२० जेष्ठ २०८०, शनिबार

रारा चक्रपथका लागि रकम छुट्याइन्छ, काम हुँदैन



२७ असार, जुम्ला । कर्णालीको मुख्य पर्यटकीय गन्तव्य रारामा चक्रपथ (साइकल लेन) निर्माणका लागि प्रदेश सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि काम नभई फ्रिज हुने गरेको छ । प्रदेश सरकारले अघिल्ला दुई आर्थिक वर्षमा साइकल लेन निर्माणका लागि विनियोजन गरेको झन्डै ४ करोड रुपैयाँ फ्रिज भएको छ । ढिलो गरी बजेटको अख्तियारी पठाइँदा बजेट फ्रिज हुने गरेको हो ।

चालु आर्थिक वर्षमा एक किमि चक्रपथ निर्माणका लागि वन डिभिजन कार्यालयमार्फत २ करोड ८८ लाख रुपैयाँ बजेट छुट्याइएको छ । तर असार तेस्रो सातासम्म मुस्किलले ४० प्रतिशत काम मात्र भएको छ । यो वर्ष शंकर/मालिका निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिइएको कार्यालयले जनाएको छ । कोरोना महामारीको निहुँ बनाउँदै कम्पनीले साइकल रोड निर्माणमा ढिलाइ गरेको हो ।

यो वर्ष आएको बजेटबाट करिब १० प्रतिशत रकम निर्माण कम्पनीलाई भुक्तानी दिइसकिएको छ । यो वर्ष पनि पूरै काम नहुँदा बजेट फ्रिज जाने जोखिम बढेको कार्यालयका सव–इन्जिनियर गोरासिह बडुवालले बताए । उनका अनुसार ठेकेदार कम्पनीले साइकल लेन निर्माणका लागि असार ३० गतेसम्मको समय मागेको छ । अहिलेसम्म एक किमि मात्र ट्र्याक खन्ने काम सकिएको छ भने पर्खाल र नहर निर्माणको काम जारी छ । ठेकेदार कम्पनीले ब्लक खरिद गरिसकेको उनले जनाए ।

३ वर्षभित्र रारामा साइकल लेन निर्माण गर्ने भन्दै प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा डीपीआर तयार गरेको थियो । तर अघिल्ला दुई वर्षको सबै रकम फ्रिज गएपछि यो वर्ष मात्र काम भएको हो । राराताल वरिपरि १३ किमि लम्बाइ र ३ मिटर चौडाइको साइकल लेन निर्माण गर्ने गरी डीपीआर निर्माण गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १३ किमि साइकल लेन बनाउन ४२ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको