२३ जेष्ठ २०८०, मंगलवार

विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त




२१ असार, सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापकलाई बर्खास्त गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका सुजन पन्तलाई बर्खास्त गरिएको हो ।
विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोपमा विश्वविद्यालयको इञ्जिनियरिङतर्फका स्नातकोत्तर कार्यक्रमका निर्देशक तथा उपप्राध्यापक यादवलाई बर्खास्त गरिएको हो भने पन्तले प्रश्नपत्र बाहिरिन सहयोगका कारणले बर्खास्त परेका हुन् ।
यादव स्थायी कर्मचारी हुन भने पन्त करार सेवामा रहेका थिए ।
यादवले आर्थिक प्रलोभनमा परी विद्यार्थीलाई आफुखुसी नम्बर दिएको पाईएकाले बर्खास्त गरिएको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बताए । ‘विद्यालयको शैक्षिक मर्यादाविपरीत क्रियाकलाप गरेको छानबिनबाट पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको छ ।’ उनले भने,‘विद्यार्थीको आन्तरिक मूल्याङ्कनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रुपमा नम्बर दिएको उजुरी परेको थियो । त्यसमा दोषी पाइएपछि बर्खास्त गरिएको हो ।’
उजुरी परेपछि छानबिन समितिले निर्देशक यादव र पन्तले आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्षसहित दोषी भएको पुष्टि गरेको विश्वविद्यालयले जनाएको छ ।
छानविन समितिले उपप्राध्यापक यादव र पन्त दोषी ठहर गरेको प्रतिवेदन उपकुलपति प्रा.डा. सिंहलाई केही दिन अघि बुझाएको थियो ।
प्रतिवेदनकै आधारमा उपप्राध्यापक यादव र पन्तलाई बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ ।
पन्तलाई यसभन्दा अघि तिन महिनाका लागि निलम्बन गरिएको यसपटक बर्खास्त नै गरिएको प्रा.डा. सिंहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको