देउवा सरकारलाई रामचन्द्र पौडेलका सुझाव
३० असार, काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुभकामनाका साथसाथै केही सुझाव पनि दिएका छन् । पौडेलले फेसबुकमार्फत सरकारलाई सुझाव दिएका हुन् ।
पौडेलले आम नागरिकमा आशा जगाउनका लागि नयाँ सरकार केपी ओली प्रवृतिको विकल्प बन्नुपर्ने बताएका छन् । आचरण, कार्यक्षमता, कार्यशैली, चारित्रिक तथा नैतिक दृष्टिले अबको सरकार ओली प्रवृतिको विकल्प बन्नुपर्ने बताएका हुन् ।
भ्रष्टचारलाई शून्य सहनशिलतामा लैजान पनि वर्तमान सरकार सबल बन्नुपर्ने पौडेलको सुझाव छ । त्यस्तै भ्रष्टचारको निष्पक्ष छानबिनका लागि अख्तियारलाई ओली सरकारले बनाएको सरकारी छाँयाबाट मुक्त गराउनुपर्ने पनि पौडेलले बताएका छन् ।
ओली सरकारले गरेको असंवैधानिक नियुक्तिको खारेजी, लोकतान्त्रिक मर्ममाथि प्रहार गर्ने अध्यादेश तथा कानुनहरूको खारेजीको काम तत्काल थाल्नुपर्ने पौडेलको मत छ ।
सरकारलाई साँच्चै समाजवादी चरित्रको बनाउन आम नागरिकका समस्यालाई सम्बोधन गर्ने काम सरकारले फटाफट गर्नुपर्ने तथा संविधानसभाबाट बनेको संविधानले नागरिकलाई दिएका अधिकारहरू कार्यान्वयन गर्ने दिशामा सरकार अगाडि बढ्नुपर्ने पौडेलको सुझाव छ ।