पहिरो
पहिरो खसेपछि मनहरूमा
असारे आकाश बर्सिएजस्तै
बर्सिदा रहेछन् आँखाहरू
सधैँ सधैँ खसिरहन्छ पहिरो
पहिरोले
कहिले मस्त निदाएका जोडी ढुकुरलाई पुर्छ
कहिले निन्याउरा झुपडीहरूलाई बगाउँछ
बगर बनाउछ क्षणभरमै
सपनाका बारीहरू
भत्काउछ सुखको ज्यूलो
र निभाउछ
खुसीको जुनकिरी उज्यालो
पहाडबाट उडेका मालचरीहरूले
कामना गरेका थिए
विकृतिका चाङमाथि खसोस् पहिरो
विभेद र बञ्चितिकरणलाई पुरोस् पहिरोले
निर्दोष वुद्ध आत्माहरूले
पुकार गरेका थिए
अपराधीहरूको छातीमा खसोस् पहिरो
घीनलाग्दो राजनीतिको सिनोलाई पुरेको
हेर्नुछ भन्दै थियो गर्भिणी घाम
आफ्नो बारीको साँध मिच्ने
दुष्ट छिमेकीको घर आँगन
सोत्तर पारोस् भन्दै थिए वृद्ध गौथलीहरू
अहँ, कसैको पुकार सुनेन पहिरोले
साह्रै निर्दयी हुँदोरहेछ पहिरो
पोहोर परारझैँ यसपाली पनि
सोत्तर पार्यो कलिला मुनाहरू
घाइते बनायो दुःखारी न्याउली चरी
वितण्डा मच्चायो
निमुखा बस्तीहरूमा
कति खुसी हुँदो हो मन
पहिरोले बगाइ दिएको भए
देश दुःखेको बेला पनि
निरन्तर चलिरहने कुर्सीको खेल
कवि रिजाल लोक साहित्य सर्जक तथा नेपाल सरकारको उप–सचिव हुन् ।