माधव नेपाललाई फकाउने ओली पक्षको प्रयास जारी, नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिने
१९ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको प्रयास विफल भएको छ । सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नलिए एकताको सम्भावना सकिने अध्यक्ष ओलीको चेतावनीपछि दोस्रो तहका नेताहरू नेपाल र ओलीलाई सहमति गराउन सक्रिय भएका छन् ।
नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका नेताहरूले अध्यक्ष ओलीसँग संवाद अघि बढाएर एकताको बिन्दु पहिल्याउन आग्रह गरेको सहभागी नेता सुवास नेम्वाङले जानकारी दिए ।
नेता नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिने अडान राखेका छन् । यो अडानका कारणले सहमतिको प्रयास बिथोलिएको हो ।
एमालेले देउवाको पक्षमा गरेको हस्ताक्षर सोमबारसम्म फिर्ता लिन निर्देशन दिएको छ ।
नेपालसँग भेट गरेका नेता नेम्वाङले ‘हामीले पार्टी एकताको अरू कुनै विकल्प छैन । त्यसैले तपाईंहरूले भेटेर कुरा गर्नुस् भनेका छौँ । तर, उहाँले आफू निकटका नेताहरूसँग छलफल गरेर जवाफ फर्काउछु भन्नुभएको छ ।’
पार्टी एकताको लागि नेता नेपाल पनि सकारात्मक भएको पाइएको उनको भनाइ छ । नेपाल निवास कोटेश्वरमा नेम्वाङसहित उपप्रधानमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए । संस्थापन पक्षसँगको भेटका लागि नेता नेपाल समूहका घनश्याम भुसालले मध्यस्थताको भूमिका निर्वाह गरेका थिए ।
नेता नेपालले हिजो देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरूसँग छलफल गरेका थिए । सर्वोच्च अदालतमा विचाराधीन विषयमा संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरूले दिएको हस्ताक्षर फिर्ता नलिन एकमत भएका थिए ।