कोपा अमेरिका फाइनलः एकअर्कालाई अँगाल्दै भावुक बने मेस्सी र नेमार
२७ असार, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाबाट केही वर्ष सँगै खेल्दा अर्जेन्टिनाका लिओनल मेसी र ब्राजिलका नेमारबिच निक्कै घनिष्ट मित्रता थियो । बिलक्षण खेल कौशल भएका मेस्सी र नेमारले बार्सिलोनाबाट केही उपाधी पनि सँगै जिते ।
तर पछि नेमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन लागे, मेस्सी बार्सिलोनामै रहे । एकअर्काबिच मित्रता भएपनि राष्ट्रिय टिमबाट खेल्दा स्वभाविक रूपमा यी दुई एक अर्काका विरुद्ध हुने नै भए । कोपा अमेरिका फुटबलको फाइनलअघि नेमारले पनि आफूहरु मिल्ने साथी भएको बताएका थिए । तर फाइनलमा भने एक अर्का विरुद्ध प्रतिस्पर्धामै उत्रने उनको प्रतिक्रिया थियो ।
आइतबार बिहान रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको ४७ औं संस्करणको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई हराउदै उपाधि जित्यो । एन्जल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा हरायो ।
रेफ्रीले खेल सकिएको सिठी बजाउनेबित्तिकै मेसी मैदानमा घुँडा टेकर हर्षको आँशु झार्दै खुशी मनाउन थाले । आफ्नै मैदानमा खेल हारेका नेमारको आँखामा भने दुःखको आँशु छचल्किन थाल्यो ।
२८ वर्षपछि च्याम्पियन बनेको अर्जेन्टिनी टोली धुमधामका साथ खुशीयाली मनाइरहेका थिए । त्यसैबेला अर्जेन्टिनी टोलीनजिक रहेका नेमार र मेस्सी एकअर्कालाई अंकमाल गर्दै भावुक बने । आफु हारको असैह्य पीडाले थिचिदा पनि नेमारले मेस्सीको खुशीमा एक्यबद्धता जनाउन सके । करिब एक मिनेटको अंकमालले उनीहरुले मित्रता र घनिष्टता उस्तै रहेको देखियो ।
सामाजिक सञ्जालमा अहिले मेसी र नेमारबीचको अंकमालको दृश्य चर्चाको विषय बनेको छ र धेरैले यो तस्वीरलाई सेयर गरेका छन् । उमेर र खेल जीवनको हिसाबले पनि अग्रज खेलाडी मेस्सीप्रति नेमारले देखाएको सम्मानले उनी कुशल खेलाडी मात्र होइन असल व्यक्तित्व पनि हुन् भने प्रमाणीत भएको छ ।