पुरानो चुरा
लामो समयको अन्तराल पछि ऊ आफ्नो गाउँ जाँदै थिइ । गाउँसँगको खुशी, हावासँगको चञ्चलता अनि अनगिन्ती यादहरू बोकेर बसन्तसँग बसन्तको वहावमा उडेर ऊ गाउँ जादै थिइ । उसले बाटोमा यति धेरै कुराहरू सोचिसकी कि गाउँमा यो गर्छु त्यो गर्छु कति कति …. जसै जसै ऊ गाउँको नजिक नजिक पुग्दै जान्थी उसै उसै उसलाई आफ्नो बालपन याद आउँदै जान्थ्यो । धारामा साना साना केटाकेटीको ताँती देख्दा उसलाई साथीहरुसँग कम्मरमा पानी बोक्दै गुनगुनाउँदै हिँडेको याद आइहाल्थ्यो । वनजङ्गलमा बाख्रा चराउँदै, काफल टिप्दै गरेको ऊ खुब याद गर्थी । यस्तो लाग्थ्यो ऊ यादहरुसँगै आफ्नो बालापनका ती सुन्दर दिनहरूमा पुग्दै थिइ ।
हिजोआज गाउँमा केटाकेटीहरू साथिसँगीसँग भन्दा पनि बढी मोबाइलसँग रमाउन थालेका रहेछन् । यो सब देख्दा ऊ धेरै दुखी भएकी भई ।
जसै ऊ गाउँ पुगी । गाउँमा त नयाँ बाटो बनेछ। पुरानो ढुङ्गे धारा नयाँ सिमेन्टको धारामा बदलिएछ । साथिसँगीसँग खेलेको वनजङ्गल कहाँ हो कहाँ पुगेछ । हिजोआज गाउँमा केटाकेटीहरू साथिसँगीसँग भन्दा पनि बढी मोबाइलसँग रमाउन थालेका रहेछन् । यो सब देख्दा ऊ धेरै दुखी भएकी भई ।
गाउँमा पहिलेको जस्तो गाउँलेपन कहाँ थियो र गाउँ त शहर बन्ने धुनमा व्यस्त थियो । गाउँको त्यो सादा र सरलपन अब कहाँ पाउनु । नयाँ पुस्तासँगै भित्रिदै गरेको विकृती बोकेको आधुनिकपन जसमा सबै व्यस्त देखिन्थे ।
आफ्नो पुरानो गाउँ त्यहाँको सभ्यता त मानौ उसको कल्पनामा मात्र बाँकी थियो । ऊ अलमलमा थिइ के यो उसको त्यही गाउँ हो जहाँ उसले आफ्नो जिन्दगीको सबैभन्दा सुन्दर समय बिताएकी थिई ?
उसले चिनेका मान्छे धेरै कम थिए गाउँमा । त्यसैले पनि ऊ गाउँका घरहरू हेरेर अलि पुरानो जस्तो लाग्ने घरमा केही दिनलाई बस्ने सोंच बोकेर पुगेकी थिई ।
घरमा बुढी आमा मात्र थिइन । उनका छोराछोरी धेरै पहिलो सहर हिडिसकेका रहेछन् । छोराछोरी, नातिनातिना भएर पनि ती बुढि आमा एक्लै भएको देख्दा उसलाई कस्तो कस्तो लाग्यो । अनि उसले केही दिन बुढी आमासँगै बस्ने सोच बनाई ।
उसको केही दिनको बसाई बुढी आमाको लागि निकै खुशी बनिरहेको थियो । ती बुढी आमाको आँखामा खुशी प्रष्ट नजर आउथ्यो । ऊ सोच्थी उसका हजुरबुबा, हजुरआमा उसलाई यी दिनहरूमा देखेको भए कति खुशी हुनुहुन्थ्यो होला । तर अब यो सम्भव कहाँ थियो र ! उसले आफ्नो सानै उमेरमा आफ्ना हजुरबाबा, हजुरआमा गुमाएकी थिए । हजुरबुबा हजुरआमा त अब उसका लागि मात्र रहर थिए । तर उसको केही दिनमा नै ती बुढिआमासँग गहिरो आत्मियता बसेको थियो । ती बुढिआमाको आँचलमा उसले आफूले खोजेको जस्तो सकुन भेटिरहेकी थिइ।
सहरको कोलाहल, घना मान्छेहरुको बस्ती दिन रातको कामबाट केही दिनलाई सकुनसहित बाँच्न ऊ शहरबाट बाहिरिएकी थिइ । उसले गाउँ छोडेको ठ्याक्कै कति समय भयो त्यो त उसलाई पनि थाहा छैन । आफ्नो स्कुले जीवन पूरा गरेर उच्च शिक्षा हासिल गर्न र सुन्दर भविस्य बनाउनको लागि ऊ शहर भित्रीएकी थिइ ।
शहर पनि त कहाँ सजिलो थियो र उसको लागि आफ्ना सारा रहरहरू एकातिर पन्छाएर दिनरात नभनी उसले मेहनत गरेकी थिइ । जिन्दगीको सफरमा जिन्दगीलाई दाउमा राखेर उसले आफ्नो आज निर्माण गरेकी थिइ ।
सङ्घर्षका ती कहालीलाग्दा दिनहरू आज सपना जस्ता लागे पनि ती साह्रै कठिन थिए । कति दिन उसले भोक प्यास केही नभनी दुःख गरी, कति दिन काम नपाएर कामको खोजीमा भौतारिइ । यी कुराको साक्षी त केवल समय मात्र छ ।
उसलाई महसुस भएको कुरा– एउटा उमेरमा पुगेपछि हरेक केटी मान्छेलाई धेरै सोधिने सवाल हो “बिहे कहिले गर्छौ ?” र उसले पनि उसका साथिहरूबाट चिनजानका आफन्तबाट यो सवालको सामना धेरै पटक गरेकी थिई । मान्छेहरू कति सजिल्यै यो सवाल उसलाई गरिदिन्थे तर उसलाई यसको जवाफ दिन साह्रै गाह्रो लाग्थ्यो । ऊ सोच्थी के उसले गरेको मिहेनत उसले गरेको सङ्घर्ष यहि सवालको सामना गर्नको लागि थियो त ।
मान्छेहरूलाई जोड्ने भनेको त दुःखले हैन र ! आत्मियता अनि आफ्नोपनले हैन र ! कहाँ पाई उसले आफ्नोपन कसले राख्यो उसको आत्मीयताको मान ।
बितेका तीस वर्षलाई फर्किएर हेर्दा उसलाई आफ्नो जिन्दगीमा कहि कतै कसैको कमी महशुस भएको जस्तो लागेन । महशुस भएपनी उसले कसको नै साथ पाउने थिई र ! अनि उसलाई लाग्थ्यो जो उसको दुःखमा साथ हुन सकेनन्, ती उसलाई उसको सुखमा के काम ? मान्छेहरूलाई जोड्ने भनेको त दुःखले हैन र ! आत्मियता अनि आफ्नोपनले हैन र ! कहाँ पाई उसले आफ्नोपन कसले राख्यो उसको आत्मीयताको मान ।
त्यसैले पनि यी दिनहरुमा विवाह उसको मस्तिष्कबाट टाढाको कुरा थियो । अब त ऊ त्यसको बारेमा सोच्न पनि चाहन्नथी ।
बितिसकेको समय फर्केर आउँदैन तर त्यसैलाई पुन महशुस गर्न सकिन्छ भनेर ऊ आफू जन्मिएको, आफू खेलेको, आफू पढेको गाउँ जाने सोंच बनाएर गाउँ झरेकी थिइ ।
गाउँ पुग्दा गाउँले काचुली फेरेको देखेर जति उसलाई खुशी लाग्यो त्यति नै आफ्नो बालपन बितेको ठाउँ उस्तै नपाउँदा उसलाई दुःख पनि लाग्यो ।
ऊ ती सबै सबै ठाउँ पुगी जहाँ जहाँ उसको बालपन बितेको थियो । खेल्ने चौतारी, डुल्ने डाँडापाखा, बाख्रा चराइने वनजङ्गल पढेको स्कुल। स्कुलको नाम उहीँ थियो बस उहीँ थिएन स्कुलको स्वरुप, स्कुलको ड्रेस पनि फेरिएको रहेछ । उसको त्यतिबेलाको ड्रेस त्यो सेतो सल, सेतो सुरुवाल अनि शिरिशको फूल रंगको कुर्ता खुब मिस गरी । उसलाई आज पनि याद छ पारिजातको शिरिषको फूल उपन्यास अनि त्यो रंगको कुर्ता । त्यो कुर्ता उसलाई खुब मन पर्थ्यो त्यसैले उसले त्यो कुर्तालाई निकै समयसम्म खुब सम्मालेर राखेकी थिई किनकि जब जब ऊ त्यो कुर्तालाई सुमसुमाउथी ऊ आफ्नो स्कुले जीवनमा पुग्थी र तिसँग जोडिएका यादमा घण्टौ रुमलिन्थी ।
ती बुढी आमाले उसलाई आफ्नो हातमा लगाई राखेको पुरानो चुरा उसको हातमा लगार्इ दिएर भनिन् – “यो मलाई मेरो आमाले दिएकी थिन अब मलाई यसको जरुरत छैन । यो तिमी आफ्नो हातमा लगाउनु यसलाई मेरो आशिर्वाद सम्झिनु ।” उसले आफ्नो आँसु रोक्नै सकिन ….
बिस्तारै गाउँमा उसको बसाइँ सकिदै थियो । ती बुढि आमालाई उसले आफूसँगै लैजान खुब चाहेकी थिइ तर ती आमा ऊसँग आउन मानिनन् । आखिर ती बुढी आमासँग भेटेको कति नै दिन भएको थियो र ! तर छुट्दा उनीहरू एकाअर्कालाई अँगालोमा बेरेर खुब रोएका थिए । ती बुढी आमाले उसलाई आफ्नो हातमा लगाई राखेको पुरानो चुरा उसको हातमा लगार्इ दिएर भनिन् – “यो मलाई मेरो आमाले दिएकी थिन अब मलाई यसको जरुरत छैन । यो तिमी आफ्नो हातमा लगाउनु यसलाई मेरो आशिर्वाद सम्झिनु ।” उसले आफ्नो आँसु रोक्नै सकिन ….
सायद उसको गाउँ आउनुको उदेश्य पूरा भएको थियो कि !
ऊ आफ्नो बालपन बाँच्न गाउँ आएकी थिइ तर उसले कहाँ सोचेकी थिइ उसलाई जिन्दगीको त्यो पलले पुन नयाँ जिन्दगी दिनेछ भनेर ! किनकि ऊ जिन्दगीबाट जिन्दगी उपहार पाएर फर्किदै थिई ……
उसले पर पुगेर फर्केर हेरि बुढी आमा ऊ गएको बाटो हेरेर उसलाई बिदाईका हातहरू हल्लाई रहेकी थिइन ….
थापा साहित्यका विभिन्न विधामा कलम चलाउने युवा सर्जक हुन् ।