निर्वाचनका लागि अर्थ मन्त्रालयले गर्यो ७ अर्ब ७२ करोडको निकासा
१८ असार, काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभाको निर्वाचनका लागि भन्दै ७ अर्ब ७२ करोड रुपैयाँ निकासा गर्ने भएको छ । आज एक समारोहका बीच मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी अनुमती प्रदान गरेको हो ।
प्रतिनिधि सभाको निर्वाचन २०७८ को सञ्चालन, व्यवस्थापन, निर्वाचन सामग्रीलगायत विविध सामाग्रीहरू खरिदका लागि उक्त रकम निकास गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले आगामी २०७८ साल कार्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ । यद्यपी दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गर्दै गर्ने भनिएको निर्वाचन सम्बन्धी यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन नै छ ।
अर्थ मन्त्रालयले सरकारद्वारा घोषित निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव नहोस् भनी पर्याप्त रकमको व्यवस्था गरेको जनाएको छ ।