२१ मंसिर २०७८, मंगलवार

‘थुइक्क मेरो ४० वर्षे सेवा’ भन्दै आफैंलाई गाली गर्दै अवकास भए प्रेमप्रसाद सञ्जेल



१९ असार, विराटनगर । ४० वर्षे निजामती सेवा अवधी पूरा गरेर अवकास पाएका उपसचिव प्रेमप्रसाद सञ्जेलले सामाजिक सञ्जाल ‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म ।’ लेखेर आक्रोश व्यक्त गर्दै आफैलाई गाली गरेर ५८ वर्ष उमेरहदका कारणले असार १५ गते अवकास पाएका छन् ।
निजामती कर्मचारीको क्षेत्र सुधारको प्रयत्न गर्दा नसकेपछि आफैंलाई गाली गर्दै विदा भएका सञ्जेल विदा भएका छन् ।

सरकारी संस्था तथा राज्य संयन्त्र सेवा सुबिधा छिटो चाहिन्छ भन्दै राज्यलाई खुला चुनौती दिएका सञ्जेल सेवा अवधीको उतरार्धमा निकै चर्चामा रहे । श्रम कार्यालय विराटनगरमा हाजिर भएलगतै सरुवा भएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सबै सरकारी उच्च पदस्थ तथा नेताहरुलाई लल्कारेर चुनौती दिए । राजनीतिक पहुँचका आधारमा हाजिर भएको तीन महिनामै सरुवामा परेपछि सर्वोच्च अदालतबाट मुद्दा जितेर काममा फर्किए ।

राज्य संयन्त्र र नेतृत्वको खुलेर विरोध गर्दा भ्रष्टाचार विरोधी अभियन्ताको पहिचान बनाएका सञ्जेल निडर र हक्की स्वभावका थिए ।

अवकासपछिको जीवनमा के गर्ने भन्ने उनले सोच बनाइसकेका छैनन् । उनी भन्छन्, ‘म जापानको भिजिटिङ प्रोफेसर पनि हो, उता जान पनि सक्छु ।’

२०३९ साल फागुन ३ गते खरिदार हुँदै निजामती सेवा प्रवेश गरेका सन्जेल २०४६ साल असार २७ गते नायब सुब्बनमा बढुवा भए ।

२०५४ साल कात्तिक १२ गते शाखा अधिकृत भएका सञ्जेल २०६६ साल कात्तिक २९ गते उपसचिवमा बढुवा भए । त्यसपछि भने सहसचिवको बढुवा प्रकृयामा सहभागी भएनन् । उनी भन्छन्, ‘बढुवा प्रकृया बहिस्कार गर्ने नेपालकै पहिलो उपसचिव मै हुँ जस्तो लाग्छ ।’

कर्मचारीतन्त्र भित्र देखिएको भ्रष्टीकरणका कारण सहसचिवको बढुवा प्रकृयामा सहभागी नभएको उनको तर्क छ ।

४० वर्ष ४ महिना ६ निजामती सेवामा बिताएका सञ्जेलको बुझाइमा कर्मचारी तन्त्रमा देखिएको भ्रष्टीकरणले देश बिग्रिएको छ । ‘हामीले हाम्रो देशमा गफ भन्दा बाहेक केही पनि गरेनौं, त्यसमा म पनि परें,’ उनले भने, ‘मैले आफ्नो तर्फबाट भिडें, तर केही पनि गर्न सकिनँ, हामीले गफ गर्न जान्यौं काम गर्न जानेनौं ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको