धादिङमा पहिरोमा परी पाँचवटा गाडी पुरिए, २ जनाको मृत्यु
१९ असार, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जवाङ खोलामा पहिरोमा ५ वटा सवारी साधन पुरिएका छन् । उक्त पहिरोमा परी २ जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।
पहिरोमा परी चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो । प्रजा ट्रकमा मृत फेला परेका हुन् भने सोनीको उपचारका क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोमा परी बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएका छन् ।
पहिरो गएको स्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको जानकारी प्राप्त भएको छ । स्थानीय सरकार र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।