एमालेको स्थायी कमिटी बैठक आज बस्दै
२९, असार, काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको भोलिपल्ट बैठक बस्न लागेको हो ।
तामाङले आज बस्ने बैठकमा सर्वोच्चको फैसलाको समीक्षा हुने जानकारी दिए । तामाङका अनुसार आजको बैठकमा पार्टीको आन्तरिक एकताका सम्बन्धमा पनि छलफल हुनेछ । आज बस्ने बैठकमा माधव नेपाल पक्षको पनि सहभागिता हुने तामाङले बताए ।
सोमबार ९हिजो० बसेको एमालेको स्थायी कमिटीको अनौपचारिक बैठकले सर्वोच्च अदालतको फैसला लोकतन्त्रका आधारभूत संरचनालाई खलबल्याउने किसिमको भएको निष्कर्ष निकालेको थियो ।
सर्वोच्चको फैसला शक्ति पृथकीकण विपरीत भएको निष्कर्ष निकालेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए ।
‘फैसला राज्यका तीनवटै अंगहरूबीच सन्तुलन र समन्वयको स्थितिलाई बिथोल्ने किसिमको छ । शक्ति सन्तुलनका पिलरलाई हल्लाउने काम गरेको छ,’ ज्ञवालीले बैठकपछि भनेका थिए, ‘सरकार बनाउने संविधानमा पृथक व्यवस्था छ । सदनबाट सरकार गठन भएपछि राष्ट्रपतिले घोषणा गर्ने विधि छ । अब त सरकार गठनका लागि अन्यत्र जानुपर्ने परिस्थित आयो ।’
सर्वोच्चको फैसलापछि हिजै बसेको विपक्षी गठबन्धनको बैठकमा एमाले नेता माधव नेपालले अब आफू विपक्षी गठबन्धनमा नरहने जनाएका थिए । नेता नेपालले पार्टीको विवादका क्रममा विकसित घटनाक्रमलाई बुझिदिन पनि आग्रह गरेका थिए । नेता नेपालले संविधान, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि राजनीतिक सहकार्य गर्न तयार रहे पनि विपक्षी गठबन्धनमा नरहने बताएका थिए ।
ुसंविधान लोकतान्त्रिक गणतन्त्र र व्यवस्थाको सुदृढीकरणका लागि राजनीतिक सहकार्य गर्न तयार रहे पनि बदलिँदो परिस्थितिका कारण विपक्षी गठबन्धनमा सँगै रहन सकिँदैन,ु नेता नेपालको भनाइ उद्धृत् गर्दै बैठकमा सहभागी नेता रघुजी पन्तले भनेका थिए ।