माधव नेपालले प्रधानमन्त्रीसँग भेट्न रुचि देखाउनु भएन : विष्णु पौडेल
२० असार, काठमाडौं । एमाले उपमहासचिव तथा उपप्रधानमन्त्री विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् । राष्ट्रिय सभाको बैठकबाट बाहिरिने क्रममा उनले संघीय संसद् भवन नयाँ बानेश्वरमा नेपालसँगको भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुचि नदेखाएको बताएका हुन् ।
आइतबार बिहान उपमहासचिव पौडेलले प्रधानमन्त्रीसँग भेटेर समस्याको समाधान खोज्न आग्रह गर्दा नेपालले रुचि नदेखाएको बताए । ‘माधव कमरेडकोमा गएका थियौँ, म सुवासजी र शंकरजी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले के आग्रह ग¥यौँ भने, पार्टीलाई एकताबद्ध गरेर लिएर जाऊँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरू छैनन् । तपाईंहरू एक–आपसमा बस्नुहोस् नेताहरू पनि । हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौँ । समाधान खोजेर अगाडि जाऊँ । पार्टी अध्यक्ष र तपाईंको बीचमा मिटिङ होस्, हामी त्यो चाहन्छौँ भनेर प्रस्ताव राख्यौँ । उहाँले प्रधानमन्त्रीसँग भेट्न अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुचि राख्नुभएन । ठीकै छ छलफल गर्दै जाऊँ भनेर हामी उठ्यौँ’ उनले भने ।