कर्णालीका चार एमाले सांसदको पुनर्बहालीविरुद्ध ‘भ्याकेट निवेदन’ सर्वोच्चको पेसीमा
२३ असार, काठमाडौं । कर्णाली प्रदेशसभाका चारजना एमाले सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यन्वयन नगर्ने सर्वोच्चको अन्तरिम आदेश खारेजी माग गर्दै अध्यक्ष केपी शर्मा ओली र प्रदेशसभा सचिवालयले दिएको भ्याकेटको निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।
यो भ्याकेट निवेदनको पेसी न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा चढाइएको छ । एमालेका चारजना सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीले दलको ह्वीप उल्लंघन गरेर माओवादी नेतृत्वको सरकारलाई साथ दिएपछि पार्टीले उनीहरुमाथि कारवाही गरेको थियो ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको उक्त कारवाहीका आधारमा प्रदेशसभा सचिवालयले उनीहरु चारैजनालाई पदमुक्त गरेको थियो । चारमध्ये बुढा, थापा र शाही अहिले कर्णाली सरकारमा मन्त्री छन् ।
पदमुक्त सांसदहरुलाई न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुनर्बहाली गरिदिएको थियो । केन्द्रीय कमिटीबाट नभइ दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको भन्दै सर्वोच्चबाट जारी अन्तरिम आदेशविरुद्ध एमाले भ्याकेटमा गएको थियो ।