२० जेष्ठ २०८०, शनिबार

डाक्साव् मलाई मर्न दिनुस् !



डाक्साव् मलाई मर्न दिनुस्
३ वटा अस्पताल रेफर भएर
आज यहाँ आई पुगें
मलाई जसरी नी बचाउँछु भन्नु भो
होइन ! डाक्साव् मलाई मर्न दिनुस्
म त अहिले बचे पनि
पछि परिवारसँग मर्न पर्ला
भैगो, डाक्साव् मलाई मर्न दिनुस् !!!

यती हो मैले जुटा पैसा
बस् यसले १ सिलिन्डर अक्सिजन त आउला
मै ५५ बर्षे बुढोलाई
बाँच्छौ त भनिदिनु भो
म बाँचे पनि
नाति नतिनाको सपना बेचेर त बाँचुला
होइन ! डाक्साव् मलाई मर्न दिनुस् !!!
जे बाँकी छ
त्यसले मेरी जहान, छोरा–बुहारी र नाति–नातिना बाँच्छन्
म मरेर ति सबै बाँच्छन् भने
भैगो, डाक्साव् मलाई मर्न दिनुस् !!!

तपाईंको लागि
मेरो बुढो ज्यान पनि सर्वप्रिय रैछ
यति था पाउनु नै मेरा लागि धेरै भो
भेन्टिलेटर भन्ने नि हुँदो रैछ
सुन्न त सुनेथें
आज देख्न पाउनु मेरा लागि धेरै भो
हो ! डाक्साव् मलाई मर्न दिनुुस्
सबैका सपना लाचार पारी
मै निन्द्रा नलाग्ने बुढोले
बाँचेर के सपना देखुँला र
भैगो, डाक्साव् मलाई मर्न दिनुस् !!!

(शाही नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा चितवन मेडिकल कलेज भरतपुरमा एम.बि.बि.एस् पाँचौं वर्षमा अध्ययनरत् छन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको