बीरसिंह विश्वकर्मा ‘प्रादेशिक प्रतिभा पुरस्कार’ बाट सम्मानित
२७ असार, काठमाडौं । दैलेख जिल्लामा जन्मिएका सर्जक बीरसिंह विश्वकर्मालाई ‘कर्णाली प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार–२०७७’ बाट सम्मानित गरिएको छ । उनलाई नेपाल सरकारद्वारा स्थापित राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारको भाषा एवम् साहित्य विधातर्फबाट असार २५ गते सम्मानित गरिएको हो ।
विश्वकर्मालाई नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली साहित्यमा अनवरत रूपमा क्रियाशील रही अतुलनिय योगदान पुर्याए सम्मान गरेको छ । उनलाई सम्मान–पत्रसहित नगद पुरस्कार रु. ५० हजार प्रदान गरी सम्मानित गरिएको हो ।
कर्णाली प्रदेशको दैलेख जिल्ला गुराँस गाउँपालिकाको पिलाडी गाउँमा जन्मिएका सर्जक विश्वकर्माका थुप्रै साहित्यिक कृतिहरू प्रकाशित छन् । उनका प्रकाशित कृतिमा प्रदेशी–२०४९, अभियान–२०५१, चेतना–२०५०, दि ऐग्जाइल (अङ्ग्रेजीमा) उपन्यासहरू रहेका छन् । त्यस्तै रेडियो नाटकहरू आजकी चेली र अनिताको चिट्ठी डा. विश्वकर्माका प्रकाशित कृति हुन् । उनको कृति दि ऐग्जाइलको नेपाली अनुवाद ‘विरानो देशमा’ उपन्यास प्रकाशोन्मुख अवस्थामा रहको छ ।