दैलेखमा प्रचलित देवभाषा

ओम रिजाल
२३ असार २०७८, बुधबार
विषय प्रवेश
दैलेख नेपाली भाषा र संस्कृतिको उद्गम थलो हो । नेपाली भाषाको पहिलो शिलालेखको रूपमा वि.सं. १०३८ को दामुपालको शिलालेख दैलेखको दुल्लुमा अवस्थित छ । दैलेखमा अवस्थित प्रसिद्ध पञ्चकोशी तीर्थस्थलका विभिन्न देवालयमा रहेको शिलालेखहरूले समेत दैलेखलाई नेपाली भाषाको मूल थलो हो भन्ने तथ्यलाई प्रमाणित गरेका छन् । पादुकास्थानमा अवस्थित साउना कार्की साउना कक्र्यानीको अभिलेख जस्ता सम्पदाहरूले समेत दैलेखलाई नेपाली भाषाको ऐतिहासिक थलोको रूपमा उभ्याएका छन् ।
धामीको शरीरमा देवताको प्रवेश पछि धामीले प्रयोग गर्ने भाषाले समेत दैलेखी भाषिकाका साथै समग्र नेपाली भाषालाई समेत समृद्ध पारेतापनि दैलेखमा प्रचलित देवभाषाको कतैबाट अध्ययन अनुसंधान नहुनु र आधुनिकताको नाममा स्थानीय स्तरमा समेत संरक्षण र सम्बद्र्धन नहुनुु जस्ता कारणले वर्तमानमा दैलेखमा प्रचलित देवभाषा लोपको संघारमा पुगेको छ ।
दैलेखका बस्तीहरूमा आस्थाका देवताको रूपमा मष्टा, जगनाथ महावै, तियाडी, भैरम, बण्डाली जस्ता अनेकौं देवताहरूको पूजा गर्ने प्रचलन सदियौंदेखि चल्दै आएको पाइन्छ । दैलेखीहरूका आस्थाका देवताहरूले धामीको माध्यमबाट दैलेखी जनको रक्षा गर्ने विश्वास दैलेखीहरूको हृदयमा प्रगाढ रूपमा रहेको पाइन्छ । धामीको शरीरमा देवताको प्रवेश पछि धामीले प्रयोग गर्ने भाषाले समेत दैलेखी भाषिकाका साथै समग्र नेपाली भाषालाई समेत समृद्ध पारेतापनि दैलेखमा प्रचलित देवभाषाको कतैबाट अध्ययन अनुसंधान नहुनु र आधुनिकताको नाममा स्थानीय स्तरमा समेत संरक्षण र सम्बद्र्धन नहुनुु जस्ता कारणले वर्तमानमा दैलेखमा प्रचलित देवभाषा लोपको संघारमा पुगेको छ । अतः प्रस्तुत आलेखमा दैलेखमा प्रचलित देवभाषाको संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

दैलेखमा प्रचलित देवपूजन विधि
आस्थाका देवताहरूको पूजा विधि वास्तवमै समावेशी प्रकृतिको छ । यहाँ बाहुन, क्षत्री, कामी, दमाई, सार्की आदि जातिहरू एउटै ठाउँमा सँगै बसेर पूजा गर्ने गर्दछन् । कतै कतै त बाहुन र कामी धामी सँगै पतुरिने चलनले जातीय सद्भावको झल्को दिन्छ । यसका साथै छोरी चेलीहरू तथा भाञ्जा भाञ्जीहरूले समेत एउटै स्थानमा पूजा गर्ने चलनले पारिवारिक सद्भावलाई बढावा दिएको छ ।
दैलेखमा प्रायः देवताहरूलाई कुल देवताको रूपमा पूजा गर्ने प्रचलन रहेको छ । आस्थाका देवताहरूको पूजा विधि वास्तवमै समावेशी प्रकृतिको छ । यहाँ बाहुन, क्षत्री, कामी, दमाई, सार्की आदि जातिहरू एउटै ठाउँमा सँगै बसेर पूजा गर्ने गर्दछन् । कतै कतै त बाहुन र कामी धामी सँगै पतुरिने चलनले जातीय सद्भावको झल्को दिन्छ । यसका साथै छोरी चेलीहरू तथा भाञ्जा भाञ्जीहरूले समेत एउटै स्थानमा पूजा गर्ने चलनले पारिवारिक सद्भावलाई बढावा दिएको छ ।
दैलेखका फरकफरक बस्तीहरूमा फरकफरक देवताहरूको पूजा गर्ने प्रचलन छ । दैलेखमा वैशाख पूर्णिमा , मंसिर पूर्णिमा र श्रावण पूर्णिमाका साथै बडा दशैं र चैते दशैंमा समेत देवताहरूको भव्य पूजा गर्ने प्रचलन रहेको छ । देवता पूज्ने दिनको अगिल्लो राति सबै गाउँलेहरू देवताको थानमा जम्मा भई जाग्राम बस्ने चलन रहेको छ । यसरी रातभर जाग्राम बस्ने कार्यलाई खडराती गर्ने भनिन्छ । खडराती गर्दा नारीहरूले देवताका मागल गाउने गर्दछन् । राती धामी पतुरेर विभिन्न विषयमा हेराउन गर्ने चलन रहेको छ । खडरातीको रात प्रायः देवताका थानमा जात्रा लाग्दछ ।
रातभर खडराती गरेर बिहान उज्यालो भएपछि गाउँलेहरू आ–आफ्नो घरमा फर्केर धारामा गई नुहाई शुद्ध मनले देवताका लागि चामल पिठो ध्वजा फूल, दूध आदि छुट्याउँछन् । कसैकसैले देवताको पूजाको लागि बोकाको समेत व्यवस्था गर्दछन् । बिहानको खाना खाईसकेपछि गाउँका प्रत्येक घरबाट देवताका लागि छुट्याईएका सामाग्रीहरू सहित गाउ“लेहरू देवताका थानमा जम्मा हुन्छन् । त्यसपछि पुनः धामी पतुर्ने कार्य गरिन्छ । धामी पतुर्दा दमाईहरूले दमाहा, सहनाई, नरसिंगा आदि बजाउँछन् भने ब्रामह्णबाट होम तथा अभिषेक गर्ने गरिन्छ । धामी पतुर्ने कार्यको अन्त्यतिर पुजाका लागि लगिएका बोकाहरूको बलि दिने चलन रहेको छ ।
बलिदिने बोकाहरूमा चेलीले पहिलो छोरा जन्मिएको खुशीमा ल्याएको बोकालाई पुतबाडो, आफ्नो ईच्छाले चढाएको बोकालाई इच्छादार, तीन वर्षको करको रूपमा चढाएको बोकालाई तीयावर्षी र देवता लागेर ल्याएको बोकालाई लागिभागि भन्ने गरिन्छ । यसरी सयौं बोकाको बली पछि उपस्थित मानिसहरूलाई प्रसादको रूपमा बोकाको टाउको, फिला वा अन्य मासु दिने चलन छ भने थानमा पकाइएको खीर र पुरीलाई त्यही नै बाँडेर खाने चलन रहेको छ ।
पडेली
धामी बस्ता आफ्नो शरीरमा देवता प्रवेश गरेपछि धामीले त्यो देवताको ऐतिहासिक पृष्ठभूमि क्रमिक रूपमा गीतका माध्यमबाट प्रस्तुत गर्ने कार्यलाई दैलेखमा पडेली पड्न्या भनिन्छ । पडेली प्रत्येक देवताको फरक–फरक हुन्छ । महावै जगन्नाथ, मष्टा, अधिकारी, भैरव, बण्डाली आदि देवताका धामीहरू त्यस ठाउँमा आफ्नो उत्पतिको कारण, आफूले भोग्नुपरेका दुःख, कष्ट, मानिसहरूलाई अकाल अनिष्टबाट बचाएका घटनाहरू आदि देवताका प्रतिनिधिका रूपमा जनतासामु ओकल्ने गर्दछन् । पडेलीलाई देववाणी पनि भनिन्छ । दैलेख जिल्लामा प्रचलित महाबै देवताको पडेलीको सानो अंश यस प्रकार छ:
हाहाहाहाहा ए आज हेर आज लाटो बाठो भई
हाहाहाहाहा चालीस अध्याय वेद पढी
हाहाहाहाहा हावातारले सिध्यायाकी बेला
हाहाहाहाहा ए पाँच पालिऔ हुन्या नहुन्या भया
हाहाहाहाहा नहुन्या हुन्या भया
हँहँहँहँ अल्का लाग्या नीचा पिड्न्या
हँहँहँहँ नीचा लाग्या अल्का पिड्न्या
हँहँहँहँ गोठ राख्या करेसा पिड्न्या
हँहँहँहँ करेसा राख्या गोठ पिड्न्या
हँहँहँहँ बाबुछोरा लडाउन्या
हँहँहँहँ ओखलमुसल जुजाउन्या
हँहँहँहँ आफ्नो पुख्र्यौली अन्र्या
हँहँहँहँ आफ्नो धीतो
हँहँहँहँ आफ्नो धरम छोडी
हँहँहँहँ कद्दुका पातदेइ
हँहँहँहँ सालका पातसरि
हँहँहँहँ दुल्लू डाँडा रमाइलो मान्या
हँहँहँहँ चिमा सन्ताइनो गुनिया गादो
हँहँहँहँ रुन्च्या सन्ताइनो ठिटुवा भोटो
हँहँहँहँ दुल्लू डाँडो भङ्गै छ
हँहँहँहँ एक लडी एक थरी अर्यौ
हँ हँहँहँ उही दुल्लू डाँडो उही देउमा चेली
हँ हँहँहँ जोत्याका बल्ल जोत्याइ
हँ हँहँहँ कजाएको बीउ कजायाकै
हँ हँहँहँ हलका गोरु हलै
हँ हँहँहँ सायाका आवत सायै
हँ हँहँहँ काट्याका भुरुली काट्यै
हँ हँहँहँ आठै वर्षकी प्रसूती
हँ हँहँहँ बाह्रै वर्षकी गर्भिणी
हँ हँहँहँ बाङ्गया लट्ठी टेक्न्या हुँ
हँ हँहँहँ सिङ्गो रोटी खान्या हुँ
हँ हँहँहँ पूर्वपश्चिम महाकालीदेखि
हँ हँहँहँ चार किल्ला बाँधी
हँ हँहँहँ भोटकी चौरी
हँ हँहँहँ मदेसकी गौरी
हँ हँहँहँ पकारौनो उल्कया हौ
हँ हँहँहँ सय राशी जम्मा अर्या हौं
हँ हँहँहँ गाल्ज्याउनो एक सरो तनियाउनो
हँ हँहँहँ पिङ खेल्या हौं
हँ हँहँहँ बोरामा हाली गाल्ज्याउनो फाल्दाखेरी
हँ हँहँहँ उ“धोबाट उँभो बग्दाखेरी
हँ हँहँहँ माथिबाट हालखबर बुझ्दा
हँ हँहँहँ तली पात्यासिउडीका सला हाली
हँ हँहँहँ मुथि गाद्दि हाली
हँ हँहँहँ छुइन्यारी कोठाउनो बसाल्दा
हँ हँहँहँ सिंहदरबार कराए लाइने बेला
हँ हँहँहँ गुट गुट्याइलो छाप छप्याइलो
हँ हँहँहँ हइबाट बन्यो र आउनाखेरी
हँ हँहँहँ यही डाँडामनि क्या छ भनी
हँ हँहँहँ उड्न्या त्यही बाटो सोझै जान्छु भन्दा
हँ हँहँहँ उड्न्या पनि खसेर पड्या
हँ हँहँहँ त्यस्ता मेरा शक्ति ।
हँ हँहँहँ अहिले अहिले अहिले
हँ हँहँहँ जस्ता तम्रा बचन हुन लाग्या
हँ हँहँहँ वायु पनि त्यस्तै हुन लाग्या ।
(यो महावैको पडेली हो । यस पडेलीमा धामीले आफूले चालीस अध्याय वेद हावा चलेसरि पढेर सिध्याएको इतिहास उल्लेख गरेको छ । आफ्नो शक्तिले सबै जनताको देखभाल गरेको देवताको शक्ति वर्तमान समयमा जनताका आनीबानीमा आएको परिवर्तनका कारण कमजोर भएको कुरा यस पडेलीको अंशमा धामीले गुनासोको रूपमा व्यक्त गरेको छ ।
देवभाषा
धामीको शरीरमा देवताको प्रवेश भएपछि धामीले हेराउन गर्ने क्रममा विभिन्न शब्दहरूको प्रयोग गर्दछन् । ती शब्दहरू मध्ये केही शब्दहरूलाई तल प्रस्तुत गरिएको छ ः
शब्द अर्थ
पाली देउता पुज्ने गाउँलेहरू
पालीऔ पालीहरू
कारबार्या पुजारी
डाङ्र्या धामी
कैलु गाई
लामसिङ्गे भैंसी
तनिया धागो/धजा
चिल्तो बोको
धुइर्या दमाई
सिउँदी पालिकी स्वास्नी
दुदको जावन छोरीको छोरो
कालो ठोक्रो स्वास्नी मान्छे
चारवियाँ अछेता
पुर्साे पुरूष
डोरो खोलो
हिल्यायो खेत
धुल्यायो पाखो
लोहापातो पन्यु
ठिन्क्या घण्ट
कन्र्या छोरी/चेली
झोपो घर
देउरो थान
चोच्या सुँगुर
आगत अछेता
बारो पूजा गर्ने घर
पहेलो वस्तु सुन
भुक्न्या कुकुर
ढुक्न्या चरो
बाहन देवताको सहयोगी
करी कर लागेको मान्छे
उखान/टुक्काहरू
धामी पतुर्दा धामीले विभिन्न उखान/टुक्काहरूकोे प्रयोग गर्दछन् । केही उखान/टुक्काहरू तल प्रस्तुत गरिएको छ ः
– काख चेलो हात छेलो (काखमा छोरो हातमा बोको)
– तैंले जानिनी मैले जान्यान पड्यो समबा¥या आउसी (तलाई र मलाई थाहा नहुँदा पनि सोमबारे औंसी प¥यो)
– आउन मुख लाज जान पिठिया लाज (आउँदा मुख देखाउन लाज फर्कंदा पिठ्यु देखाउन लाज)
– माउलीका मुखती कुलको बयान (मामाको अगाडी कुलको बयान)
– छोरीको चेलो काङ्ग्राको बेलो (छोरीको छोरो काक्राको झ्याङ )
– जेठो छोड्यान कान्छो रोज्यान (जेठो छोडेर कान्छो रोजेन)
– बोको छोडी पाठी रोज्जैन (बोका छोडेर पाठी रोज्दैन)
– म जिउनै पोत्थीरौंन चोर (म बिउँझै छु मेरो पछि चोर छ ।)
– हात न गाठी का जान आँटी (हातमा केही छैन कता जाने हो ?)
– म पड्या मितज्यूका भर मितज्यू पड्या लौडा ऽ भर (म मितका भरमा परें मित लौरीका भरमा परे ।)
– माग्या राज पाईछ चो¥या लात पाईछ ।
– रस खाएर जस दिन्या
– रह्याको रक्ष्ाँ गयाको खोजी अन्र्या (बाँचेको रक्षा र हराएको खोजी गर्न)
– तेरो रोजी मेरो छोडी
– हड्डा बाट पछि लाग्या (हिँड्दा हिँड्दै पछाडी लाग्ने)
– चाक्री अन्सार बाख्री धाया अन्सार फल (चाकडी अनुसारको बाख्री र मिहिनेत अनुसारको फल)
– नाख मुस्यायो लाग्नु (दोष लगाइनु)
– आइकँन फाँसो हुनु (अप्ठ्यारो पर्नु)
– पाल्तो फाल्नु (खरानीका डल्ला कुखुराको चल्लो खिचडी आदि लिएर फाल्ने कार्य गर्नु)
– डाङ्र्या डकाउनु (धामी कपाउनु)
– चारदाना बक्नु (अछेता खानु)
– पातिको पात धाईनु (औषधी गर्नु)
निष्कर्ष
दैलेखमा प्रचलित देवभाषाको सामाजिक, सांस्कृतिक र भाषिक महत्व हँुदाहुँदै पनि वर्तमान समयमा आयातीत सभ्यता र संस्कृतिको मारमा देवभाषा र संस्कृति समेत परेको छ । यसको संरक्षण र सम्वद्र्धन गर्न सकिएन भने नेपाली लोकवार्ताको एक महत्वपूर्ण खजाना सधैँका लागि हामीबाट लोप हुने भएकोले यसको संरक्षण गर्नु वर्तमानको चुनौतीको रूपमा रहेको छ ।
दैलेखमा प्रचलित देवभाषाको सामाजिक, सांस्कृतिक र भाषिक महत्व हँुदाहुँदै पनि वर्तमान समयमा आयातीत सभ्यता र संस्कृतिको मारमा देवभाषा र संस्कृति समेत परेको छ । यसको संरक्षण र सम्वद्र्धन गर्न सकिएन भने नेपाली लोकवार्ताको एक महत्वपूर्ण खजाना सधैँका लागि हामीबाट लोप हुने भएकोले यसको संरक्षण गर्नु वर्तमानको चुनौतीको रूपमा रहेको छ ।
सन्दर्भ सामग्रीः
उपाध्याय, बालाराम । २०५८ । नेपाली साहित्यमा दैलेखको योगदान । काठमाडौंः श्रीमति पुष्पादेवी उपाध्याय ।
गिरी, मधुसूदन । २०४९ । पादुकाका न्याउल्या गीतहरूको अध्ययन र विश्लेषण । कीर्तिपुरः अ.प्र. स्नातकोत्तर तहको भिलेज प्रोफाइल, राष्ट्रिय विकास सेवा, त्रि.वि.वि. ।
तिमिल्सेना, नारायणप्रसाद । २०६३ । दैलेख जिल्लामा प्रचलित मागलगीतको सङ्कलन, वर्गीकरण र विश्लेषण । कीर्तिपुरः अ.प्र. स्नातकोत्तर तहको शोधपत्र त्रि.वि.वि. ।
नेपाल, पूर्णप्रकाश । २०४१ । भेरी लोकसाहित्य । काठमाडौंः ने.प्र.प्र. ।
पोखरेल, टीकाप्रसाद । २०५५ । बडलम्जी गा.वि.स. मा प्रचलित लोकगीतको अध्ययन । कीर्तिपुरः अ.प्र. स्नातकोत्तर तहको भिलेज प्रोफाइल, राष्ट्रिय विकास सेवा, त्रि.वि.वि. ।
रिजाल, ओम । २०७१ । दुल्लु क्षेत्रमा प्रचलित राइसुवा गीत । नेपाली लोकवार्ता चौथो राष्ट्रिय सङ्गोष्ठीमा प्रस्तुत गोष्ठीपत्र ।
रिजाल लोक साहित्य सर्जक तथा नेपाल सरकारको उप–सचिव हुन् ।