दैलेखका तीनवटा स्थानबाट सडक खुल्दै
२० असार, दैलेख । कर्णालीका पाँच जिल्ला जोड्न दैलेख सदरमुकामका तीनवटा स्थानबाट सडक सञ्चालन हुने भएको छ । अहिले सञ्चालनमा आएको कर्णाली राजमार्गको स्तरोन्नति गर्नुपर्ने देखिएको छ । सुर्खेतको माथिल्लो डुगेश्वर, दुल्लु–भैरवी हुँदै कालिकोट र जुम्ला जोड्ने सडकमा पनि प्रदेश र केन्द्र सरकारले रकम विनियोजन गरेर धमाधम काम सुरु भइरहेको छ ।
दैलेख सदरमुकाम महाबु हुँदै कालिकोट–जुम्ला जोड्ने अर्को सडकको पनि यस वर्षबाट काम सुरु हुने भएको छ । तीनवटै सडक सञ्चालनमा आए दैलेखको आर्थिक अवस्था सुधारसँगै पर्यटन प्रवद्र्धनमा निकै ठूलो टेवा पुग्ने दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शान्ति शर्माले जानकारी दिएका छन् ।
जिल्लाका ठूला विकासे योजनाहरू तीव्र गतिमा निर्माण सम्पन्न हुनुपर्ने भन्दै सबै जिम्मेवार निकायहरूले कामको प्रभावकारिता, गुणस्तरीयताका बारेमा खबरदारी गर्न सांसद रवीन्द्र शर्माले आग्रह गरेका छन् । जबसम्म ठूला विकासे पूर्वाधार जिल्लामा बन्दैनन्, तबसम्म रोजगारी सिर्जना हुँदैन ।
जिल्लाका आमनागरिकको आर्थिक अवस्था सुधारका लागि ठूला विकास जरुरी भएकाले जिल्लाको पूर्व–पश्चिमका सबै जनताको जीवनस्तर सुधार गर्ने मध्यपहाडी सडक, कर्णालीका जिल्ला छुने दुईवटा महत्वपूर्ण सडकहरू महाबु हुँदै कालिकोट–जुम्ला र भैरवी–बेहुली हुँदै कालिकोट–जुम्ला जाने सडक, दैलेखको पेट्रोल उत्खनन र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाहरू निर्माणका लागि जनप्रतिनिधि, राजबहादुर बुढा, पार्वती बिसुन्केले प्रभावकारी भूमिका खेलेको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताए ।