६ आश्विन २०७८, बुधबार

कर्णालीको विकास खर्च २४ प्रतिशत



२३ असार, सुर्खेत । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म कर्णालीको पुँजीगत खर्च २४.४६ प्रतिशत मात्रै भएको छ । चालू आवमा ३३ अर्ब ७४ करोड बजेट छुट्याएको प्रदेश सरकारले ११ महिनामा ९ अर्ब ७ करोड खर्च गरेको हो ।

जेठ महिनासम्म २६.९१ प्रतिशत मात्र कुल खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयकी सूचना अधिकारी यमुना श्रेष्ठले जानकारी दिइन् । ‘चालू आर्थिक वर्षमा भुक्तानी हुनेक्रम जारी छ,’ उनले भनिन्, ‘अहिलेसम्म कति खर्च भयो, यकिन तथ्यांक निकालेका छैनौँ ।’

कर्णाली प्रदेशले अर्थिक वर्ष ०७४/७५ मा कुल विनियोजित बजेटको ७.४२ प्रतिशत खर्च गरेको थियो । त्यस्तै, आर्थिक वर्ष ०७५/७६ मा २८ अर्ब २८ करोड बजेटमध्ये ३४ प्रतिशत खर्च भएको थियो । गत आर्थिक वर्ष ०७६/७७ मा ३४ अर्ब ३५ करोडको बजेटमध्ये ४७.६५ प्रतिशत खर्च गरेको थियो । विगतका वर्षहरूभन्दा चालू आर्थिक वर्षमा विकास खर्च बढेर ५० प्रतिशत हुने आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बताए ।

‘विगतमा कोरोना महामारी, कर्मचारी अभाव, कानुनी जटिलताका कारणले विकास खर्च न्यून भएको हो,’ उनले भने, ‘चालू आर्थिक वर्षमा महामारीले विकास निर्माणमा असर गरे पनि ५० प्रतिशत विकास खर्च हुने अनुमान गरेका छौँ ।’

प्रदेश सरकारले कानुनी जटिलता, महामारी तथा अन्य जुनसुकै कुरा देखाए पनि काम गर्न नसक्ने क्षेत्रमा बजेट विनियोजन गर्ने गरेको हुँदा विकास खर्च न्यून हुने गरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडिन पीताम्बर ढकालले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको