२० जेष्ठ २०८०, शनिबार

फुकोट कर्णाली जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा मूल्य कायम, चार प्रकारको दररेट




२० असार, सुर्खेत । कालिकोटको फुकोट कर्णाली अर्ध जलासययुक्त जलविद्युत आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा मूल्य निर्धारण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला दररेट समितिले चार प्रकारको दररेट कायम गरी मुआब्जा दिने निर्णय गरेको हो । आयोजनाले अधिग्रहण गर्ने बाँझो जग्गाको प्रतिबर्ग मिटर ६ सय, धान उत्पादन हुने खेतको मूल्य रास्कोट नगरपालिका क्षेत्रमा प्रति वर्ग मिटर १ हजार ३ सय कायम गरिएको छ । त्यस्तै पचालझरना गाउँपालिका( १ को सिकु क्षेत्रमा धानबाली हुने खेतलाई प्रति वर्गमिटर १ एक हजार १ सय रुपैयाँ कायम गरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

त्यस्तै, कर्णाली करिडोरसँग जोडिएको जग्गाको मुआब्जा प्रति वर्गमिटर १ हजार ८ सयका दरले मुआब्जा दिने निर्णय गरिएको आचार्यले जानकारी दिए ।

नेपाल विद्युत् उत्पादन कम्पनीले निर्माण गर्न लागेको फुकोट कर्णाली आयोजनाको ९२।३ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । आयोजनामा ४९ प्रतिशत स्थानीयको सेयर छ भने ५१ प्रतिशत नेपाल विद्युत् कम्पनीले व्यहोर्ने छ ।

निर्माण कार्य सुरु भएको पाँच वर्षमा आयोजना सक्ने लक्ष्य राखिएको आयोजनाका प्रमुख हिराचन वाइवाले बताए । ‘आयोजनाको अध्यायनको प्राराम्भिक सबै काम सकिएको छ,’ उनले भने, ‘पीपीए र पीडीए दुबै प्रक्रिया पूरा भए आयोजनाले काम पाँच वर्षमा नै पूरा गर्ने लक्ष्य राखिएको छ ।’

४ सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजनाका लागि करिब १५ सय रोपनी जग्गा अधिग्रहण हुने आयोजना प्रमुख वाइबाले बताए । ‘यो जलाशययुक्त आयोजना हो,’ उनले भने, ‘डुबान पर्ने जग्गा अधिग्रहणको प्रक्रियासमेत सुरु गरिएको छ ।’ यसै आर्थिक वर्षमा जग्गा अधिग्रहणको काम पूरा हुने उनले जानकारी दिए ।

आयोजनाले सान्नी त्रिवेणी गाउँपालिका( ३ को सिस्नेमा ड्याम निर्माण गरेर सुरुङ मार्गमार्फत सान्नी त्रिवेणी गाउँपालिका( १ लुसामा विद्युत्‌गृह निर्माण गर्ने आयोजना प्रमुख वाइवाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको