नेता नेपालद्वारा विपक्षी गठबन्धनबाट बाहिरिएको घोषणा
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट आफू टाढा रहने कुरा गरेका छन् । कोटेश्वरस्थित गठबन्धनको बैठकमा कुरा राख्दै नेता नेपालले आफु र आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने बताएका छन् ।
लोकतन्त्र, गणतन्त्र, संघीयता र अग्रगमनका लडाइँमा आफ्नो साथ रहने बताउँदै आफ्नो पार्टी फरक परिस्थितिमा एकताको प्रक्रियामा रहेकाले पार्टीले जे निर्णय गर्छ, त्यसअनुसार अगाडि बढ्ने बताए । आफु फरक तरिकाले अगाडि नबढ्ने बताउँदै गठबन्धनका पार्टीहरूलाई पनि मुलुकको हितका निम्ति छलफल र सहकार्यको लागि आग्रह गरेका छन् । नेता नेपाललाई उदधृत गर्दैं उक्त कुरा एमाले स्थायी कमिटी नेता रघुजी पन्तले बताएका छन् ।
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले एकताको दशबुँदे सहमति तयार पारिसकेपछि नेपालले आफ्नो समूह औपचारिक रूपमा विपक्षी गठबन्धनबाट बाहिरिने जानकारी गराएका हुन् ।