म केपी ओलीतिर गएको छैनः बामदेव गौतम
२७ असार, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले पार्टी विवादमा आफू अध्यक्ष केपी शर्मा ओलीतिर नमिलेको बताएका छन् । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि अध्यक्ष ओलीलाई साथ नदिएको स्पष्टीकरण दिए । उनले आफू अँझै तठस्थ नै रहेको बताएका छन् । गौतम अध्यक्ष ओलीले गत हप्ता बालुवाटारमा बोलाएको बैठकमा सहभागी भएका थिए ।
उपाध्यक्ष गौतमले भने, ‘एमाले पुनर्स्थापित भएपछि एमाले रोज्नैपर्यो । एमालेको सदस्य हुँ । त्यसो भएर म केही समय पहिले केपीजीले जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा भाग लिन गएँ । धेरै मानिसहरूले बामदेव केपीतिर गयो भने । यो सभामार्फत् म जानकारी गराउन चाहन्छु म कुनैतर्फ गएको होइन । म एमाले भएको प्रमाण पेश गर्नको निम्ति गएको हुँ ।’
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला आएपछि पार्टी एकढिक्का हुने गौतमले बताएका छन् । उनले पार्टी विवाद समाधान गर्न गठित कार्यदलले त्यसअघि नै सहमति जुटाउन सके अझ राम्रो हुने बताए । गौतमले आफ्नो पार्टीभित्रको विवादलाई ‘ठूलो घरको ठूलै चहलपहल’ भनी टिप्पणी गरे ।
गौतमले एकपछि अर्को अराजनीतिक क्रियाकलाप, संविधान र ऐन नियमहरू कुल्चिने काम भएकाले शिर निहुर्याउनु पर्ने अवस्था सिर्जना भएको बताए । उनले पार्टी विवाद समाधानका लागि आफूले भूमिका निर्वाह गर्न नसकेको समेत स्विकारे ।