२२ जेष्ठ २०८०, सोमबार

१० कक्षा पढ्दा जेल पुगेकी मेरिना स्नातकोत्तरको प्रमाणपत्र बोकेर भोलि छुट्दै




२७ असार, काठमाडाैं । २०६६ साल जेठ २२ गते मुलुकको राजधानी काठमाडौैंमा दर्दनाक घटना भएको दिन । ख्याति श्रेष्ठ हत्याका नाममा चिनिने उक्त घटना स्वयंचाहिँ कुख्यात थियो ।

काठमाडौं अनामनगरकी १९ वर्षकी ख्यातिको अपहरणपछि बीभत्स हत्या भएको थियो । क्रुर हत्याको मतियार थिइन्, मेरिना शाक्य । शाक्यलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायो ।

तर, उनी सजाय कटाएर भोलि (सोमबार) १२ वर्षपछि जेलमुक्त हुँदैछिन् । ख्यातिको हत्या हुँदा मेरिना १७ वर्षकी मात्रै थिइन् । अहिले २९ वर्षकी भइन् । ख्यातिको हत्यामा जिल्ला अदालत काठमाडौंले ३ मंसिर २०६७ मा मेरिनाले मतियारको भूमिका खेलेको भन्दै २० वर्ष कैद सजाय सुनाएको थियो ।

अपहरणतर्फ १० वर्ष र जघन्य प्रकृतिको हत्या, महिलाको हत्यासमेत जोडेर थप १० वर्ष गरी उनलाई न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

ख्यातिको हत्याका मुख्य पात्र सोह्रखुट्टेका वीरेन श्रेष्ठ हुन् । उक्त हत्या हुँदा मेरिना नाबालिका हुँदा पनि सुधार गृह नपठाई अदालतले कैद सजाय तोकेको थियो । त्यसैलाई सर्वोच्चले समेत सदर गर्‍यो ।

नेपालको कानुनमै नाबालिका–नाबालकको हकमा जस्तोसुकै अपराध गरेको भए पनि सुधारगृह पठाउनु पर्ने व्यवस्था छ । तर, क्रुर घटना भएकाले मेरिनालाई सुधारगृह पठाइएन । उक्त फैसला न्याय प्रणालीकै ऐतिहासिक मानिन्छ ।

मेरिना प्रक्राउ पर्दा ०६६ सालको एसएलसी दिएर बसेकी थिइन् । रिजल्ट आउँदासम्म उनलाई प्रहरीले पक्राउ गरिसकेको थियो । उनले प्रहरी थुनामै हुँदा एसएलसीमा पहिलो श्रेणीमा उत्तीर्ण भएको खबर पाइन् । ख्यातिको बीभत्स हत्यापछि मेरिनाको स्वतन्त्र जीवन चारैतिर काँडेतारले घेरिएको चौघेराभित्र पुगेको थियो ।

तर, उनले जीवनको संघर्ष काँडेतारभित्रबाट सुरु गरिन् । सुन्धारा कारागारको महिला विद्यालयकी हेड शिक्षिका भइन् । मेरिनाले जेलभित्रैबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर (मास्टर डिग्री) पास गरिन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको