५ आश्विन २०७८, मंगलवार

पहिरोमा परी गोरखा र धादिङमा चार जनाको मृत्यु, ठाउँ-ठाउँमा थुनियो सडक




१९ असार, काठमाडौं । पहिरोमा परी गोरखा र धादिङमा चार जनाको मृत्यु, ठाउँ–ठाउँमा थुनियो सडकहेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्डको भीमफेदी–८, महादेवटारमा गएको पहिरोले बगाएको सडक ।

पहिरोमा परी गोरखा र धादिङमा गरी चार जनाको मृत्यु भएको छ । गोरखामा दुई र धादिङमा दुई जनाको मृत्यु भएको हो । पहिरोका कारण ठाउँ(ठाउँमा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन बीच बाटैमा अलपत्र परेका छन् ।

गोरखाको सिरानचोक गाउँपालिका-७ मा गएको पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको हो । पहिरोमा परी ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै धादिङमा पहिरोले ट्रक पुरेको छ भने दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका( १० मा खसेको पहिराले चारवटा सवारी साधनमा क्षति पुगेको छ ।

पहिराले क्षति पुर्‍याएको चारमध्ये ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कन्टेनरको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

अन्य दुई वटा सवारी साधनको नम्बर खुलेको छैन । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चेपाङको शव ट्रकमा चेपिएको अवस्थामा छ भने सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताए । तीन जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

राजमार्गमा पुरिएका सवारी साधन पहिरो रोकिएपछि खोजी गर्न सकिने प्रहरीको भनाइ छ । सडक अवरुद्ध हुदाँ मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ ।

त्यस्तै नारायणगढदेखि काठमाडौँसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका सहित गजुरी गाउँपालिका लगायतका सडक पहिराले अवरुद्ध भएको छ । त्यस्तै धादिङ सदरमुकाम जोड्ने कालुपाण्डे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिकाका परेवाटारमा पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

नारायणगढ–मुग्लिन सडकमा पहिरै पहिरो

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहीबार र शुक्रबार केही समय सडक खुलाउन सकिए पनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो ।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ ।

शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको २ घण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उनले जानकारी दिए । त्यस पछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो ।

यसै गरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

हेटौँडा-काठमाडौं जोड्ने चार वटै सडक अवरुद्ध

त्यस्तै गरी हेटौँडा-काठमाडौं जोड्ने चार वटै सडक अवरुद्ध भएका छन् । ठाउँ(ठाउँमा पहिरो गएका छन् । सबै सडक अवरुद्ध हुँदा हेटौँडा-काठमाडौंको सडक सम्पर्क विच्छेद भएको छ ।

विगतका वर्षमा अन्य मार्गहरू अवरुद्ध हुँदा पनि सञ्चालनमा आइरहने त्रिभुवन राजपथमा साना ठुला गरी दर्जन भन्दा बढी स्थानमा पहिरो गएको छ ।

त्रिभुवन राजपथसहित छोटो मार्ग हेटौँडा–कुलेखानी–काठमाडौं, कान्तिलोकपथ, हेटौँडा–मुग्लिन–काठमाडौं सडक पनि अवरुद्ध छन् ।

काठमाडौं प्रवेश गर्ने चारवटै मार्ग अवरुद्ध भएपछि हेटौंडामा पूर्वदेखि आएका सवारीसाधन अलपत्र परेका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्व क्षेत्रका सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने तरखरमा थिए । तर, शुक्रबार रातिदेखि परेको वर्षाले त्रिभुवन राजपथको दर्जन स्थानमा पहिरो गएपछि काठमाडौं हिँडेका सवारी सडकमै अलपत्र भएर बसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

हेटौंडा–भैँसे सडकखण्डमा भिमफेदी गाउँपालिका( १ बाघझोरामा निरन्तर बाढी, भैँसे–भीमफेदी–फाखेल र सिस्नेरी खण्डमा भीमफेदी–२ पान्द्राङ, भीमफेदीकै ६ नम्बर वडाको गढी क्षेत्र, देराली, इन्द्रसरोबर गाउँपालिकाको महालक्ष्मी खोला, इन्द्रसरोबरकै २ नम्बर वडाको कुलेखानीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

कान्ति लोकपथअन्तर्गत भिमफेदी( ८ कोगटेमा पहिरोले सडकको कालोपत्रे नै बगाएको छ । कान्तिलोकपथकै ललितपुरस्थित भट्टेडाँडामा पनि पहिरो गएको छ ।

हेटौँडा–काठमाडौं जोड्ने पुरानो मार्ग त्रिभुवन राजपथ (भैँसे–पालुङ–नौबिसे) सडकखण्डको भिमफेदी–९ अघोर, थाहा नगरपालिकाको ६ नम्बर वडाको खानीगाउँ, थाहाकै गैरीगाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पानी परिरहेकै कारण तत्काल पहिरो हटाएर सडक खलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

राससको सहगोगमा


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको