पाँचपोखरी गाउँपालिकामा पेम्वा शेर्पा र दावा शेर्पाको पहलमा स्वास्थ्य उपकरण सहयोग
२१ असार, सिन्धुपाल्चोक । सेङ्दग सेवा समाजका कार्यालय सचिव दावा शेर्पा र नेपाली काँग्रेस सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिका उपसभापति पेम्वा ग्याल्जेन शेर्पाको पहलमा पाँचपोखरी गाउँपालिकामा ४ वटा अक्सिजन कन्सन्टेटर, पिपिई सेट, सेनिटाइजरलगयतका सामग्री वितरण गरिएको छ । यी उपकरणसहित अन्य स्वास्थ्य सामग्रीको मूल्य ४ लाखभन्दा बढि रहेको छ ।
स्वास्थ्य उपकरणसहित सामग्रीहरू धर्म गुरु ठंगु रेपोर्छे र कर्मा काग्यु एक्स–साङ्घाई एशोसिएशन नेपालले सहयोग स्वरूप उपलब्ध गराएको हो ।
पाँचपोखरी गाउँपालिका वडा नं. ८ का अध्यक्ष बिष्णुबहादुर खड्का, वडा सदस्यहरू र स्थानीय समाजसेवी नेपाली काँग्रेस लागर्चे इकाइ कोषाध्याक्ष मित्र चेतनाथ चालिसेको रोहबरमा कर्मा काग्यु एक्स–साङ्घाई एशोसिएशन नेपालका अध्यक्ष टेनी लामा र उनकाे टिमले लागर्चेमा रहेको २ वटा स्वास्थ्य चौकीमा हस्तारणन्तरण गरेका हुन् ।
अब लागर्चेमा अक्सिजनको कुनै कमी नहुने विश्वास लिएको र अब अक्सिजनका लागि वडाबासीले अन्य ठाउँमा उपचारको लागि धाउनु नपर्ने सम्पर्क समितिका उप–सभापति पेम्बा शेर्पा बताए । उनले अध्यक्ष टेनी लामाको टिमलाई वडाबासीको तर्फबाट र आफ्नो तर्फबाट धन्यवाद समेत दिए ।
मन्तव्य राख्दै वार्ड अध्यक्ष बिष्णुबहादुर खड्काले यो सहयोग लागर्चे जनताले कहिले नभुल्ने उल्लेख गरे । उनले पेम्बा ग्याल्जेन शेर्पाले कोभिड–१९ महामारिको बेला अक्सिजन कन्सन्टेटर वडाबासीको लागि अत्यन्तै उपयोगी हुने र वार्डको जनताको लागि आफुले सक्ने हर किसिमको पहल कदमी गर्न प्रतिवद्ध रहेको बताए ।
सहयोगदाता कर्मा काग्यु एक्स–साङ्घाई एशोसिएशन नेपाल अध्यक्ष टेनी लामाले आगामी दिनमा पनि आवश्यक थप सहयोग गर्ने वचनबद्धता पनि गरेका छन् ।