भारतमा दाइजो दिने अभ्यास पाँच दशकदेखि आश्चर्यजनक रूपमा उस्तै
बिबिसी । विश्व ब्याङ्कको एउटा अध्ययनले भारतीय गाउँहरूमा दाइजो स्वरूप दिइने रकम विगतका केही दशकमा धेरै हदसम्म उस्तै रहेको देखिएको बताएको छ ।
अनुसन्धानकर्ताहरूले सन् १९६० देखि सन् २००८ सम्म भारतीय गाउँहरूमा भएका ४० हजार विवाहको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् ।
भारतमा सन् १९६१ यता विवाहमा दाइजो दिने विषय गैर कानुनी रहँदै आए पनि अध्ययनले ९५ प्रतिशतभन्दा बढी विवाहमा दाइजो दिने गरिएको पत्ता लगाएको छ ।
दाइजोलाई सामाजिक कुरीतिका रूपमा व्याख्या गरिने भए पनि यसको अभ्यास जारी नै रहेको छ र यसले महिलाहरूलाई घरेलु हिंसा र कहिलेकाहीँ मृत्यु नै हुनेसम्मको जोखिममा राखेको छ ।
दक्षिण एसियामा दाइजो दिने र लिने परम्परा शताब्दी पुरानो हो जहाँ दुलहीका आमाबुवाले दुलहाका परिवारलाई पैसा, लुगाफाटो र गहना दिने गर्छन् ।
यो अध्ययन भारतको ९६ प्रतिशत जनसङ्ख्या समेट्ने १७ वटा राज्यहरूको विवरणमा आधारित छ । यसले ग्रामीण भारतलाई केन्द्रित गरेको छ किनभने भारतमा ठूलो सङ्ख्या गाउँमै बस्छन् ।
अर्थविद् एस अनुकीर्ति, निश्हिथ प्रकाश र सुन्घो क्वोनले विवाहको समयमा दिइने उपहारको मूल्यसम्बन्धी जानकारी प्रयोग गरेका थिए ।
उनीहरूले ‘कुल दाइजो’ दुलहीका परिवारले दुलाहाको परिवारलाई दिएको उपहार र दुलहाको परिवारले दुलहीको परिवारलाई दिएको उपहारको मूल्य घटाएर निकालेका हुन् ।
एकदमै कम विवाहमा मात्रै दुलहाको परिवारले दुलहीको परिवारलाई धेरै रकम दिएको पाइएको छ ।
अध्ययनले दुलहाको परिवारले औसतमा करिब ५,००० भारतीय रुपैयाँ बराबरको उपहारहरू दुलहीको परिवारका लागि दिएको देखाएको छ ।
दुलहीको परिवारले भने करिब सात गुणा अर्थात् सरदर ३२ हजार भारतीय रुपैयाँ खर्च गर्ने देखिएको छ ।
दाइजो दिनका लागि ठूलो रकम घरको बचत वा आयको प्रयोग हुन्छस् सन् २००७ मा ग्रामीण भारतमा घरको वार्षिक आयको औसतमा १४ प्रतिशत दाइजोका लागि प्रयोग हुन्थ्यो ।
विश्व ब्याङ्कको अनुसन्धान समूहकी अर्थविद् डाक्टर अनुकीर्तिले भनिन्, ‘भारतमा औसतमा ग्रामीण आय बढेका कारण दाइजोको मूल्य आयका हिसाबले समयसँगै घटेको छ ।’
‘तर यो केवल औसत दाबी हो । घरको आयसँग दाइजोको तुलना कस्तो छ भन्नका लागि प्रत्येक घरको आय हेर्नुपर्छ र त्यसका लागि घरको आय र खर्चको तथ्याङ्क आवश्यक पर्छ । तर हामीसँग त्यस्तो तथ्याङ्क उपलब्ध छैन,’ उनले भनिन् ।
दुलाहा वा दुलही खोज्न अभिभावकहरूले ठूलो भूमिका खेल्छन् । सन् १९६० देखि २००५ सम्म भएका ९० प्रतिशतभन्दा बढी विवाहमा अभिभावकले विवाहका लागि जोडी खोजिदिन्छन् ।
९० प्रतिशतभन्दा बढी जोडी विवाहपछि श्रीमान्को परिवारसँग बस्छन्
८५ प्रतिशतभन्दा बढी महिलाहरू आफू बस्ने गाउँबाहिरको मानिससँग विवाह गर्छन्
७८.३ प्रतिशत विवाह भने उही जिल्लाभित्र हुन्छ
स्रोतस् म्यारिज मार्केट्स् र राइज अफ डावरी इन इन्डिया
सन् २००८ देखि अहिलेसम्म भारतमा धेरै परिवर्तन भइसकेको छ। तर अनुसन्धानकर्ताहरू भने दाइजो दिने अभ्यासमा त्यति धेरै परिवर्तन आउने नदेखिएको बताउँछन् । ‘कुनै नाटकीय परिवर्तन वा विवाह बजार, कानुन, महिला पुरुषको सम्पत्ति र महिलाको श्रम बजारको परिणाम’ बिना त्यस्तो परिवर्तन नहुने देखिएको उनीहरूले बताएका हुन् ।
अध्ययनले भारतका सबै मुख्य धार्मिक समूहमा दाइजो प्रचलित रहेको पत्ता लगाएको छ । रोचक के छ भने इसाई र शिखहरूमा ‘दाइजो देखिने गरी बढेको छ’, जुन हिन्दू र मुस्लिमहरूको औसतभन्दा बढी छ ।
अर्को पत्ता लागेको रोचक कुरा चाहिँ समयसँगै राज्यहरूमा आएको उल्लेख्य परिवर्तन हो ।
दक्षिणी राज्य केरलाले सन् १९७० यता दाइजोमा लगातार वृद्धि भइरहेको र हालैका वर्षमा औसतमा सबैभन्दा उच्च भएको देखाएको छ । हरियाणा, पञ्जाब र गुजरात जस्ता अन्य राज्यमा पनि दाइजोमा वृद्धि भएको देखिएको छ । अर्को तर्फ उडिसा, तामिल नाडु, पश्चिम बङ्गाल र महाराष्ट्र राज्यमा भने दाइजो औसतमा घटेको देखिन्छ ।
‘यी भिन्नताबारे हामीसँग निश्चित जवाफहरू छैनन् । भविष्यमा गरिने अनुसन्धानले यो प्रश्नको जवाफ खोज्नेमा हामी आशावादी छौँ,’ डाक्टर अनुकृतिले भनिन् ।
ज्यानुअरीमा प्रकाशित अध्ययनमा अर्थविद् गौरव चिपलङ्कर र जेफरी विभरले गत एक शताब्दीको ७४ हजार विवाहका तथ्याङ्क प्रयोग गरेर भारतमा कसरी दाइजो प्रथा विकसित हुँदै आएको छ भन्ने बयान गरेका छन् ।
अनु्सन्धानकर्ताहरूले सन् १९३०देखि १९७५ सम्म दाइजो सहितका भारतीय विवाह दोबर भएको र दाइजोको वास्तविक मूल्य चाहिँ तेबर भएको पाए । तर सन् १७७५ यता दाइजोको सरदर मूल्य घटेको पाइयो ।
उनीहरूले १९५० देखि १९९९ सम्ममा भारतमा दिइएको दाइजोको मूल्य एक ट्रिलियन डलरको एक चौथाइ भएको अनुमान लगाएका छन् ।