सल्यानको कपुरकोट गाउँपालिकाले १४ सय महिलालाई पौने १७ लाख नगद र पोषण प्याकेज प्रदान
२४ असार, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले १ हजार ३ सय ९८ जना गर्भवती तथा दुई वर्षसम्मका बच्चाका आमाहरुलाई पोषिलो खानेकुरा किन्न पौने १७ लाख बढी रकम वितरण गरेको छ । सुनौलो हजार दिनका महिलाहरुलाई पोषिलो खानेकुरा किनेर खानका लागि १६ लाख ७७ हजार ६०० रुपैयाँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, पौष्टिक खाद्यतत्वसहितको झोला वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जनाए ।
बच्चाको ८० प्रतिशत वृद्धि विकास गर्भावस्थादेखि दुई वर्षका बीचमा हुने हुँदा सो समयका महिला तथा बालवालिकाको सन्तुलित भोजनको लागि रकम वितरण गरिएको उनले जनाए । गाउँपालिकाबाट ६ वटै वडाहरुमा कर्मचारी खटाएर अण्डा तथा माछामासु किनेर खानका लागि जनही एक हजार र गेडागुडी किनेर खानका लागि जनही दुई सय रुपैयाँ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिए ।
कपुरकोट ३ मा विहिबार पोषिलो झोला वितरण गर्दै गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा टेवा पु¥याउने गरी योजना निर्माण गरेर गाउँपालिकाले विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको बताए । उनले घरमै उत्पादन हुने पौष्टिक तत्वको अधिकतम प्रयोग गर्न आग्रह गरे । गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले सुनौलो हजार दिन अन्तर्गत खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण नदेखियोस् भन्ने हेतुले गाउँपालिकाले पोषण क्षेत्रमा लगानि गरिरहेको बताइन् ।
कपुरकोटका ६ वटै वडाका सुनौलो हजार दिनका महिलाहरुलाई २ किलोको पौष्टीक खाद्यतत्वको झोला वितरण गरिएको हो । पोषण अभावमा जोखिममा पर्न सक्ने भन्दै गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै सुनौलो हजार दिनभित्रका महिला तथा बालबालिकाहरुलाई पोषण प्याकेज उपलब्ध गराएको हो । छुटेकाहरुलाई गाउँपालिकामा सम्पर्क गरेर नगद तथा पौष्टिक झोला लैजान गाउँपालिकाले अनुरोध पनि गरेको छ ।
गर्भ रहेदेखि दुई वर्षसम्ममा एक हजार दिन हुने हँुदा नै सो अवधिलाई सुनौला एक हजार दिन भनिएको र यही समयलाई सुनौलो बनाउन सकियो भने भोलिका दिनमा सुनौलो कर्णधार तयार हुने स्वास्थय शाखाका सि.अ.हे.व सुवाश हमालले बताए । सुनौला कर्णधार तयार गर्ने जिम्मा भनेको आमाको मात्र नभई बाबु र घरपरिवार सबैको रहेको भन्दै उनले यसमा समाजका हरेक सचेत नागरिकले साथ, सहयोग गर्नुपर्नेमा जोड दिए ।