दैलेखमा कोरोना प्रभावित घरधुरीलाई रोजगारी
२० असार, दैलेख । दैलेखमा कोभिड– १९ बाट प्रत्यक्ष प्रभावित घरधुरीका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिइएको छ । दुल्लु नगरपालिका, ठाटीकाध र भैरवी गाउँपालिकामा बसोबास गर्ने सर्वसाधारणलाई आफ्नै गाउँमा रोजगारी प्रदान गरिएको हो ।
दुल्लु– १३ का ७० घरधुरी, भैरवी गाउँपालिका– ५ का ७० र ठाटीकाध गाउँपालिका– २ का ११४ गरी कूल २५४ घरधुरीका सदस्यले आफ्नै गाउँमा रोजगारी पाएका हुन् ।
यूएसआईडीको आर्थिक सहयोग र सेवक नामक गैरसरकारी संस्थाको समन्वयमा कामका लागि नगद कार्यक्रम लागू गरी उनीहरूलाई आफ्नै गाउँमै रोजगारी प्रदान गरिएको हो । उनीहरुलाई गाउँकै योजनामा काम दिएर रोजगारीमा लगाइने र काम गरेबापत नगद प्रदान गरिने सेवक संस्थाका अनुगमन मूल्याङकन अधिकृत तेजबहादुर नेपालीले जानकारी दिए ।
उनका अनुसार ठाटीकाध– २ मा ४० लाख बराबरको खानेपानी योजना, दुल्लु–१३ मा आठ लाखको ग्रामीण सडक सुधार र भैरवी– ५ मा सात लाख १५ हजार लागतको सिँचाइ कुलो निर्माण योजनामा काम दिएर रोजगारीमा लगाइएको हो ।
गाउँमै रोजगारी पाएपछि कोरोनाबाट समस्या परेका विपन्न परिवार निकै खुशी भएका छन् । कुनै काम नपाउँदा मजदुरीका लागि भारत जाने तयारी गरेको भए पनि गाउँमै रोजगारी पाएपछि अब भारत नजाने स्थानीय हरि नेपालीले बताए ।
उनले भने, काम नपाउँदा घर खर्च जोहो गर्न मजदुरी गर्न भारत जाने हो, गाउँमै रोजगारी पनि पाउने खानेपानी, सिँचाइ र सडक पनि बन्ने र त्यो बनाएबापत पैसा नि पाइने भएपछि केका लागि भारत जाने रु, यस्तै घर खर्चको जोहो हुने कार्यक्रम आए कोही भारत र विदेश जानु नपर्ने हुन्छ । (रासस)