कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा
एजेन्सी । अर्जेन्टिना जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । खेलको सातौं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । कोलम्बियाका लागि खेलको ६१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै खेललाई बराबरीमा पुर्याए, तर त्यसपछि दुबै टिमले गोल गर्न सकेनन् ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । अर्जेन्टिनाका लागि चार खेलाडीले पेनाल्टी प्रहार गर्दा ३ खेलाडीले गोल गरे । अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियोनार्दो डेनियल पेरेडेसले गोल गर्दा रोड्रिगो डी पाउल गोल गर्न चुके ।
उता कोलम्बियाले पाँच पेनाल्टी प्रहार गर्दा दुई प्रहार मात्र गोल भयो तीनवटा प्रहार अर्जेन्टिनाका गोल रक्षक मार्टिनेजले रोकेका थिए । फाइनल प्रवेशसँगै अर्जेन्टिनाले अब उपाधिका लागि ब्राजिलसँग खेल्नेछ ।