बानेश्वरमा विद्यार्थी र प्रहरीबिच झडप, ४ जना घाइते
१९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमनविरूद्ध आन्दोलनमा उत्रिएका विद्यार्थी नेताहरू र प्रहरीबिच झडप भएको छ । आज अपरान्ह बानेश्वरमा भएको झडपमा अनेरास्वीयुकी महासचिव आरती लामा र अनेरास्ववियु क्रान्तिकारी उपाध्यक्ष पञ्चा सिंहसहित ४ जना विद्यार्थी नेताहरू घाइते भएका छन् ।
झडपमा परी अनेरास्ववीयु केन्द्रीय सदस्य मनिषा कार्की र सोनुलाल यादव घाइते भएको सुचना प्राप्त भएको छ ।
प्रहरी दमनको विरोध गर्दै अनेरास्ववीयुका उपाध्यक्ष हिरेन्द्र शाहीले फेसबुकमा लेखेका छन्, ‘प्रतिगमन भाग–२ का विरुद्ध सयुक्त विद्यार्थी आन्दोलनको मसाल जूलूस विरोध कार्यक्रममा प्रहरी हस्तक्षेप गरि लाठीचार्ज गरि अनेरास्ववियुका महासचिव आरती लामा, अनेरास्ववियु क्रान्तिकारी का उपाध्यक्ष पन्चा सिंह, अनेरास्ववियु का नेताहरु मनिषा कार्की, सोनुलाल यादव घाइते भएकाले प्रहरी दमनको घोर विरोध गर्दै घाइते को शिघ्र स्वास्थ लाभको कामना व्यक्त गर्दछु ।’
दोस्रो पटक संसद विघटन र ओलीको प्रतिगमनविरुद्ध अनेरास्वीयु, अखिल क्रान्तिकारी, नविसंघसहितका ५ विद्यार्थी संगठनहरू निरन्तर आन्दोलनरत छन् ।
