमा जस्ता कर्म गीत र विरहमा गाउने न्याउल्या भाका, एकान्तपनको साथीका रूपमा रहेको ठाडी भाका वा दोहोरीका रूपमा सवालजवाफ गरेर गाइने नौलीहदेलीका प्रतियोगी स्वर आँसुकवित्व शैलीमा हरेक पारखीका गला गलाबाट दुल्लु क्षेत्रका थला–थलामा घन्कने गर्दछन् । साथीहरू मिलेर मनोरञ्जन गर्न होस् वा एक्लोपनको साथीको रूपमा होस्, लोकगीतले नै सबैलाई सघाइरहेका हुन्छन् । यी गीतहरूको कोटिमा फरक प्रकारको महत्व र अस्तित्व बोकेर प्रस्तुत हुने गीतको प्रकार राइसुवा हो ।
दुल्लु क्षेत्रका लोकगीतको वर्गीकरण
लोकगीतको अभिव्यक्तिमा देखा पर्ने रूप नै लोकगीतको वर्गीकरण हो । लोकसाहित्यको गतिशीलताको कारण एक स्थानमा लोकगीतका रूपमा प्रचलित गीतहरू अर्को स्थानमा लोकगाथाको रूपमा समेत विकसित भएको पाइन्छ । लोकजीवनको प्रयोगको आधारमा दुल्लु क्षेत्रमा प्रचलित लोकगीतलाई निम्नानुसार वर्गीकरण गरेर अध्ययन गर्न सकिन्छ:
दुल्लु क्षेत्रका लोकगीत
संस्कार गीत
झोडा
मागल
धमारी
ढुस्को
चुट्किला
कर्को (मृत्यु गीत)
पर्व गीत
भोसी
भैलो
भैनी
जै भम्म
सुवा
चुट्किला
कर्म गीत
रोपाइ गीत
दाँइ गीत (सह गीत)
झम्पलडी
राउनी धाउँधाउँ
बाल गीत
डेउडा
अन्य
न्याउल्या
ठाडी भाका
तीज गीत
बैजी गीत
दुल्लु क्षेत्रका लोकगीतमा राइसुवा गीत
लोकसाहित्यका विधा वर्गीकरणको विद्यमान आधारमा दुल्लु क्षेत्रका लोकगीतलाई विभिन्न वर्गमा विभाजन गरिए तापनि यहाँ दुल्लु क्षेत्रमा प्रचलित राइसुवा गीतको मात्र चर्चा गर्ने प्रयास गरिएको छ ।
दुल्लु क्षेत्रमा प्रचलित ढुस्कोका शब्दगेडीहरूसँग राइसुवा गीतका शब्दहरूले मेल नखानु र अन्य चुट्किलाहरूमा झैं कथा व्यथा र वेदनाका भावहरू अभिव्यक्त हुनुले यस गीतलाई चुट्किलाको कित्तामा उभ्याउँदा उपयुक्त हुने भएकाले सोही अनुरूप यहाँ प्रस्तुत गरिएको छ ।
राइसुवा गीतलाई दुल्लु क्षेत्रमा कतै–कतै ढुस्को र कतै–कतै चुट्किलाले सम्वोधन गर्ने गरिन्छ । स्थान विशेष यस गीतको नाममा भिन्नता रहे पनि प्रस्तुति र गीतांशले सबै स्थानको भावात्मक प्रतिनिधित्व एकै प्रकारले गरेको पाइन्छ । सामान्य रूपमा पाठान्तर भए पनि गीतको आन्तरिक पक्षमा भने कुनै प्रकारको भिन्नता पाउन सकिदैन । दुल्लु क्षेत्रमा प्रचलित ढुस्कोका शब्दगेडीहरूसँग राइसुवा गीतका शब्दहरूले मेल नखानु र अन्य चुट्किलाहरूमा झैं कथा व्यथा र वेदनाका भावहरू अभिव्यक्त हुनुले यस गीतलाई चुट्किलाको कित्तामा उभ्याउँदा उपयुक्त हुने भएकाले सोही अनुरूप यहाँ प्रस्तुत गरिएको छ ।
दुल्लु क्षेत्रका लोकगीतमा राइसुवा गीतले संस्कार र पर्व दुवै प्रकारको सांस्कृतिक अस्तित्व कायम गरेको पाइन्छ । कतै कतै वैवाहिक कार्यका साथै प्रायजसो पर्वमा यस गीतको वैशिष्ट्य रहने भएकाले संस्कार भन्दा पर्व गीतको रूपमा आफ्नो अधिपत्य जमाएको देखिन्छ ।
राइसुवा गीतको मूल पाठ
राती राइसुवा डाली सर
दिउँस राइसुवा मोतीउँ चर
मोतीउँ चर हो मोतीउँ चर ।
बाम्नका पोइल जनदिया बाबै
भातु पकाइ पकाइ जाइ जियाड
हामु पोइल दिया बाबै राइसुवाका ।
राती राइसुवा डाली सर
दिउँस राइसुवा मोतीउँ चर
मोतीउँ चर हो मोतीउँ चर ।
छेत्तीका पोइल जनदिया बाबै
लडाइँ अरी अरी जियाड
हामु पोइल दिया बाबै राइसुवाका ।
राती राइसुवा डाली सर
दिउँस राइसुवा मोतीउँ चर
मोतीउँ चर हो मोतीउँ चर ।
लुहारका पोइल जनदिया बाबै
फलाम पिटी–पिटी जाइ जियाड
हामु पोइल दिया बाबै राइसुवाका ।
राती राइसुवा डाली सर
दिउँस राइसुवा मोतीउँ चर
मोतीउँ चर हो मोतीउँ चर ।
दमाइका पोइल जनदिया बाबै
थाङ्ना तुनी–तुनी जाइ जियाड
हामु पोइल दिया बाबै राइसुवाका ।
राती राइसुवा डाली सर
दिउसँ राइसुवा मोतीउँ चर
मोतीउँ चर हो मोतीउँ चर ।
पार्थीका पोइल जनदिया बाबै
चोया तानी–तानी जाइ जियाड
हामु पोइल दिया बाबै राइसुवाका ।.
भावार्थ
राइसुवा शब्द राइ र सुवा शब्द मिलेर बनेको छ । दुल्लु क्षेत्रमा प्रचलित भाषिकामा राइको अर्थ राजा र सुवाको अर्थ प्रेमी हुन्छ । यसरी हेर्दा राइसुवाको शाब्दिक अर्थ प्रेमीको राजा भन्ने हुन्छ ।
राइसुवा गीतमा परिवारबाट विवाहको तयारी गरिएकी एउटी चेलीको विद्रोही स्वर मुखरित भएको पाइन्छ । जातभातको विपक्षमा उभिएको राइसुवा गीतमा बाहुनसँग विवाह भएमा जीवनभर भात पकाउँदैमा जीवन बित्ने, क्षेत्रीसँग विवाह भएमा लडाइँमै जीवन बित्ने, कामीसँग विवाह भएमा फलाम पिट्दैमा जीवन बित्ने, दमाइसँग विवाह भएमा कपडा तुन्दैमा जीवन बित्ने र पार्थीसँग विवाह भएमा डोको, नाङ्लो बनाउँदैमा जीवन बित्ने तर मायाप्रेम कतैबाट प्राप्त नहुने भएकाले राइसुवासँग विवाह गरिदिन आग्रह गरिएको छ ।
राइसुवा गरिब भएकाले राती रुखको तल बास बस्छ र दिउँसो परिश्रमका पसिना चुहाउँदै मोती आर्जनमा दत्तचित्त भएर लाग्ने र जीवनभर माया गरेर जीवन बिताउने भएकाले बाबा मलाई राइसुवा जस्तो परिश्रमी, असल र इमान्दार प्रेमीसँग विवाह गरिदिनुहोस् भन्दै एउटी चेलीले आफ्नो बाबुसँग गरेको पुकार राइसुवा गीतमा छताछुल्ल पोखिएको छ । राइसुवा गीतले जातभन्दा ठूलो मायाप्रेम हुने र आफ्नो प्रेमीसँग विवाह भएमा मात्र खुसीका साथ जीवन जिउन सकिने भावलाई आत्मसात् गरेको छ ।
राइसुवा गीतको प्रस्तुति
राइसुवा गीतले जातभन्दा ठूलो मायाप्रेम हुने र आफ्नो प्रेमीसँग विवाह भएमा मात्र खुसीका साथ जीवन जिउन सकिने भावलाई आत्मसात् गरेको छ । राइसुवा गीत हाम्रो समाजमा जातभात प्रथाका विरुद्धका आवाजहरू वर्तनमानमा मात्र नभई परापूर्व कालदेखि कुनै न कुनै रूपमा उठेका थिए भन्ने कुराको सशक्त प्रमाण हो । पुरुष प्रधान गीत भए पनि राइसुवा गीतमा नारीको प्रेमीसँग विवाह गरिदिन गरिएको आग्रह भेटिनु राइसुवा गीतको विशेषता हो ।
राइसुवा गीत एउटा पुरुष प्रधान गीत हो । यो गीत गाउँदा पुरुषहरू गोलाकार रूपमा रहेका हुन्छन् । दुई समूहमा बाँडिएका गायकहरू दमाहाका तालसँगै खुट्टाको चाल र शरीरको ढाल मिलाएर गीत गाउने गर्दछन् ।
राइसुवा गीतको प्रस्तुतीकरण रसमा धाराप्रवाह शान्त भावमा गरिन्छ । झट्ट हेर्दा यस गीतको प्रस्तुति ढुस्कोको प्रस्तुति जस्तो देखिए पनि ढुस्कोमा जस्तो खुट्टाको चाल र शरीरको हाउभाउ एकै नासको नभई दमाहाको ताल अनुसार फरक–फरक पाइन्छ ।
राइसुवा गीतका विशेषता
क) जातको विपक्ष र प्रेमको पक्षमा उभिएको गीत
राइसुवा गीतले जातको पक्षमा नभई प्रेमको पक्षमा वकालत गरेको छ । वर्तमान समयमा पनि हाम्रो समाजमा जरा गाडेर बसेको जातभात प्रथाको विरुद्धमा रहेको यस गीतमा गरिब भए पनि इमान्दार र आफुलाई माया गर्ने प्रेमी बिजातकै भए पनि उसैसँग विवाह गरिदिन विनम्रतापूर्वक आग्रह गरिएको छ । राइसुवा गीत हाम्रो समाजमा जातभात प्रथाका विरुद्धका आवाजहरू वर्तनमानमा मात्र नभई परापूर्व कालदेखि कुनै न कुनै रूपमा उठेका थिए भन्ने कुराको सशक्त प्रमाण हो ।
ख) पुरुष आवाजमा नारी आग्रह
पुरुष प्रधान गीत भए पनि राइसुवा गीतमा नारीको प्रेमीसँग विवाह गरिदिन गरिएको आग्रह भेटिनु राइसुवा गीतको विशेषता हो । नारीलाई घरको चुलोचौकोमा सीमित गरिने समाजमा पुरुष आवाजमै नारीभाव भेटिनुले राइसुवा गीतको वैशिष्ठ्यतालाई पुष्टी गरेको छ ।
ग) संस्कार र पर्व गीत
राइसुवा गीत विवाहमा गाइने संस्कार गीत हो भने पर्वहरूमा समेत गाइने भएकाले पर्व गीत पनि हो । संस्कार र पर्व गीतको रूपमा उत्तिकै लोकप्रिय हुनु राइसुवा गीतको विशेषता हो ।
राइसुवा गीतको वर्तमान अवस्था
नेपाली लोकसाहित्यको मूल घडेरीको रूपमा गर्व गर्ने दुल्लु क्षेत्रबाट दिनहुँ लोप भइरहेका लोकसाहित्यका अमूल्य सम्पदासँगै राइसुवा गीतको पनि धुकधुकी मात्र बाँकी रहनुले जातभाज जस्तो कुप्रथाको विरुद्धमा घन्कने हाम्रा मौलिक सम्पदाहरू कुप्रथाको अन्त्य नहुँदै आफैं लोप हुने त होइनन् भन्ने शङ्का गर्नुपर्ने बेला आएको छ ।
विगतमा पुस्तौंपुस्तासम्म निरन्तर रूपमा गाइँदै आएको राइसुवा गीत वर्तमानमा नराम्ररी थला परेको छ । आयातित सभ्यता र संस्कृतिको मारले दुल्लु क्षेत्रलाई पनि अछुतो नछोडेपछि यहाँको मौलिक सभ्यता र संस्कृतिसँगै राइसुवा गीतले पनि बस्तीबाट सधैँका लागि बिदा लिनु पर्ने अवस्थामा आइपुगेको भान हुन्छ । यस्ता सम्पदाको अस्तित्व सङ्कटमा पर्नु लोकसाहित्य र संस्कृतिका पारखीका लागि शुभ समाचार पनि हुन सक्दैन । नेपाली लोकसाहित्यको मूल घडेरीको रूपमा गर्व गर्ने दुल्लु क्षेत्रबाट दिनहुँ लोप भइरहेका लोकसाहित्यका अमूल्य सम्पदासँगै राइसुवा गीतको पनि धुकधुकी मात्र बाँकी रहनुले जातभाज जस्तो कुप्रथाको विरुद्धमा घन्कने हाम्रा मौलिक सम्पदाहरू कुप्रथाको अन्त्य नहुँदै आफैं लोप हुने त होइनन् भन्ने शङ्का गर्नुपर्ने बेला आएको छ ।
निष्कर्ष
जातभातको विरुद्धमा उभिएर असल प्रेमीको खोजी गर्ने राइसुवा गीत जातीय प्रथाको अत्य थला परिसकेको छ । आयातित गीतहरूले घेरिएर ओझेलमा पर्नु, कही कतैबाट संरक्षणको प्रयत्न नहुनुल र नयाँ पुस्तालाई यस्ता सम्पदाप्रति जागरणको भावना पैदा नहुनु एवम् वर्तमान श्रव्यदृश्य सामग्रीको व्यापकताले एउटा उत्कृष्ट लोकगीतले हामीबाट बिदा लिने निश्चित प्रायः भइसकेको छ । यसप्रति लोकसाहित्यका अन्वेषक, अध्येता, जानकार एवम् राज्यको ध्यान पुग्न जरुरी भइसकेको छ ।
रिजाल लोक साहित्य सर्जक तथा नेपाल सरकारको उप–सचिव हुन् ।